काठमाडौं। नेपालीको दोस्रो ठूलो पर्व तिहार अन्तिम दिन भाइटीकामा दिदीबहिनी र दाजुभाइबीच टीका, माला र पूजाका साथै कोसेली दिने विशिष्ट परम्परा छ। यो कोसेली केवल लेनदेन नभई दाजुभाइ–दिदीबहिनीको प्रेम, पोषण र पारस्परिक सम्मानको भावनात्मक अभिव्यक्ति हो।
तिहारमा दाजुभाइलाई दिने कोसेली परम्परा विशेषगरी भाइटीकाको दिनसँग जोडिएको छ। यो दिदीबहिनी र दाजुभाइबीचको आत्मीय प्रेम र सम्बन्धलाई प्रगाढ बनाउने पर्व हो। परम्परागत रूपमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायु र सफलताको कामना गरेपछि विभिन्न किसिमका भाइमसला र मिठाईका परिकार खुवाउने चलन छ।
तिहारमा दिने उपहार भनेपछि विशेषगरी खानेकुरालाई नै बुझिन्छ। नेपाली समुदायमा ठाउँअनुसार फरक–फरक परिकार बनाउने परम्परा र सीप छ। त्यति हुँदाहुँदै नेपालका हरेक क्षेत्रमा प्रचलित एउटै परिकार हो, सेल। त्यस्तै अनरसा, फिनीरोटी र सातपत्रेजस्ता केही परिकार धेरै ठाउँमा बन्ने गर्छन्। साथै लड्डु, पेँडा, लालमोहन पनि उपहारमा दिने गरिन्छ। त्यसबाहेक ठाउँअनुसार आ–आफ्नै तरिकारले तिहारका लागि मिठाई तथा खानेकुरा बनाउने चलन छ।
तिहारमा भाइटीकाले जति महत्त्व राख्छ, त्यति नै महत्त्व उपहारले पनि राख्ने गरेको छ। तिहारमा दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई उपहार दिने प्रचलन परापूर्वकालदेखि नै चल्दै आएको हो। उपहारले दाजुभाइ तथा दिदीबहिनीको सम्बन्ध थप प्रगाढ बनाउने गर्छ। समयसँगै उपहार दिने चलनमा पनि परिवर्तन आएको छ। दाजुभाइलाई दिदीबहिनीलाई उनीहरूको रुचि र आवश्यकताअनुसार उपहार दिने गरिन्छ।
तिहारमा कोसेली यही नै दिनुपर्छ भन्ने शास्त्रीय विधि केही पनि नभएको संस्कृतिविद् गुरुप्रसाद सुवेदी बताउँछन्।
‘कोसेली यही नै दिनुपर्छ भन्ने शास्त्रीय विधि केही पनि छैन। यसमा आफ्नो स्थानीय रूपमा जे उपलब्ध हुन्छ, त्यही नै हो,’ संस्कृतविद् सुवेदी भन्छन्, ‘नेपालमा आफ्नो मौलिक परिकारको रुपमा सेलरोटीलाई लिने गाउँघरमा चलन छ। बजार क्षेत्रमा अरू मिष्ठान्न बन्ने चलन पहिलेदेखि थियो।’ घरेलु उत्पादनकै सामग्रीहरू सेलरोटी, अनरसा, फिनीरोटीलगायतका कुनै पनि उपहारहरू दिन सकिन्छ। यही नै उपहार दिनुपर्छ भन्ने शास्त्रीय विधि केही नभएको सुवेदीको भनाइ छ।
संस्कृतविद्का अनुसार उपहार आदानप्रदानमा आर्थिक प्रदर्शनभन्दा भावनात्मक गहिराइ र दाजुभाइको दीर्घायुको कामनालाई दर्शाउँछ। पौराणिक परम्पराअनुसार भाइटीकामा कोसेलीका रुपमा दिदीबहिनीले दाजुभाइलाई मेवा–मिष्ठान्न, मसला र विभिन्न मीठा परिकार दिने परम्परा छ।
यीमध्ये सेलरोटीलाई भाइटीकाको अपरिहार्य परिकार मानिन्छ। सेलरोटीबिना पर्व अधुरो हुने विश्वास गरिन्छ। सेलरोटी र अन्य परिकारहरूले दाजुभाइको जीवनमा मिठास र पोषण भर्ने कामनालाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्दछन्।
संस्कृतविद सुवेदीका अनुसार हाम्रो संस्कृतिले धनी अनि सम्पन्न, समृद्ध घरलाई र विपन्न आर्थिक दृष्टिले कमजोर परिस्थिति भएको दुवैलाई उत्तिकै सम्मान र महत्त्व दिन्छ। अहिले उपहार आदानप्रदानको सन्दर्भमा पनि शास्त्रले नमानेको, परम्पराले नमानेको र स्वास्थ्यले पनि स्वीकार नगरेको भनेको बजारबाट ल्याएको प्याकेट हो, जहाँ डालडा घिउ, केमिकलवाला गुलियो जो खास हुँदैन। त्यस्ता खालका मिठाई उपहार दिनु उपयुक्त होइन।
‘आफ्नो घरमा जे उत्पादन हुन्छ। त्यसलाई घरेलु तरिकाले, आफ्नो हातबाट, आफैंले मेहनत गरेर त्यही नै खानेकुरा, मिठाईका परिकार नै उपहार दिनुपर्दछ। कृत्रिम उपहारले त्यो आत्मीयता बन्दैन भन्ने कुरा छ।’
चन्दन घोट्दै गर्दा, दुबो पिस्दै गर्दा, फूलमाला गाँस्दै गर्दा अनि खानेकुरा तयार गर्दै गर्दा, जो दाजुबहिनीबीचको प्रेम, स्नेह, आत्मीयतालाई उत्सुकताका साथमा पस्किएर हामीले तयार गछौं। त्यसभित्र भावनाको सम्बन्ध हुन्छ।
त्यसकारण आफ्नै हातले बनाएका चीज दिँदा जुन आत्मीयता र आफ्नोपन हुन्छ। त्यो आत्मीयतालाई संवद्र्धन गर्नु यो संस्कृतिको यो तिहारको मर्म भएको सुवेदी बताउँछन्।
पौराणिक कथाअनुसार मृत्युका राजा यमराजलाई उनकी बहिनी यमुनाले भाइटीकाको दिन टीका लगाएर पूजा गरी उपहार दिएको र यमराजले पनि यमुनालाई उपहार दिएको धार्मिक कथा प्रचलित छ। यसै परम्पराबाट भाइटीका मनाउने चलन चलेको मानिन्छ। दिदीबहिनीले दाजुभाइलाई पूजा र मिष्ठान्न भोजन खुवाएपछि दाजुभाइले पनि स्नेहपूर्वक दिदीबहिनीलाई उपहार दिने चलन छ। पछिल्लो समय एकअर्कालाई उपहार दिने चलन बढेको र केही परिवर्तन पनि भएको छ।
उपहार आदानप्रदानमा बदलिँदो प्रचलन
परम्परादेखि नै तिहारमा उपहार दिने लिने चलन चल्दै आएको छ। तर, पछिल्लो समय भाइटीका मनाउने प्रचलनमा सामाजिक, आर्थिक परिवर्तन भएका छन्। आजकल टीकाको धार्मिक अनुष्ठानभन्दा नगद दक्षिणा र महँगा उपहारलाई प्राथमिकता दिने चलन विकसित हुँदै गएको छ।
पछिल्ला वर्षमा उपहारमा ठूलो रकम खर्चने जमात पनि बढ्दै गइरहेको छ। पहिला–पहिला तिहारमा कपडा, सेल रोटि, फिनी रोटी, मिठाईजस्ता सामान्य उपहार दिने प्रचलन रहेको भए पनि समयको परिवर्तनसँगै अहिले उपहारमा पनि व्यापकता आएको छ। अहिले बजारमा चलेको फेसनको कपडा, ज्वेलरी, ल्यापटप, मोबाइल, मोटरसाइकल, स्कुटर, कारजस्ता महंगा उपहार दिने प्रचलन बढेको छ। उच्च खानदान र व्यवसायीक घरानामा यस्ता महँगा उपहारको आदान–प्रदान हुने गर्छ।
यो सबै आफ्नो गच्छेअनुसार र आफ्नोपन दर्साउने उद्देश्यले दिइन्छ। तिहारमा उपहारको माध्यमबाट दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध र स्नेह अझ प्रगाढ हुन्छ। दिदीबहिनी र भाइदाइ मिलन अनि फूलको पर्वसमेत मानिने तिहार सहरबजारदेखि ग्रामीण क्षेत्रका कुनाकन्दरासम्मका बस्तीमा रमाइलो गरी मनाउने चलन छ।
तिहारमा देउसीभैलो खेल्ने, तास, राम्रा कपडा अनि मिठा परिकार खाएर मनाउने चलन छ। तिहारमा दाजुभाइलाई दिदीबहिनीले टीका लगाइदिएर आशीर्वचन दिने र दीघार्यु जीवनको कामनासमेत गर्ने गर्छन्।
भाइटीकामा के दिने उपहार? यी हुन सक्छन् विकल्प
तिहारका लागि नेपालीले आफ्नो आर्थिक अवस्था र बजेट अनुसार हाल उपहार खरिद गरिरहेका छन्। बजारमा तिहारको रौनकता देखिएको छ। तिहारका लागि के उपहार दिने भन्ने द्विविधालाई हुन्छ।
मोबाइलः पछिल्लो समय मोबाइल उपयुक्त उपहार बन्दै गएको छ। अहिले नेपालमा विभिन्न ब्रान्डेड नन–ब्राण्डेड मोबाइलहरु छ्याप–छ्याप्ती पाइन्छन्। आफ्नो औकातअनुसार मोबाइल किनेर उपहार दिन सकिन्छ। त्यसो त चाडपर्वमा मोबाइल खरिद गर्दा छुटसमेत पाइन्छ। बजारमा हजारदखि लाखौं रुपैयाँसम्मका मोबाइल पाइन्छन्।
लुगाकपडाः भाइटीका गर्दा दिइने सर्वाधिक चलनचल्तीको उपहार भनेको कपडा हो। कपडा पहिले पनि उपहारको रुपमा दिने गरिन्थ्यो अहिले भने केही परिवर्तन भएर दिदीबहिनीलाई सारी, कुर्ता, स्वीटर, ज्याकेट, टप्स, टिसर्ट प्यान्ट, स्यान्डललगायत पनि मन पर्ने उपहार दिने गर्छन। यस्तै, दाजुभाइलाई पनि सर्ट, प्यान्ट, दौरा, सुरुवाल, जुत्ता आदि दिने गर्छन्।
गरगरहनाः केही बढी मूल्य परेपनि राम्रै उपहार दिन मन छ भने सु चाँदीको गरगहना पनि दिन सकिन्छ। बजारमा नयाँ–नयाँ मोडलका गहना पाइन्छ। यसैगरी सुन तथा चाँदीको सिक्का पनि तिहारमा उपहार दिन सकिन्छ।
ब्यागः ब्याग हरेक दिनका लागि आवश्यक रहने सामाग्रीमा पर्छ। विशेषगरी महिलामा ह्यान्ड ब्यागको चाहना बेग्लै हुन्छ। त्यसैले, दिदी बहिनीदेखि दाजुभाइका लागि रोजाइ र क्षमताअनुसारको ब्याग पनि भाइटीकाका लागि राम्रो उपहार हुन सक्छ।
ग्याजेट्सः पछिल्लो समय बच्चा बच्चाको हातमा मोबाइल, ट्याप, ल्यापटप देख्न सकिन्छ। मोबाइल त हरकोहीका लागि अपरिहार्य नै बनिसकेको छ। त्यसैले, ग्याजेट्स पनि भाइटीकाका लागि अनुकूल उपहार मानिन्छ। आफ्ना दाजुभाइ वा दिदी बहिनीलाई मोबाइल, इयरपड, ट्याप, ल्यापटप वा अन्य कुनै इलेकट्रोनिक सामग्री पनि दिन सकिन्छ।
घडीः दाजुभाइ तथा दिदीबहिनीका लागि भाइटीकामा दिने उपहारमा घडी पनि पर्छ। खासगरी, दाजुभाइलाई दिदीबहिनीले भाइटीका लगाउनासाथ घडी लगाइदिने गरेका छन्। बजारमा ठिकै खालका घडीदेखि विभिन्न ब्रान्ड र डिजाइनका घडी उपलब्ध छन्।
वालेटः दाइभाइका लागि सजिलो र राम्रो उपहारमा वालेट अथवा पर्स पनि पर्दछ। यो आकर्षक मात्र नभएर आवश्यक पनि भएकाले दिन सकिन्छ।