असन : मुलुककै गुल्जार बजार

सहरमा एउटै छानामुनि सबै प्रकारका वस्तु उपलब्ध गराउन ठुल्ठूला डिपार्टमेन्ट स्टोर्स र सपिङ मल खुले पनि असनको चाप वर्षौंदेखि उस्तै छ ।

account_box प्रकटकुमार शिशिर/सुवास योञ्जन ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार,०७:१५:AM  
असन : मुलुककै गुल्जार बजार

एउटै छानामुनि सबै सामान पुर्याउन  मुलुकमा ठुल्ठूला डिपार्टमेन्ट स्टोर्स, सपिङ सेन्टर खुलिरहेका छन् । तर आधुनिक किनमेलका लागि खुलेका राजधानीका सबै सपिङ मलको भीड जोड्ने हो भने पनि असन बजारको ‘फुट फल’ बढी छ । 

असनको एक सय मिटरदेखि २ किलोमिटरसम्म उपभोक्तालाई सहज बनाउनका लागि आधुनिक पसल छन् । अझ सपिङ मलमा त एसीसँगै किनमेलसमेत हुन्छ । असनमै पाइने सामान पनि अचेल भाटभटेनीलगायतका थुप्रै डिपार्टमेन्ट स्टोर्समा पनि पाइन्छ । तर पनि असनको भीड सधैं उस्तै छ ।  

असनमा के पाइँदैन ? यहाँका गल्ली र चोकमा सबथोक पाइन्छ । यही सबथोकले यो ऐतिहासिक बजारमा उपभोक्ताहरु किनमेलमा तल्लीन हुन्छन् । 

मानिस जन्मिँदा आवश्यक पर्ने वैदिक सामानदेखि मृत्युपर्यन्त आवश्यक पर्ने वैदिक सामानदेखि दैनिक उपभोग गरिने नुनदेखि सुनसम्मका सामान असनले उपलब्ध गराउँछ । परम्परागतदेखि आधुनिक सामानको एउटै थलो बनेको छ, असन । 

दसैं र तिहार जस्ता ठूला चाडपर्व मात्र होइन, जनैपूर्णिमादेखि एकादशीमा समेत असनको बजार गुल्जार हुन्छ । 

असनमा पुस्तौंपुस्तासम्म व्यापार गरिरहेका व्यापारीदेखि केही वर्षयता व्यवसाय सुरु गर्नेहरु पनि उत्तिकै छन् । मसला, तामाका भाँडा, खाद्यान्न, जडिबुटीदेखि लिएर कपडासमेत पुस्तौंदेखि बिक्री गर्दै आएका व्यवसायी आफ्नो परम्परागत व्यवसायमा नै दङ्ग छन् । 

असनको गल्ली र चोकले मुलुकको विकास सुस्त गतिमा भए पनि देखिरहेको छ । आधुनिक विकासको स्वाद असनभित्र नछिरेको होइन तर असनले आफूलाई प्राचीन नै बनाइराख्न कसरत गरिरहेको छ । 

काठका ढोका र झ्याल भएका घर, कुनाकुनामा साना ठूला मन्दिर, भूकम्पपछि टेको लगाएर जोगिएका सम्पदा र सम्पत्तिले पनि असनलाई खुल्ला सङ्ग्रहालय बनाएको छ । 
असन देशको सबैभन्दा ठूलो बजार मात्र होइन, अहिले नेपाल भित्रिने पर्यटकहरुको पहिलो रोजाइको गन्तव्य पनि बनिरहेको छ । नेपाल आउने पर्यटक नेपालको प्राचीन बजारलाई नियाल्ने अवसर खेर जान दिँदैनन् । देशकै राजधानीभित्रको मुटुमा प्राचीन बजार अवलोकन गर्न पाइरहेकाले पनि पर्यटकहरुको रोजाइमा असन पर्न थालेको हो । 

असन खासमा रातभर जागा रहन्छ भन्दा पनि हुन्छ । तर बिहानै २ बजेदेखि खास चहलपहल सुरु हुन्छ । बिहान तरकारी, अखबार र डेरीका लागि असन तयार हुन्छ । रातभर घुमेका ट्याक्सी पनि बिहानै चिया पाइने भएकाले असनमै पुग्छन् । बिहान ४ बज्दा त ग्राहकहरुको चहलपहल बाक्लो भइसकेको हुन्छ । बेलुका १० बज्दा बजारको चहलपहलमा केही कमी भए पनि रातैभर पूरै चकमन्न हुने अवस्था रहँदैन ।   

असनमा दैनिक कति जना प्रवेश गर्छन् भन्ने तथ्याङ्क छैन । तर समाजसेवी लाभरत्न तुलाधरसहितको टिमले ३१ वर्षअघि २०४५ सालमा गरेको सर्वेक्षणमा भोटाहिटी क्षेत्रबाट मात्रै एकै दिन ८५ हजार मान्छे असन क्षेत्रमा प्रवेश गर्ने गरेको भेटेको थियो । ७१ वर्षीय तुलाधार अझै पनि असन चोकमै बसेर खाद्यान्नलगायतको व्यापार गरिरहेका छन् । तुलाधर भन्छन्, ‘त्यो बेला एउटा अमेकिरी संस्थासँग मिलेर १० जनाभन्दा बढी मान्छे राखेर असन प्रवेश गर्ने मान्छेहरु नै गनिएको थियो । हामीले गणना गर्दा भोटाहिटी क्षेत्रबाट मात्र असन छिर्ने ८५ हजार थिए, पछिल्लो पटकको नयाँ तथ्याङ्क त छैन । तर ३ लाखभन्दा बढी मान्छे असन प्रवेश गर्ने अनुमान छ ।’ 

उपत्यकाको बाक्लिँदो जनसङ्ख्या र देशभरबाट नै किनमेलका लागि असन केन्द्रबिन्दुमा पर्ने भएकाले अहिले पनि दैनिक ३ लाखभन्दा बढीले असन बजार प्रवेश गर्ने गरेको स्थानीयको अनुमान छ । असनका केही व्यवसायी भने दैनिक ४ लाखभन्दा बढी मानिस असन प्रवेश गर्ने गरेको दाबी गर्छन् । असन क्षेत्रमा २५ सयदेखि ३ हजारसम्म सानाठूला पसल रहेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । सबै पसलमा गरेर दैनिक १० करोड र मासिक तीन अर्बको व्यापार हुने व्यापारीहरु बताउँछन् । 

७६ वर्षीय पुष्परत्न तुलाधारले असनमा भीड हुन थालेको २५ वर्ष भएको बताए । ‘पहिलाको असनमा यस्तो भीड थिएन, २५ वर्षदेखि यस्तो देखिरहेको छु,’ उनले भने । काठमाडौंमा बाहिरका मान्छेहरुको आगमन बढी हुन थालेपछि असनमा पनि त्यसको प्रभाव परेको तुलाधारको भनाइ छ । जमल, भोटाहिटी, वटु, महाबौद्ध, कमलाक्षी, न्युरोड सबै असनको प्रभावमा छ । आसपासमा रहेका बजार असनकै कारण आफ्नो व्यापारलाई अगाडि बढाइरहेका छन् । असनको दायरा पूर्वमा रानीपोखरी, दक्षिणमा भोटाहिटीदेखि महाबौद्धसम्म, पश्चिममा न्हैकन्तादेखि बाङ्गेमुढा र उत्तरमा त्यौडसम्मको स्थानलाई जनाउने स्थानीय व्यवसायी बताउँछन् । 

असन छिर्ने ६ ओटा बाटा छन् । असन छिर्नेका लागि कमलाक्षी, भोटाहिटी, महाबौद्ध, इन्द्रचोक बाङ्गेमुढा र थँहिटीका बाटा छन् । यी ६ स्थानमा पुग्न पनि असन हुँदै जानैपर्छ । अनिवार्य ओहोरदोहोरले पनि असनमा भीड बढाएको छ । 

यसरी बन्यो असन बजार 

असन ऐतिहासिक र धार्मिक क्षेत्र हो । असनको बजारसँग धेरै कारण जोडिएर आउँछन् । यो बजार बन्नुमा पनि ऐतिहासिक कारण रहेको स्थानीय बताउँछन् । भारतको कालिम्पोङ, काठमाडौं र आसपासको क्षेत्रबाट चीन तथा तिब्बतको व्यापारमा जाने व्यापारीहरुले असनमा विश्राम गर्ने गरेको र त्यहाँबाट कमलाक्षी, जमल हुँदै साँखु र त्यहाँबाट कुती हुँदै तिब्बत जाने गरेको इतिहास छ । व्यापारीहरुले तिब्बतबाट ल्याएको नुन, मसला, मट्टीतेललगायतका सामग्री फर्कंदा असनमै बिक्री गर्ने हुनाले असनको चमक त्यो बेला पनि उस्तै थियो । तिब्बतबाट ल्याएको सामानको काठमाडौंमा पाइने पहिलो स्थान भएकाले पनि असनको महत्व बढ्दै गयो । 

अझ लिच्छवीकालमा काठमाडौं उपत्यकाको राजधानी हाँडीगाउँ विशालनगर थियो । त्यहाँ ठूलो आगलागी भएपछि राजधानीलाई वसन्तपुर सारियो । वसन्तपुरमा राजधानी सरेपछि असनको चहलपहल अझ बढेको स्थानीयो विश्वास छ । उपत्यकाकै राजधानी भएपछि वसन्तपुर र छेवैमा रहेको इन्द्रचोक हुँदै असनमा उपभोक्तालाई लक्षित उपभोग्य सामान पाइन थालेको हो । त्यो बेलादेखि नै असनमा सामान सडकमै राखेर बिक्री गरिन्थ्यो, जुन चलन अहिलेसम्म असनमा देख्न सकिन्छ । 

२०४२/२०४५ सालतिर भोटाहिटीमा सबवे सडक बनाउने क्रममा खन्दै जाँदा लिच्छवी राजा मानदेवको शिलालेख भएको ढुङ्गेधारा फेला परेको थियो । त्यही ढुङ्गेधारालाई आधार मानेर इतिहासकारहरुले भोटाहिटी र असन क्षेत्रको विकास १५ सय वर्षअघि नै भएको बताउँछन् । 

असनमा पहिला एउटा पसलमा एउटा मात्र सामान बिक्री हुने गरेको लाभरत्न तुलाधार बताउँछन् । ‘चामल पाइने ठाउँमा चामल मात्र पाइन्थ्यो । दाल पाइने ठाउँमा दाल मात्र पाइन्थ्यो,’ उनले भने, ‘तर अहिले सबैले एउटै पसलमा सबै सामान मिसाएर बिक्री गर्नुपरेको छ ।’ त्यति बेला एउटा पसलमा एउटा मात्र सामान पाइने भएकाले पनि सहरभरि के सामान कसको पसलमा पाइन्छ भन्ने थाहा हुने गरेको भन्दै उनले ग्राहकहरु सीधै आफूलाई चाहिएको सामान किन्न असन आउने गर्थे र त्यही किसिमले व्यवसाय हुने गरेको सम्झिए ।  

असनमा मल्लकालीन समयमै अहिलेको जस्तो आधुनिक डिपार्टमेन्ट स्टोर्सको अवधारणा बनिसकेको थियो । यहाँ रहेको घडी घर ५ सय वर्ष पुरानो रहेको मानिन्छ । त्यही घडी घरलाई मल्लकालमा व्यापारिक केन्द्रका रुपमा विकास गरिएको थियो । घडी घरभित्र अशोक बृह विहारसमेत छ । मल्ल राजाहरुले एकीकृत बजारको अवधारणामा असनचोक निर्माण गरी पसलहरुको विकास गरी किनमेलको थलो बनाएका थिए । चोकैमा रहेको घडी घरमा त्यो बेलादेखि नै १३ ओटा पसल छन् । 

असन क्षेत्रभित्र अन्नपूर्णा देवीको मन्दिर छ । अन्नपूर्णा देवीलाई खाद्यान्नकी देवी भनिन्छ । असनका स्थानीय र बाहिरबाट आएका व्यक्तिहरुले समेत अन्नपूर्णा देवीलाई खाद्यान्न चढाए अन्नको कहिल्यै अभाव हुँदैन भन्ने विश्वास राख्छन् । असनमा व्यापार सुरु गर्नुअघि पनि व्यापारीले अन्नपूर्णा देवीलाई अँजुलीभरि प्रसाद चढाएपछि मात्रै व्यापारका लागि सामानमा मोलमोलाइ सुरु हुने विश्वास छ । अझ असनको ढुङ्गाको माछाको आफ्नै किस्सा छ । 

असनको सामानको मूल्यले काठमाडौं, भक्तपुर र ललितपुरको सहरका प्रायः सबै बजारका सामानको मूल्य निर्धारण गथ्र्याे । असनमा सामानको मूल्य जति हुन्थ्यो, ती सहरका बजारहरुमा पनि मूल्य त्यही नै हुने गरेको स्थानीयहरु बताउँछन् ।  

अन्नपूर्णा देवीको मन्दिरका कारण पनि असनमा खाद्यान्नको व्यापार बढी हुने गरेको बताइन्छ । मन्दिरका कारण असन बजारमा व्यापार गर्न पनि सहजीकरण हुने गरेको स्थानीयको भनाइ छ । प्राचीन असन बजारमा पहिला खाद्यान्नको मात्र व्यापार हुने गरेको तुलाधार बताउँछन् । ‘३० वर्षअघि मात्र अन्नपूर्णा मन्दिरअगाडि चामल मात्र बिक्री हुन्थ्यो, भीड अहिलेको जस्तो थिएन,’ उनले भने । 

असनको बजार धार्मिक महङ्खवका कारण पनि चर्चित रहेको असन सेवा समितिका पूर्वअध्यक्ष यज्ञरत्न तुलाधारको भनाइ छ । ‘यहाँको ऐतिहासिकता भनेकै अन्नपूर्णा मन्दिरसँग जोडिएको छ, हामीलाई चाहिने अन्नपूर्णा गर्ने भएकाले मन्दिरको नाम अन्नपूर्णा मन्दिर राखिएको हो,’ उनले भने । अझ राणाहरु महिनाको एक पटक किनमेलका लागि असनमै पुग्थे भने राजाहरुले असनबाटै दरबारमा सामान मगाउने गरेको स्थानीयहरु अझै सम्झिन्छन् । 

अन्वेषक तीर्थमान महर्जनले लेखेको पुस्तक अन्नपूर्णा मन्दिर र अन्नपूर्णा देवी जात्रामा असनको इतिहास र त्यसको विश्वास केलाइएको छ । धेरै वर्षपहिले ठिमीका एक जना व्यापारीले बाँसको नोल काँधमा राखेर त्यसमा चामल हाली बोकेर ल्याउँदै गर्दा गह्रौं भएर असनमा भारी बिसाए र पछि भारी उठाउन खोज्दा भारी नहल्लिएपछि रित्तै घर फर्किएका थिए ।

परिवारले सोध्दा उनले डराएर अनसं (नेपाल भाषामा असन) मात्र भन्न सके । त्यसपछि तान्त्रिकलाई देखाउँदा भारी बिसाएको ठाउँमा देवी अन्नपूर्णा विराजमान भएको कुरा बताए । अनसंं शब्द कालान्तरमा असन रहन गएको कुरा उल्लेख छ । 



शताब्दीभन्दा बढी समयदेखि पारिवारिक व्यवसाय 

असनमा रैथाने नेवारहरुले नै व्यापार सुरु गरेका थिए । अझै पनि असनमा एक सय वर्षभन्दा बढी समय व्यवसाय गरिरहेका परिवार भेटिन्छन् । पाँचौं, छैटौं पुस्तासम्म निरन्तर व्यापारमा रहेका परिवारले असनको व्यापारलाई ताजगी दिइरहेका छन् । 

७१ वर्षीय लाभरत्न तुलाधार असन चोकैमा बसेर आफ्ना पुर्खाहरुले स्थापना गरेको व्यापारलाई अगाडि बढाइरहेका छन् । उनका छोराले पनि यही पसललाई सघाएका छन् । ‘पाँचौं पुस्तासम्म यो पसल चलिरहेको छ, परिवारको म जेठो छोरा भएकाले पनि बुबाको पसललाई मैले सम्हालें,’ इन्द्रजात्राको एक दिनअघि तुलाधारले क्यापिटललाई भने । जिजुबाजेले सुरु गरेको व्यवसायलाई निरन्तरता दिनका लागि छोराहरु पनि तयार रहेको उनले बताए । ‘विसं १९७६ देखि संस्थागत रुपमा हाम्रो पसल सुरु भएको जानकारीमा छ,’ उनले भने । 

६ पुस्तादेखि असनमै व्यापार गरिरहेको अर्काे परिवार हो, स्वयममान तुलाधारको । अन्नपूर्णादेवी मन्दिर नजिकै रहेको तुलाधारको परिवारको पसल करिब ३ सय वर्षदेखि चलिरहेको इतिहास छ । 

१ सय २ वर्षदेखि निरन्तर चलिरहेको असनकै दिनेश श्रेष्ठको मसला पसलको पनि आफ्नै इतिहास छ । १९७४ मा स्थापना भएको मसला पसलमा ४७ वर्षीय दिनेश श्रेष्ठले अहिले व्यवसाय गर्दै आएका छन् । विहारीलाल श्रेष्ठको पनि पसल छैटौं पुस्तामा आइसकेको छ । असनको पुरानो पसलमध्येको एक श्रेष्ठको पसल पनि अहिले परिवारका सदस्य मिलेर चलाइरहेका छन् ।  

खाद्यान्न र मसला व्यवसायको मात्र इतिहास छैन असनमा, करिब सय वर्षअघि नै साइकल पसल खुलेको इतिहास पनि छ । ९५ वर्षअगाडि स्थापना भएको असनको ‘पञ्चनारायण अष्टनारायण साइकल पसल’ पनि लिगेसी बोकेको व्यवसाय हो । 

अष्टनारायण मानन्धरले विसं १९८१ मा स्थापना गरेको साइकल पसल अहिले पनाति तिरेकनारायण मानन्धरले चलाइरहेका छन् । 

असनमा रहेको इतिहास बोकेको अर्काे पसल हो, तिलिङ्गा औषधालय । १८३२ सालमा स्थापना भएको यो वैद्य पसलले २ सय ४४ वर्षदेखि सेवा दिइरहेको छ । वासुकृष्ण वैद्यले सञ्चालन गर्दै आएको यो पसलबारे पदम श्रेष्ठद्वारा लिखित ‘नेपाल मण्डल सम्पदा’ र गोरक्षबहादुर न्हुछे प्रधानको पुस्तक ‘मेरा श्रद्धेय पुर्खाबारे सङ्क्षिप्त इतिहास’मा यो वैद्य पसलबारे उल्लेख गरिएको छ । 

पछिल्लो समय असनमा रैथानेहरुले पसल चलाउन बिस्तारै छाड्दै गएका छन् । असन बाहिर र काठमाडौं बाहिरबाट आएका व्यवसायीहरुले असनमा नयाँनयाँ व्यवसाय सुरु गरिसकेका छन् । असनका रैथानेहरु घरजग्गा भाडामा दिएर बाहिर बस्ने र त्यहाँ बाहिरबाट आएका मानिसले व्यवसाय गरिरहेको असन सेवा समितिका संस्थापकमध्येका एक लाभरत्न तुलाधारले बताए । ‘अहिले यहाँ ३० देखि ४० प्रतिशत मात्र रैथानेहरुले पसल चलाएका छन्, अरु सबै बाहिरका मानिसले व्यापार गरिरहेका छन्,’ उनले भने । 

७२ वर्षीय तीर्थरत्न शाक्य पनि असनका नेवारहरु असन बाहिर गएको र बाहिरका मान्छेहरु असनमा आएर व्यापार गरिरहेको बताउँछन् । ‘नेवारहरु सबै बाहिर जान थाले, यहाँको घर भाडामा दिएर रिङरोडभन्दा बाहिर बस्ने गरेका छन्, अहिले असनमा व्यापार गर्नेहरु पनि बाहिरी जिल्लाका छन्,’ उनले भने ।

असनमा रैथाने व्यवसायीले अझै पनि रैथाने सामान बिक्री गरिरहेका छन् । खैरो चामल, दाल, काजु, पेस्ता, बदाम, ज्वानो, मेथी, धनियाँदेखि मसला, सुत्केरी मसला, विभिन्न पूजाका सामान, वैद्यखाना औषधि, फलफूल, सागसब्जी, माछादेखि लिएर सुनका गरगहना, जुत्ता, कपडा र खाद्यान्नका विभिन्न परिकार साथै तामा, स्टिलका भाँडा असनमा उपलब्ध छन् ।

क्यापिटल म्यागजिनबाट

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');