×

झापामा धानको उत्पादकत्व बढ्यो

images

झापा  । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । 

यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आव २०७७/७८ र आव २०७८/७९ मा वर्षे धानको उत्पादकत्व ४.८५ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । आव २०७७/७८ मा ८५ हजार ७ सय ५० हेक्टरमा धानखेती गरिएको थियो । 

गत वर्ष जिल्लामा ८७ हजार ५ सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार ६ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए ।

त्यस्तै, जिल्लामा आव २०७८/७९ मा १९ हजार ८ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व ५.२ मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।

सोमबार १२ मंसिर २०७९ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया