तुलसीपुर बसपार्कको पहिलो चरणको निर्माण पूरा, छिट्टै सञ्चालनमा आउने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार,०९:०९:AM  
तुलसीपुर बसपार्कको पहिलो चरणको निर्माण पूरा, छिट्टै सञ्चालनमा आउने 

तुलसीपुर । करीब १० वर्षको अथक प्रयासपछि तुलसीपुर उपमहानगरपालिकास्थित नयाँ बसपार्क निर्माण कार्य पूरा भएको छ ।

तुलसीपुर–५ स्थित नयाँ बसपार्क निर्माणका लागि विसं २०६६ मा गुरुयोजना निर्माण गरिएको थियो । सो गुरुयोजनाअनुरुप आधुनिक बसपार्कको पहिलो चरणको काम सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ । 

१० करोड ५० लाख रूपैयाँकाे लागतमा पहिलो चरणको निर्माणको काम सम्पन्न भएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए । 

उपमहानगरपालिकाले आधुनिक बसपार्क निर्माणका लागि  ३४ करोड रूपैयाँको गुरुयोजना तयार पारेको थियो । 

गुरुयोजनाअनुसार पहिलो चरणमा साढे १० करोड रूपैयाँकाे लगानीबाट बसपार्कमा टिकट घर, व्यावसायिक प्रयोजनका लागि सटर, शौचालय, बसपार्क कालोपत्र, पार्किङस्थल, विद्युतलगायत काम सम्पन्न भएका छन् ।

बिडीए नेपाल कन्सल्टेन्सीले तयार पारेको डिजाइन स्टिमेटसहितको गुरुयोजनामा बसपार्कमा पहिलोपटक अत्याधुनिक टर्मिनल भवन  अर्थात् टिकट काउन्टर, सपिङ स्टल, सार्वजनिक शौचालय, सडक, ढल निकासका लागि नाला, विद्युत् र गाडी पार्किङस्थललगायत संरचना तयार भएको इञ्जिनीयर योगीले बताए । 

त्यस्तै निर्माणको जिम्मा पाएको शिवशक्ति कन्स्ट्रक्सनले पनि बसपार्क निर्माणको पहिलो चरणका काम सबै पूरा भएको बताएको छ । निर्माण व्यवसायी गेहेन्द्र गिरीले पहिलो चरणका सबै निर्माणको काम सम्पन्न गरेको जानकारी दिए ।

अब केही महिनाभित्रै बसपार्क सञ्चालनमा आउने तयारी गरिएको छ । बसपार्क सञ्चालनका लागि बोलपत्रसमेत भइसकेको छ । बोलपत्र प्रक्रियाअनुसार अबको केही महीनामा बसपार्क सञ्चालनमा आउने इञ्जिनीयर योगीले बताए । 

विभिन्न सात प्रस्तावना बोलपत्रमा गरिएको छ । बसपार्कमा पेट्रोलपम्पसमेत निर्माण हुनेछ । त्यस्तै टिकट घर, व्यावसायिक सटर, सार्वजनिक शौचालय, पार्किङ व्यवस्थापन, प्रवेश शुल्क र विज्ञापनलगायतको प्रस्तावनासहित बोलपत्र सार्वजनिक भएको छ । 

तुलसीपुरमा लामो समयपछि आधुनिक बसपार्क निर्माणसँगै स्थानीयवासी खुशी भएका छन् । उपमहानगरपालिकाले यसलाई गौरवको योजना पनि भन्दै आएको छ ।

नगर विकास कोषको लगानीमा बसपार्क निर्माणसँगै सबैलाई सहज हुनेछ । तुलसीपुरको नयाँ बसपार्कमा हाल व्यस्थित बसपार्क नहुँदा निकै समस्या परेको छ । 

बसपार्क वर्षायाममा हाल हिलाम्मे हुने गरको छ भने हिउँदमा धुलो उड्ने समस्या थियो । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top