काठमाडौं। वैद्यज ग्रुपअन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटले चीनको प्रसिद्ध चार्जिङ ‘बेनी’ नेपाल भित्र्याएको छ। पछिल्लो समय नेपालमा बढ्दो विद्युतीय सवारी साधानको प्रयोगलाई ध्यानमा राख्दै वैद्यज ग्रुपले चीनको शीर्ष १० भित्र पर्ने चार्जिङ बेनी भित्र्याएको युनाइटेड ट्रेडर्स सिन्डिकेटका निर्देशक सूर्यान्श वैद्यले जानकारी दिए।
‘नेपालको लागि हामी बेनीको आधिकारीक बिक्रेता भएका छौँ,’ निर्देशक वैद्यले भने, ‘पहिलो चरणमा राजमार्गका विभिन्न क्षेत्रमा १५ वटा चार्जिङ स्टेशन राख्ने छौँ।’ काठमाडौं उपत्यकाभित्र पर्याप्त मात्रामा चार्जिङ स्टेशन बनिसकेको भए पनि राजमार्गहरुमा भने चार्जिङ स्टेशन कम रहेकोले त्यसलाई ध्यानमा राखेर विस्तार गर्न लागेको उनको भनाइ छ।
पृथ्वी राजमार्ग, बिपी राजमार्गसहित विभिन्न ठूला राजमार्गमा चार्जिङ स्टेशन राख्नका लागि अहिले नेपाल विद्युत प्राधिकरणसँग आवश्यक सहयोगका लागि पत्रचार गरिसकेको जनाएको छ। प्राधिकरणले चार्जिङ स्टेशनका लागि आवश्यक ट्रान्सर्फरको व्यवस्था गरिदिनुपर्छ।
‘प्राधिकरणबाट ट्रान्सर्फरको व्यवस्थापन गरिदिने वित्तिकै द्रुत गतिमा चार्जिङ स्टेशन बनाउन हामी लागिपर्छौं,’ निर्देशक वैद्यले भने, ‘नेपालमा चार्जिङ स्टेशन क्षेत्रकै परिभाषा बदल्ने योजनामा हामी छौँ।’
राजमार्गमा पर्याप्त मात्रामा चार्जिङ स्टेशन नभएकाले धेरै विद्युतीय सवारी साधानहरु निर्धक्क रुपमा चलाउन नसकिरहेको अवस्थामा बेनीको उपस्थितिले त्यसलाई समाधान गर्ने उनको विश्वास छ। आवश्यकताको आधारमा एक साथ १५ देखि २० वटा गाडी चार्ज गर्न मिल्ने गरी चार्जिङ हव बनाउने अवधारणामा रहेको उनले बताए। एउटा चार्जिङ हवका लागि न्यूनतम एक करोड रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्छ।
चार्जिङ बिक्री गर्ने
वैद्यज ग्रुपले चार्जिङ स्टेशन बनाउने मात्र हैन बिक्रीसमेत गर्ने भएको छ। नेपालमा कुनै पनि व्यक्ति वा कम्पनीले चार्जिङ स्टेशन बनाउन चाहेमा वा चार्जिङ स्टेशन राख्न चाहेमा पनि बिक्री गर्ने तयारी रहेको जनाएको छ।

घर-घरमा चार्जिङ राख्नका लागि पनि बेनीका चार्जरहरु बिक्री गर्ने जनाएको छ। चार्जरअनुसार मूल्य फरक हुने बताउँदै केही समयभित्र मूल्य सार्वजनिक गर्ने तयारी ग्रुपको रहेको बताइएको छ।
एथरबाट हौसिएको वैद्यज ग्रुप
भारतमा निर्माण भएको एथर स्कुटरको राम्रो बिक्री वितरण भएसँगै चार्जिङमा आक्रामक लगानी विस्तार गर्न लागेको देखिन्छ। बिक्री सुरु गरेको छोटो समयमै एथरको बिक्री राम्रो भएको र चार्जिङ स्टेशनहरु पनि राम्रो बनेपछि चार्जर बिक्री तथा चार्जिङ हबमा समेत लगानी बढाएको जनाएको छ।
हाल एथरले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गरी २२ वटा चार्जिङ स्टेशन बनाइसकेको छ। उसले १०० भन्दा बढी चार्जिङ स्टेशन बनाउने योजना बनाएको छ। हाल एथर स्कुटरबाटै काठमाडौं‑पोखरा, काठमाडौं चितवन आवतजावत गर्न मिल्ने गरी चार्जिङ स्टेशन बनाइसकेको छ।
कस्तो हो बेनी?
बेनी चार्जर चीनको प्रसिद्ध चार्जर निर्माण कम्पनीमध्येको उत्कृष्ठ १० भित्र रहेको छ। विद्युतीय उद्योगमा ३० वर्षभन्दा बढी समयदेखि काम गरेको कम्पनीको अनुभव छ।
ईभी चार्जिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको बेनीका उत्पादनहरु विश्व बजारमा लोकप्रिय भइरहेको छ। हाल अष्ट्रेलिया, जर्मनी, फ्रान्स, पोल्याण्ड, बेलायत, संयुक्त राज्य अमेरिका, ब्राजिल, दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, मध्य पूर्व देशहरू, र धेरै धेरैमा असंख्य फोटोभोल्टिक, ब्याट्री भण्डारण र ईभी चार्जिङ प्रणाली परियोजनाको सफलतामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
बेनीको मुख्य कारखाना चीनमा रहेको छ। बेनीले जर्मनी, अमेरिका र ब्राजिलमा विदेशी कार्यालयहरू स्थापना गरिसकेको छ।