आफ्नै गोरेटो, आफ्नै गति

मनीष खेम्का, जो आफ्नै आइडियाले व्यवसायमा अघि बढ्दै छन्

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २७, शुक्रबार,०३:२६:PM  
आफ्नै गोरेटो, आफ्नै गति

मानिसका आफ्नै सपना हुन्छन्, ती कति पूरा हुन्छन्, कति अधुरा । जीवनमा आफैंले बनाएको गोरेटोमा चल्न पनि सहज छैन । कतिपय बाधा आइपर्छन्, कति ठाउँमा सङ्घर्षले सताइरहन्छ । मनीष खेम्काको जीवनको लयमा पनि केही त्यस्ता उतारचढाव आए । चौधरी गु्रपमा आबद्ध खेम्का विगतमा सफलता पाउन विभिन्न समस्यासँग जुध्दै अगाडि बढिरहेका बिजनेस पर्सनालिटी हुन् । बीएलसीअन्तर्गतका व्यवसायलाई रफ्तारमा लैजान आइडिया जेनेरेट गर्नेमध्ये पनि एक हुन् । 


नेपालको ठूलो व्यापारिक घराना हो, चौधरी गु्रप । यसअन्तर्गत पनि विभिन्न अन्य गु्रप छन् । त्यसमध्ये एक हो, वसन्त चौधरीले नेतृत्व गरेको बीएलसी । यही गु्रपको निर्देशकमा छन्, खेम्का । 


स्वास्थ्य, शिक्षा, एफएमसीजी, पूर्वाधार, कृषिलगायतमा बीएलसीको लगानी छ । यी सबै क्षेत्र आआफ्नै तरिकाबाट चलिरहेका हुन्छन्, जसलाई मनिटरिङ गर्न चौधरी गु्रपको बोर्ड छ । 


बीएलसीको स्वास्थ्यअन्तर्गत नर्भिक हस्पिटल, एफएमसीजीअन्तर्गत पशुपति बिस्कुट, बेबी फुड, डेरी, खुकुरी रम, शिक्षाअन्तर्गत नर्सिङ कलेज, कृषिअन्तर्गत बीउ उत्पादन गर्ने उद्योग छन् । पूर्वाधारअन्तर्गत ग्याबिन भर्न प्रयोग हुने जाली कम्पनी छ ।


यी सबै क्षेत्रलाई हेर्ने, आवश्यक नीति बनाउने र निर्देशन दिने वसन्त चौधरीको अध्यक्षतामा एउटा बोर्ड छ । त्यही बोर्डको सदस्यमा रहेर खेम्काले आफ्नो योगदान दिइरहेका छन् । खेम्का बीएलसीमा आबद्ध भएको १५ वर्ष भयो । त्यसअघि उनी त्रिवेणी ग्रुपमा र त्यसभन्दा अघि पनि शालिमार ग्रुपमा आबद्ध थिए । 


३८ वर्षीय खेम्काले १४ वर्षकै उमेरदेखि नै काममा लगाव लगाएका थिए । ‘म सानै उमेरदेखि नै काममा आबद्ध भएँ । त्यसैले काम भनेपछि मैले नयाँ केही गर्नुपर्छ भन्ने अठोट लिन्छु,’ खेम्काले भने, ‘सानैदेखि पढाइ र कामलाई साथसाथै लिएर अगाडि बढियो, कामकै अनुभव २५ वर्षको भइसकेछ ।’ 


खेम्काको पारिवारिक व्यवसाय थियो, परिवारमा सबै सदस्यले व्यवसाय गर्थे । खेम्काका बुबाले स्टिलको व्यवसायको नेतृत्व गरिरहेका थिए । तर त्यो व्यवसाय सफल हुन सकेन । व्यवसाय असफल भएपछि खेम्काका बुबा साह्रै चिन्तित भए । 


‘व्यवसाय राम्रै गइरहेको थियो । तर उतारचढाव आउँदा व्यवसाय अगाडि बढ्न सकेन । त्यसले गर्दा बुबा डिप्रेसनकै स्थितिमा समेत पुग्नुभयो,’ उनले भने, ‘हाम्रो एकपछि अर्काे व्यवसाय असफल हुँदै गयो ।’ 

बीएलसीको व्यवस्थापनमा रहेर काम गरिरहेका खेम्का व्यवसायमा पनि बिस्तारै अगाडि बढिरहेका छन् । बीएलसीसँगकै साझेदारीमा उनले पूर्वाधारसम्बन्धी कम्पनीमा लगानीसमेत गरेका छन् ।


बुबाको व्यवसाय असफल भएपछि खेम्काले अठोट लिए, अब आफैं केही गर्छु । ‘चिन्तित बुबाको अनुहारमा फेरि खुसी फर्काउनका लागि केही गर्नुपर्ने ममा प्रेसर नै थियो,’ उनले भने, ‘मलाई लाग्यो, अब मैले बुबालाई सपोर्ट गर्नुपर्छ । त्यही योजनामा अघि बढें, बुबाको केही सहयोग नलिई आफंै अगाडि बढ्नुपर्छ भनेर नै निरन्तर अगाडि लागिरहें ।’ 


एसएलसीसम्मको पढाइ नेपालमा गरेका खेम्काले त्यसमाथिको अध्ययन भारतमा गरे । भारतमा बीकम सकेर वीरगन्जमै फर्किएर उनले बीबीएस सके । एस म्यानेजमेन्ट कलेजबाट एमबीए गरे । र त्यसपछि अमेरिकास्थित हार्बर्ड बिजनेस स्कुलबाट एक्जुकेटिभ म्यानेजमेन्टको कोर्स पूरा गरे । 


‘हाम्रो परिवार आर्थिक रुपमा सम्पन्न हो,  समयक्रमसँग त्यो सधैं टिकिरहन सकेन, मैले परिवारमा आर्थिक रुपमा एकदमै नाजुक अवस्था पनि अनुभव पनि गरें,’ उनले विगत सम्झिए, ‘म रातभर स्टिल फ्याक्ट्रीमा काम गरेर बिहान ४ बजे त्यहाँबाट हिँडेर जितपुर आउँथे र त्यहाँबाट टेम्पो चढेर सीधै कलेज जान्थें । कलेज सकेर घर आउने खाना खाएर सुत्ने र राति फेरि ड्युटी जान्थें । जति दुःख गरेर पनि मैले पढाइ छाडिन“ ।’


नेपालमा अहिले बढी लिगेसी व्यवसायको पकड छ । ‘यहाँ अवश्य पनि लिगेसी व्यवसाय अगाडि बढेको छ । तर नयाँनयाँ बिजनेस पनि अगाडि आइरहेको देखिन्छ,’ उनले भने ।  


नेपालमा नयाँनयाँ व्यवसायका लागि अवसर पनि उत्तिकै रहेको खेम्का बताउँछन् । टुटल, पठाओ, फुडमान्डुलगायत आइटी क्षेत्रमा नयाँ पुस्ताको प्रवेश भएकाले नेपालमा लिगेसी व्यवसाय मात्र फस्टाउँछन् भन्न नमिल्ने खेम्काको तर्क छ । 


बीएलसीको व्यवस्थापनमा रहेर काम गरिरहेका खेम्का व्यवसायमा पनि बिस्तारै अगाडि बढिरहेका छन् । बीएलसीसँगकै साझेदारीमा उनले पूर्वाधारसम्बन्धी कम्पनीमा लगानीसमेत गरेका छन् । त्यसबाहेक अरु केहि व्यवसायमा पनि उनको लगानी रहेको छ ।


अहिले उनी बीएलसीअन्तगर्तका व्यवसायलाई फराकिलो पार्न लागिपरेका छन् । ‘हामीले अहिले भइरहेका व्यवसायलाई विस्तार गर्ने काम गरिरहेका छौं,’ उनले भने । अहिले नर्भिक अस्पतालको एक्स्पान्सन चलिरहेको उनले बताए । 


‘हामी नयाँ व्यवसायका लागि दिनरात सोचिरहेका छौं, नयाँ सम्भावनाको खोजी भइरहेको छ । हस्पिटालिटीतिर पनि हामीले सोचिरहेका छौं । सिमेन्ट तथा स्टिल उद्योगतिर पनि सोच बनिरहेको छ । अन्य सम्भावना केके छन्, त्यतातिर पनि अध्ययन चलिरहेको छ,’ उनले भने । 


नर्भिक नेपालको स्वास्थ्य सेवामा एक नम्बर बनाइराख्न अस्पताल टिमको ठूलो योगदान रहेको खेम्का बताउँछन् । ‘हामी सधैंभरि गुणस्तर सेवा दिएर एक नम्बरमै रहन चाहन्छौं,’ उनले भने । 


नेपालमा अझै नयाँनयाँ इक्विपमेन्टसहितका अस्पतालको आवश्यकता छ । अहिले जति छन्, त्यसले पुगेको छैन । ‘तर काठमाडौंमा होइन, काठमाडौंबाहिर जानुप¥यो । सुविधासम्पन्न अस्पताल अझै पनि आउनुपर्छ,’ उनी भन्छन्, ‘अस्पताल क्षेत्र पनि नयाँनयाँ सुविधासम्पन्न अस्पताल आउनु भनेको हामी सुधारिएर अघि बढ्न मौका मिल्नु हो । सेवाग्राहीले राम्रो सेवा पाउनु हो ।’ 


नर्भिकसँग डाक्टरहरुको राम्रो टिम छ । २६ वर्ष इतिहास बोकेको अस्पताल हो, नर्भिक । ‘जुन तहको विशेषज्ञ हामीसँग छ, त्यो अन्यसँग छैन । किनभने हाम्रो इतिहास नै २६ वर्षको छ । इक्विपमेन्टले उपचार गर्ने होइन, इक्विपमेन्टको प्रयोग गरेर डाक्टरले उपचार गर्ने हो । इक्विपमेन्ट प्रयोग गरेर उपचार गर्ने जुन क्षमता नर्भिकसँग छ, अरुसँग छैन । त्यसैले नर्भिक इज बेस्ट,’ उनी भन्छन्, ‘हामी एकदमै सेन्ट्रल लोकेसनमा छौं । त्यो फाइदा अरुसँग छैन ।’ 


व्यवसाय विस्तारमा साना तथा मध्यम व्यवसाय पनि विस्तार हुनुपर्ने खेम्का बताउँछन् । नेपालमा साना तथा मध्यम व्यवसायका लागि बैङ्कले लगानी नगर्दा व्यवसाय तथा उद्योग तीव्र रुपमा नफैलिएको उनको धारणा छ । 


‘नेपालमा नयाँका लागि पनि पर्याप्त अवसर छन् भने घरानाका लागि पनि अवसरै अवसर छन् । तर नयाँँका लागि भन्दा घरानाका लागि धेरै एडभान्टेज छ,’ उनले भने, ‘बैङ्कमा ऋण लिन जानुभयो भने नयाँको तुलनामा घरानाले तत्काल ऋण पाउने सम्भावना हुन्छ । घरानालाई बैङ्कले पत्याउँछ, नयाँ आइडिया लिएर जानेलाई बैङ्कले हतपत पत्याउँदैन ।’ 

 

बुबाको व्यवसाय असफल भएपछि खेम्काले अठोट लिए, अब आफैं केही गर्छु । चिन्तित बुबाको अनुहारमा फेरि खुसी फर्काउन उनमा केही गर्नुपर्छ भन्ने प्रेसर पनि त थियो । 

नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती भनेकै यही हो जस्तो लाग्छ, खेम्कालाई । ‘घरेलु तथा साना उद्योगलाई त्यति सपोर्ट गरिरहेको छैन, चीन तथा जर्मनीमा ठूलो सङ्ख्यामा साना तथा घरेलु उद्योग फस्टाएका छन्, कारण त्यहाँ सपोर्ट छ, हाम्रो देशमा त्यस्तो सपोर्ट छैन,’ उनले भने । 


राजनीति नेतृत्वको भिजन कस्तो छ, योजना छ कि छैन ? योजना कार्यान्वयन गर्ने इच्छाशक्ति छ कि छैन ? ‘अहिलको सरकारले गर्न खोजेको छ । भिजन पनि छ । योजना पनि छ । इच्छाशक्ति पनि छ,’ उनले भने, ‘तर कार्यान्वयन तहमा एकदमै कमजोर छ ।’ 


मन्त्री र कर्मचारीबीच कामबारे समन्वय भएको छैन । ‘सरकारले गर्न खोजेको कुरालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ताकत मात्रै देखाए पनि देशमा परिवर्तन आउँछ,’ उनले भने, ‘परिवर्तन आउनेबित्तिकै देशबाट बाहिरिने कसैको मन हुँदैन ।’ 


मुलुकको विकासको चिन्ता सबैभन्दा बढी युवाले लिनुपर्ने बताउँछन् खेम्का । हामीकहाँ विकास चाहिएको छ, त्यो पनि आफ्नै पालामा । त्यसैले खबरदारी पनि युवाबाट नै हुनुपर्ने उनको भनाइ छ । 


‘हामीलाई दु्रत गतिमा विकास गर्नु छ । नत्र हामी धेरै पछि पर्छौं । अहिले नै हामी एक सय वर्षपछि परिसकेका छौं । अब पछि दौडिएनौं भने ‘रेस’मै हुँदैनौं, आउट हुन्छौं,’ उनले भने ।  

निर्देशक, बीएलसी, चौधरी ग्रुप   

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');