सरकारको प्राथमिकतामा लुम्बिनी र गौतमबुद्ध विमानस्थल : योगेश भट्टराई

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार,०२:२३:PM  
सरकारको प्राथमिकतामा लुम्बिनी र गौतमबुद्ध विमानस्थल : योगेश भट्टराई

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।    
    
आगामी डिसेम्बरभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महिनामा ती सबै काम पूरा हुन्छन् । ”कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए । उनले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाउने बताए ।    
    
विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताए । “निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्र रुपमा अगाडि बढेको छ”, उनले भने । धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए ।

नियुक्त भएपछि पहिलोपटक रुपन्देही आएका मन्त्री भट्टराईले उक्त विमानस्थल निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए ।    रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');