बुटवल । नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमको अध्ययन गर्न म्यान्माको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ ।
म्यान्माको नीति निर्माण तहको विशेषज्ञसहितको अध्ययन टोलीले नेपाल सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रमको बारेमा बुटवल उपमहानगरपालिकामा जानकारी लिएको हो ।
टोलीले बुटवल उपमहानगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन प्रक्रियाबारे अध्ययन गरेको छ । नेपालमा २५ वर्षअघि शुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित भएर अहिले म्यान्माले समेत लागू गर्ने तयारी गरेको छ ।
सोही कार्यक्रमका बारेमा जानकारी लिन त्यहाँका सामाजिक विकास मन्त्रीको नेतृत्वमा विज्ञहरुसहितको टोली यहाँ आएको हो । म्यान्माको चाइन प्रदेशका सामाजिक मन्त्री पाउलुन मिन थानसहित १२ जना सहभागी टोलीले बुटवल उपमहानगरपालिकाको अध्ययन अवलोकन गरेको हो ।
बुटवल उपमहानगरपालिकाले नेपालमै नमूना तरिकाले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको भन्दै शुरुमै बुटवल आएको टोलीका संयोजक म्यान्माका मन्त्री थानले बताए । आफूहरुले पनि यो कार्यक्रम म्यान्मामा लागू गर्न चाहेकाले नेपालबाट सिक्न आएका हौँ, उनले भने ।
सो टोलीलाई उपमहानगरपालिकाका कार्यबाहक प्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवलको पञ्जीकरणको अवस्था र सामाजिक सुरक्षा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
टोलीले नेपालको सामाजिक सुरक्षा कार्यक्रम र पञ्जीकरणको अध्ययनपछि म्यान्माको सामाजिक सुरक्षा कार्यक्रमको नीति तयार पार्ने बताएको छ ।
बुटवल उपमहानगरपालिकाले सेवाग्राहीलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा रकम, वितरण प्रणाली र सेवाग्राहीको सन्तुष्टि र पञ्जीकरणबारेमा टोलीले विशेष चासो दिएर अध्ययन गरेको कार्यबाहक प्रमुख आचार्यले बताए ।
टोलीले वडास्तरबाट भइरहेका कामको बारेमा पनि विशेष चासो दिएको थियो । सोही क्रममा बुटवलको ५ नं वडा कार्यालयमा पुगेर त्यहाँको सेवा प्रवाहका बारेमा विशेष जानकारी लिएको वडाध्यक्ष तेजप्रसाद विकले बताए ।
कम्प्युटर सफ्टवेयरदेखि सेवाग्राहीका सन्तुष्टि र सुरक्षा व्यवस्थाका उपायका बारेमा जानकारी लिएको उनकाे भनाइ छ । बुटवलमा आठ हजार ५०० जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।