बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत शहरी विकास योजना लागू गर्ने भएको छ । नगरपालिकाले एकीकृत विकास योजना तयार गरी आज सार्वजनिक गरेको उक्त योजनाले आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गरेको छ ।
एकीकृत शहरी विकास योजना प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले संयुक्त रुपमा सार्वजनिक गरे ।
योजना सार्वजनिक गर्दै मन्त्री चौधरीले प्रदेशका १०९ वटै पालिकालाई योजनाबद्ध विकासका लागि प्रदेश सरकारले आह्वान गरिएको बताए । यस्तै पर्यटनमन्त्री गिरीले योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेकाले सडक निर्माण गर्न नगरवासीको साथ अपरिहार्य रहेको बताए । प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले योजनाबद्ध विकासले मात्रै लक्ष्य हासिल गर्न सकिने बताए ।
प्रदेशसभा सदस्य दधिराम न्यौपानेले एकीकृत शहरी विकास योजनाले विकासको मार्गदर्शन तय गरकाले यसको कार्यान्वयन गरी अघि बढ्नुपर्ने बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मुलुककै नमूना नगर बनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढेको भन्दै एकीकृत शहरी विकास योजना प्रभावकारी ढङ्गले कार्यान्वयन गरिने बताए ।
नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले १५ वर्षे दीर्घकालीन योजनाले बोकेका लक्ष्य पूरा भए मात्र नगरले समृद्धि हासिल गर्ने बताए । योजनाबारे जानकारी दिँदै कन्सल्टेन्सीका सदस्य चिरञ्जीवी पौडेलले एकीकृत शहरी विकास योजना तर्जुमा गर्दा आगामी १५ वर्षको लक्ष्य तय गरिएको बताए ।
सो अवसरमा आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ सम्मका लागि योजना, लक्ष्य, रणनीति, आवश्यक बजेट र कार्यान्वयनको ढाँचा प्रस्तुत गरिएको थियो । उक्त योजनाले आगामी पाँच वर्षमा नगरको आर्थिक वृद्धिदर १०.३ प्रतिशत र १५ वर्षमा साढे १० प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ ।
यस्तै हाल एक हजार ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा पाँच वर्षमा एक हजार ५९५ तथा १५ वर्षमा १० हजार डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । हाल १८.७ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरीबीको रेखामुनि रहेकामा पाँच वर्षमा १० प्रतिशत र १५ वर्षमा शून्यमा झार्ने रणनीति तय गरिएको छ ।
हाल ९० प्रतिशत रहेको साक्षरता प्रतिशत पाँच वर्षमा ९५ प्रतिशत र १५ वर्षमा शत्प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने ३.११ प्रतिशत उच्च शिक्षामा पहुँच रहेको अवस्था आगामी पाँच वर्षमा ६.१ तथा १५ वर्षमा १२ प्रतिशत पुर्याइने उल्लेख छ ।
शहरी विकास योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेको छ । आगामी १५ वर्षका लागि सडक निर्माणतर्फ १६ अर्ब एक करोड ६० लाख रूपैयाँ खर्च हुने योजनाले अनुमान गरेको छ । झण्डै ९९ किलोमिटर सडक थप हुनेछ ।
तिलोत्तमा चक्रपथ, मेगासिटी, तिनाउ करिडोर र रोहिणी करिडोरसहितको चक्रपथ निर्माण गर्ने लक्ष्य छ । योजनाअनुसार प्रादेशिक बसपार्क, औद्योगिक ग्राम, राष्ट्रिय रङ्गशाला, फोहर व्यवस्थापन केन्द्र, अटो भिलेजलगायत विषय प्राथमिकतामा परेका छन् । रासस