सिञ्जा । पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।
लासीदेखि बजारसम्म पहिले रु १०० मा यात्रु ओसार्ने सवारीले हिजोआज २०० रूपैयाँ भाडा लिने गरेको स्थानीयवासी उषा बुढाले बताइन् । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रुहरु आवतजावत गर्न बाध्य भएको उनकाे भनाइ छ ।
“एक त बाटो अप्ठ्यारो छ”, उनले भनिन्, “त्यसैमाथि गाडीको क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन हुने गरेको छ ।”
उथ्र्रुस्थित प्रहरी चौकी नजिक आएपछि यात्रु झार्ने गरिन्छ । कोटाभिड नजिक पुगेपछि पुनः ती यात्रुहरु राखेर बजार ल्याउने गरिएको छ । यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उनले आक्रोश व्यक्त गरिन् ।
लासीबाट बजारसम्म र बजारदेखि लासीसम्म जाने साना सवारी साधनले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन गरिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनको निगरानी नगर्दा सवारी सञ्चालकहरुले मनपरी भाडा असुल्ने गरेका हुन् ।
यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताका गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी भाडा लिने गरेका छन् । सवारी चालक र सवारीधनीले पातारासी रुटमा मनपरी भाडा असुले पनि ट्राफिक प्रहरीले कुनै कारवाही नगर्दा यात्रुहरुले दुःख पाउन बाध्य भएका हुन्।
लासीदेखि बजार, बजारदेखि लासी र उथ्र्रुसम्म चल्ने सवारी साधनहरुमा बढी पैसा असुल्नेदेखि सिट सङ्ख्याभन्दा सातौँ गुणा बढी यात्रु ओसार्ने गरेको स्थानीयवासी शिवा बुढाले बताए ।
प्रहरीको सक्रियाता नहुँदा सवारीधनीहरु खुलेआम यात्रुसँग ठग्ने गरेका गुनासो आइरहेको छ । ट्राफिक प्रहरीले बजारमा बसेर जरिवाना काट्ने गरे पनि दिनहुँ सवारी धनीले निर्वाध मान्छे कोच्ने र बढी रकम असुल्ने गरेका छन् ।
ट्राफिक प्रहरीको उपस्थिति नभएका कारणले आफूखुशी चालक र सवारी धनीले भाडा असुल्ने गरेको उनकाे भनाइ छ । टिकट काउन्टरको व्यवस्था नभएका कारण बीच बाटोमै यात्रुबाट रकम लिने गरिएको यात्रुकाे गुनासाे छ । रासस