बैतडी । सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् । बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज अवस्थीले जानकारी दिए ।
खोलामा पुल नहुँदा खोलाको वारिपारि पुग्ने गरी काठ तेर्स्याएर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । दैनिक सयभन्दा बढी मानिस वारपार गर्ने उक्त खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्ने अवस्था छ ।
बालबालिकाले विद्यालयसमेत सोही खोला तरेर जानुपर्ने हुँदा बालबालिकालाई झनै समस्या हुने गरेको छ । यसका साथै दैनिक उपभोग्य सामग्री किन्न बजार जानका लागि तथा वनजङ्गल, घाँसदाउराका लागि पनि सोही खोलाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
न्यौलाली, टोपेड, ओखडगाउ, कपडाइजर, खेतकोट लगायतका ठाउँका बासिन्दा उक्त खोलामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । न्यौलालीगाड खोलामा झोलुङ्गे पुल निर्माणका लागि स्थानीय सरकारसँग माग गरेको भए पनि कुनै चासो नदिएको त्यस क्षेत्रका बासिन्दाको आरोप रहेको छ ।
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उक्त ठाउँमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय डडेल्धुरालाई सिफारिस गरी पठाइएको बताए । गाउँपालिकाका अन्य ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेकाले यो वर्ष उक्त ठाउँमा पुल निर्माण गर्न नसकिएको भए पनि अगामी वर्ष पुल निर्माण हुने उनकाे भनाइ छ । रासस