काठमाडौं। विभिन्न सरकारी कार्यालयमा गएर “जेनजी” नाममा धम्की दिँदै हिँड्ने अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो।
उनका अनुसार, शाहीविरुद्ध बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका आपराधिक मुद्दा दर्ता भएका थिए। तीमध्ये केहीमा उनी फरार थिए।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीले केही दिनअघि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय समाचार समिति (नेवानी० मा समेत ज्ञापनपत्रसहित राजीनामा माग्दै प्रवेश गरेका थिए।
शाही पहिल्यै पनि विवादमा आएका थिए। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको शपथ ग्रहण समारोहका क्रममा उनी सुधन राणासँगै ‘जेनजी’ समूहका सहसंयोजकका रूपमा शीतल निवाससम्म पुगेका थिए।
राजनीतिमा समेत हात हालेका उनले इलाम–२ बाट डोजर चिन्हमा उपनिर्वाचनमा उम्मेदवारी दिएका थिए, तर जम्मा ५५ मत मात्रै प्राप्त गरेका थिए।
प्रहरीका अनुसार, शाहीमाथि थप अनुसन्धान भइरहेको छ।