चाडपर्वमा हुने कालोबजारी रोक्न नारी जागरण पोखराले गरायो प्रदेश सरकारलाई ध्यानाकर्षण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ९, बिहीबार,०२:०८:PM  
चाडपर्वमा हुने कालोबजारी रोक्न नारी जागरण पोखराले गरायो प्रदेश सरकारलाई ध्यानाकर्षण

पोखरा ।  दसैं तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ । पर्वहरुलाई विकृतिरहित बनाउन र मौलिक पर्वका रुपमा मनाउने वातावरण सृजना गर्न नारी जागरणले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको ध्यानाकर्षण गराएको हो । 

अभियानकी संयोजक अञ्जु केसीले चाडपर्वका नाममा हुने कालोबजारी, सार्वजनिक यातायातमा दोब्बर भाडादर, गुणस्तरहीन उपभोग्य वस्तुहरु, चोरी डकैती, हत्या हिंसालगायतका सामाजिक विकृति नियन्त्रणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्ष गराएको बताइन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री चुमानले नागरिक स्तरबाट सरकारलाई ध्यानाकर्षण गराएकोमा नारी जागरण अभियानलाई धन्यवाद दिए । पत्र बुझ्दै मन्त्री चुमानले पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउन योजना बनाएर कार्यान्वयन गर्ने बताए । उनले सचेत नागरिकबाट सभ्य समाज निर्माण हुने भन्दै सरकारसँगै नागरिकले आफ्नो कर्तव्य पालना गर्न सके सामाजिक सहिष्णुता कायम हुने बताए । 

‘एकले आफ्नो स्वतन्त्रताको उपभोग गरिरहँदा अर्कोले आफ्नो अधिकार हनन् भएको महसुस गर्ने वातावरण हुनुहुँदैन,’ मन्त्री चुमानले भने । त्यसैगरी प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले संघीय संरचनाबाट प्राप्त कानुनी अधिकार प्रयोग गरेर शान्ति सुरक्षा र कालोबजारी लगायतका विकृति विसंगति नियन्त्रणमा प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 

संविधानको धारा ४४ मा उपभोक्ता ऐन उल्लेख भएको र सो ऐनले स्थानीय पालिकाको प्रमुखबाट अनुगमन गरिने उल्लेख भएको जानकारी दिँदै स्थानीय निकायसँग समन्वय गरेर कालोबजारी रोक्न भूमिका खेल्ने बताए । उनले जुवा तास, पटका पड्काउने, देउसी भैलोको नाममा जबरजस्ती पैसा असुल्ने जस्ता स्थानीय निकायसँगको समन्वयबाट नियन्त्रण गरिने बताए । 

सामाजिक क्षेत्रमा हुने विकृति विसंगतिलाई खबरदारी गर्दै सामाजिक सद्भावका लागि क्रियाशील रहेको नारी जागरण अभियानले यसअघि भड्किलो तीजविरुद्ध पनि अभियान चलाएको थियो । सो ध्यानाकार्षण कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाबाट प्रतिनिधित्व गरेका सामाजिक अभियन्ताहरुको सहभागिता थियो । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');