नेपालको क्रिकेटमा फेरि उत्सव छाएको छ। नेपालले लगातार दोस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकपको टिकट पक्का गरेको छ। बुधबार ओमानको मस्कटमा जारी एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले खेल्नुअगाडि नै विश्वकप यात्राको सुनिश्चितता पाएको हो।
दिनको खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमानले विश्वकपमा स्थान सुरक्षित गरेका हुन्। यी नतिजाले सुपर सिक्स चरणकै खेल अघि नेपाललाई विश्वकप यात्रामा अघि बढाएको हो।
नेपालले सन् २०१४ मा पहिलोपटक बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेलेको थियो। दशकपछि, सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा पुनः उपस्थित हुँदै नेपालले विश्वमञ्चमा पुनरागमन गरेको थियो। अब नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्नेछ, जसले नेपाल क्रिकेटको स्थायित्व र निरन्तरताको प्रमाण दिएको छ।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुने १०औं संस्करणको ट्वान्टी–२० विश्वकपमा २० राष्ट्र सहभागी हुनेछन्। आयोजक राष्ट्रका रूपमा भारत र श्रीलंका स्वचालित रूपमा छनोट भइसकेका छन्। नेपाल र ओमान क्रमशः १८औं र १९औं राष्ट्रका रूपमा छनोट भएका हुन्।
गत संस्करणबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, र वेस्ट इन्डिजले आफ्नो स्थान बनाइसकेका छन्। वरीयताबाट आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, र क्षेत्रीय छनोटबाट क्यानडा, नेदरल्यान्ड्स, इटाली, जिम्बावे, र नामिबिया पनि सहभागी हुनेछन्।
नेपालले शुक्रबार सामोआसँग सुपर सिक्सको अन्तिम खेल खेल्नेछ। अन्तिम दुई खेलमा ओमान र सामोआलाई पराजित गर्न सके नेपाल यस छनोटको उपाधि समेत जित्नेछ।