काठमाडाैं। पछिल्लो समय सार्वजनिक कार्यक्रममा रुद्राक्ष मालाको प्रयोग बढिरहेको छ। सम्मानस्वरुप प्रयोग गरिँदै आएको खादाको सट्टटामा रुद्राक्ष प्रचलनमा ल्याउने क्रम बाक्लिएको हो। देशभर स्वागत/सत्कार, बिदाइ, धार्मिक अनुष्ठानलगायत कार्यक्रममा करिब ५० हजार थान रुद्राक्ष माला प्रयोग हुने अनौपचारिक तथ्यांकले देखाएको छ। यसमध्ये करिब ६० प्रतिशत अर्थात ३० हजार थान माला काठमाडौं उपत्यकामा प्रयोग हुने अनुमान गरिएको छ।
सुरुमा धार्मिक प्रयोजनका लागि मालाको रूपमा प्रयोग हुने रुद्राक्षले पछिल्लो समय व्यावसायिक रुप लिन थालेको छ। उत्पादन भएका रुद्राक्ष धार्मिक प्रयोजनमा प्रयोग हुन्थ्यो। रुद्राक्ष उत्पादन हुने तर खपतको समस्या थियो। करिब एक दशकअघि चिनियाँ व्यापारीले संखुवासभा लगायतका क्षेत्रमा रुद्राक्ष खरिद गर्न थालेपछि यसको बजार विस्तार भएको हो।
चिनियाँ व्यापारीले रुद्राक्षलाई विभिन्न ओखतीजन्य उत्पादनमा प्रयोग गर्न थालेको बुझिएको छ। दानाको ५ सय रुपैयाँसम्म तिर्न थालेपछि किसानले रुद्राक्षबाट राम्रो आम्दानी लिन थालेका हुन्। साथै, नेपालमा पनि यसलाई धार्मिक क्षेत्रमा प्रयोग गरिएपछि पछिल्लो समय सार्वजनिक कार्यक्रममा सम्मानका लागि खादाभन्दा पनि रुद्राक्षको माला प्रयोग हुन थालेको छ। यसले रुद्राक्ष व्यवसाय झनै राम्रो हुने देखिएको छ।
-1752734218.jpg)
नेपालमा रुद्राक्षको वार्षिक कारोबार करिब ३ देखि साढे ३ अर्ब रुपैयाँसम्म हुने अनुमान छ। यो कारोबारमध्ये ८५ प्रतिशतभन्दा बढी निर्यात हुने व्यवसायीको दाबी छ। यसलाई आधार मान्ने हो भने २ अर्ब ५५ करोडदेखि २ अर्ब ९७ करोड बराबारको नेपाली रुद्राक्ष निर्यात हुन्छ। तर, वार्षिक ३ करोडदेखि १० करोड रुपैयाँसम्मको रुद्राक्ष निर्यात भएको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको पछिल्लो एक दशकको तथ्यांकले देखाउँछ। यो तथ्यांक किलो जाने रुद्राक्ष मात्रै रहेको व्यवसायीको दाबी छ।
नेपालमा उत्पादन हुने एउटा रुद्राक्षको मूल्य ५–७ लाखदेखि ३०–३५ लाख रुपैयाँसम्म पर्ने हुन्छ। यस्ता खालका रुद्राक्ष किसानको बारीबाटै बिक्री हुँदा सरकारी कागजका नहुने देखिन्छ। यदि यस क्षेत्रमा थप लगानी र प्रवद्र्धन गर्न सके यो कारोबार वार्षिक ५ अर्ब रुपैयाँसम्म पुर्याउन सहजै सकिन्छ। नेपालमा रुद्राक्षको महत्त्व धार्मिक र सांस्कृतिक रूपमा सदियौंदेखि रहँदै आएको छ।
रुद्राक्ष अब केवल धार्मिक आस्थाको प्रतीक मात्र रहेन। नेपालको अर्थतन्त्रमा समेत यसको भूमिका महत्त्वपूर्र्ण बन्दै गएको छ। पछिल्लो समय रुद्राक्षलाई खादाको विकल्पका रूपमा प्रवद्र्धन गर्नेदेखि लिएर यसको व्यावसायिक उत्पादन र निर्यातसमेत हुन थालेको छ। यसले लाखौं किसान र हजारौं व्यवसायीलाई रोजगारी सिर्जना गरेको नेपाल रुद्राक्ष व्यवसायी संघ अध्यक्ष मनोजकुमार चापागाईं बताउँछन्।
‘खादाको विकल्पका रूपमा रुद्राक्ष माला प्रयोग गर्ने अवधारणालाई प्रवद्र्धन गर्न रुद्राक्ष व्यवसायी विगत पाँच वर्षदेखि लागिपरेका छौं,’ उनले भने, ‘यसको मुख्य कारण खादाको क्षणिक प्रयोग र त्यसपछि हुने फोहोरमैला नै हो। एकपटक लगाएर फालिने खादाले वातावरणीय समस्या निम्त्याउनुका साथै यसको आर्थिक मूल्य पनि क्षणिक हुन्छ। रुद्राक्ष माला भने धार्मिक महत्त्व बोकेको र टिकाउ वस्तु हो।’
रुद्राक्ष मालाको मूल्य २० रुपैयाँदेखि सुरु भई सयौं रुपैयाँसम्म पर्न सक्छ, जुन खादाको तुलनामा सस्तो मानिन्छ। धार्मिक दृष्टिकोणले सबै रुद्राक्षको महत्त्व समान हुने भएकाले कम मूल्यका रुद्राक्षको माला पनि उत्तिकै फलदायी मानिन्छ। यसलाई पूजाकोठामा राखेर सम्मानपूर्वक संरक्षण गर्न सकिन्छ। यसले गर्दा यसको दीर्घकालीन महत्त्व झल्कने चापागाईंको तर्क छ।नेपालमा रुद्राक्ष खेती किसानले पुख्र्यौली पेसालाई आधुनिक प्रविधिसँगै अगाडि बढाएका छन्।
भोजपुरेली किसान वसन्ती श्रेष्ठले पुर्ख्याैली रुद्राक्ष खेतीलाई व्यावसायिक रुप दिन थालेकी छन्। वसन्तसँग हाल साढे २ सयवटासम्म रुद्राक्षका रुख छन्। श्रेष्ठका अनुसार रुद्राक्ष अन्य परम्परागत खेतीभन्दा सहज र कम झन्झटिलो छ। ‘धान खेतीमा जस्तै बर्सेनि आली कान्ला बाँध्ने, रोप्ने र छर्ने झमेला रुद्राक्षमा हुँदैन,’ उनले भनिन्, ‘एकपटक रोपेपछि रुखले सामान्यतया ३ देखि ५ वर्षमा फल दिन सुरु गर्छन्। उचित स्याहार पुगे यो समय अझ छिटो पनि हुन सक्छ।’

रुद्राक्ष खेतीको अर्को लाभ मौरीपालनमा देखिएको छ। रुद्राक्षको फूल जेठमा फुल्ने भएकाले यसबाट जैविक मह उत्पादनमा वृद्धि भएको छ। मह उत्पादन तोरी खेतीको सिजनमा मात्रै सीमित भएको उनको भनाइ छ। ‘तोरी सिजनबाहेक अन्य सिजनमा मौरीलाई महका लागि चिनी पनि दिइए पनि हाल दिइँदैन,’ उनले भनिन्।
भोजपुर, संखुवासभा र धनकुटाका किसानको मुख्य आम्दानी स्रोत रुद्राक्षले पछिल्लो समय ठूलो बजार पाएको छ। करिब १० वर्षअघिसम्म धार्मिक बजारमा मात्र सीमित रहेको रुद्राक्ष अहिले अन्तर्राष्ट्रिय स्तरमा चिनिन थालेको छ।
रुद्राक्षको बजार मूल्य यसको आकार र गुणस्तरअनुसार हुने गर्छ। सामान्य २० रुपैयाँ प्रतिकिलो पर्ने रुद्राक्ष दाना भारतमा निर्यात हुन्छ। उच्च गुणस्तरको २० एमएमभन्दा माथिको रुद्राक्ष दाना चीन र अन्य बाहिरी मुलुकमा १० हजारदेखि २० हजार रुपैयाँ प्रतिमालासम्ममा बिक्री हुन्छ। यो उच्च मूल्यका लागि विशेष किसिमका बिरुवालाई कलमी गरेर उत्पादन गरिने वसन्ती बताउँछिन्। ‘२० रुपैयाँ प्रतिकिलो पर्ने रुद्राक्ष टिप्दा ढुवानी खर्च र जनशक्तिको लागतका कारण फाइदा हुँदैन,’ उनले भनिन्, ‘उच्च मूल्य आउने ठूलोमुखी दाना मात्र टिप्छु। भोजपुरबाट रुद्राक्ष काठमाडौंसम्म ल्याउन प्रतिकिलो ३० रुपैयाँसम्म ढुवानी खर्च लाग्छ।’
सुनसरीका रुद्राक्ष व्यवसायी प्रेमप्रसाद पराजुलीले पछिल्लो समय रुद्राक्ष मालाको प्रयोग बढ्न थालेको बताउँछन्। धरानस्थित बूढासुब्बा रुद्राक्ष एन्ड नर्सरी सञ्चालकसमेत रहेका पराजुलीले रुद्राक्ष माग अहिले राम्रो रहेको र किसानले पनि यसको उचित मूल्य पाउन थालेको क्यापिटल नेपाललाई सुनाए। ‘कोसी प्रदेश सरकारले समेत रुद्राक्ष माला प्रयोग गर्न थालेको छ। बुटवल, नेपालगञ्जलगायत देशका विभिन्न भागमा पनि रुद्राक्ष मालाको माग आउने गरेको छ,’ उनले भने, ‘पूजापाठ, पुराण, स्वागत तथा सम्मान कार्यक्रममा समेत रुद्राक्ष माला प्रयोग बढेको छ।’
पराजुलीले भारतीय सयपत्री फूलको माला महँगो पर्ने भएकाले स्वदेशी रुद्राक्षको माला प्रयोगमा जोड दिएको उल्लेख गरे। रुद्राक्षलाई केवल पण्डित वा धागाधरीले मात्र छुन मिल्छ भन्ने पुरानो धारणालाई चिर्दै सर्वसाधारणका लागि सस्तो बनाउन आफूले भूमिका खेलेको दाबी उनको छ।

अहिले उनले १५ देखि ५० रुपैयाँसम्म प्रतिगोटा रुद्राक्ष माला तयार गर्छन्। बजारमा एकदेखि डेढ सय रुपैयाँ पर्ने माला आफूले होलसेलमा ५० रुपैयाँमा दिने गरेको उनले बताए। ‘रुद्राक्ष माला बनाउने कार्यमा १४–१५ जना स्थानीयले रोजगारीसमेत पाएका छन्,’ उनले भने, ‘मासिक रूपमा ४/५ हजार र कहिलेकाहीँ १०/२० हजारसम्म पनि बिक्री हुने गरेको छ।’ आफ्नो नर्सरी सञ्चालन गर्न नसके पनि रुद्राक्ष खेती किसानबाट सीधै संकलन गर्दै आएको पराजुली बताउँछन्। ‘११, १२ र १३ मुखीजस्ता महँगा रुद्राक्षका दाना २–३ हजार रुपैयाँसम्म बिक्री हुने गर्छन्,’ उनले भने, ‘जसको माग देश–विदेश दुवै ठाउँमा छ।’

नेपालमा वार्षिक ३० लाख किलो रुद्राक्ष उत्पादन हुने अनुमान छ। रुद्राक्ष ४५ जिल्लाका ८ देखि १० लाख रुखबाट उत्पादन गरिन्छ। रुद्राक्ष दानामा हुने धर्सा वा रेखा (मुखी) १ देखि २१ सम्मका हुन्छन्। प्रत्येक मुखीको आफ्नै विशिष्ट लाभ र ग्रहसम्बन्धी प्रभाव हुन्छन्। नेपालमा १ देखि ३८ मुखीसम्मका रुद्राक्ष पाइने गरेको संघ अध्यक्ष चापागाईं बताउँछन्। ‘नेपाली रुद्राक्ष नेपालमा पाइने रुद्राक्षको एक प्रकार हो, जुन यसको उच्च गुणस्तर, विशिष्ट बनावट र शक्तिशाली कम्पनका लागि प्रख्यात छ,’ उनले भने, ‘यो भगवान् शिवको आँसुबाट उत्पन्न भएको मानिन्छ, जसले यसलाई धार्मिक र आध्यात्मिक रूपमा पवित्र बनाउँछ।’
नेपालमा हाल वार्षिक ३० लाख केजीभन्दा बढी रुद्राक्ष उत्पादन हुन्छ। उत्पादन विशेषगरी पूर्वी नेपालका जिल्लामा केन्द्रित छ। भोजपुरको दिङ्ला रुद्राक्षको उद्गम स्थल मानिन्छ। संखुवासभा, धनकुटा, सुनसरीलगायत जिल्ला रुद्राक्षका प्रमुख उत्पादन क्षेत्र हुन्। यी चार जिल्लाको मात्रै नेपालको कुल रुद्राक्ष उत्पादनको करिब ७०/७५ प्रतिशत योगदान छ। यसको बजार आन्तरिक तथा भारत र चीन हो।
कच्चा रुद्राक्ष विदेशमा बिक्री बढे पनि पनि माला र अन्य तयारी वस्तु निर्यात पनि बढ्दो क्रममा छ। एकमुखी रुद्राक्षको मूल्य १०/१५ हजारदेखि २०/२५ लाख रुपैयाँसम्म पर्छ भने २१ मुखी रुद्राक्षलाई सबैभन्दा मूल्यवान मानिन्छ, जसको मूल्य ५/७ लाखदेखि ३०/३५ लाख रुपैयाँसम्म पर्ने चापागाईं बताउँछन्। एउटै दाना ४०÷५० लाख रुपैयाँसम्ममा पनि बिक्री सम्भावना हुँदा कुल उत्पादन २० करोडमाथि हुन सक्ने उनको अनुमान छ।
भोजपुर, संखुवासभा र धनकुटाका किसानको मुख्य आम्दानी स्रोत रुद्राक्षले पछिल्लो समय ठूलो बजार पाएको छ। करिब १० वर्षअघिसम्म धार्मिक बजारमा मात्र सीमित रहेको रुद्राक्ष अहिले अन्तर्राष्ट्रिय स्तरमा चिनिन थालेको छ। रुद्राक्षको मूल्य यसको मुखको संख्या र आकारमा निर्भर गर्दछ। एकमुखी रुद्राक्षलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ भने मुखको संख्या बढ्दै जाँदा धार्मिक महत्त्व र मूल्य दुवै बढ्छ। त्यस्तै, गोलाकार नभई च्याप्टो वा लाम्चो आकारका रुद्राक्षको पनि बढी मूल्य पर्ने गरेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा.राजेन्द्र केसी बताउँछन्। ‘पहिला यस्ता विशेष रुद्राक्षको मात्र बजार थियो तर, अहिले पाँचमुखी रुद्राक्षको पनि राम्रो मूल्य पाइन थालेको छ,’ उनले भने।
पछिल्लो समय नेपालमा खादाको सट्टा रुद्राक्षको माला प्रयोग गर्ने अवधारणा पनि विकसित हुँदै गएको छ। सम्मान तथा बिदाइ कार्यक्रममा खादाको विकल्पका रूपमा रुद्राक्ष माला प्रयोग गर्दा धार्मिक महत्वका साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने देखिन्छ। यद्यपि, नेपालमा लाखौं किलो रुद्राक्ष उत्पादन हुने हुँदा आन्तरिक खपतले मात्र यसको विशाल उत्पादनलाई धान्न सक्ने अवस्था नरहेको केसीको तर्क छ।
भारतीय बजारमा नेपाली रुद्राक्षको विशेष महत्त्व छ। नेपाललाई भगवान् शिव उत्पत्तिको पुण्यभूमि तथा पशुपतिनाथको देशका रूपमा हेरिने भएकाले यहाँको रुद्राक्षलाई उच्च प्राथमिकता दिइन्छ। इन्डोनेसिया र भुटानमा रुद्राक्ष पाइने भए पनि नेपाली रुद्राक्षको धार्मिक तथा व्यापारिक महत्त्व बढी रहेको जानकार बताउँछन्।
सरकारले रुद्राक्ष खेतीको विकासमा सकारात्मक पहल थालेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले रुद्राक्षमा लाग्दै आएको मोहकर पूर्ण रूपमा छुट दिएको छ। रुद्राक्ष र यसबाट तयारी वस्तुको भन्सार कोड पनि कायम गरिने भनिएको छ। यसले रुद्राक्षको औपचारिक कारोबारलाई सहज बनाउनेछ। साथै, बैंक ऋण प्राप्त गर्न सकिने बाटो खुलाइनेछ।
यसले निर्यात प्रक्रियामा पारदर्शिता ल्याउनेछ। खादाको विकल्प बन्दै गरेको रुद्राक्ष आयात/निर्यात तथ्यांक नरहे पनि यसको कारोबार वार्षिक आन्तरिक र बाह्य गरी साढे ३ अर्ब बराबर हुने गरेको छ। भन्सार विभागका महानिर्देशक महेश भट्टराई खादा र रुद्राक्षको छुट्टै कारोबार नभएको बताउँछन्। ‘खादा र रुद्राक्षको एचएस कोड छैन। खादाका लागि सिल्क र कटनको नाममा आउँछन्,’ उनले भने, ‘तीमध्ये कति खादामा रुपमा प्रयोग हुन्छन्, कति अन्य प्रयोजनका लागि। ठ्याक्कै भन्न सकिन्न। सबै खादामा प्रयोग हुन्छन् भनिँदा मिसलिड हुन सक्छ।’
रुद्राक्षमा सकस
रुद्राक्ष नेपालमा सम्भावनायुक्त बाली भए पनि किसानले सरकारी सहयोग पाउन नसकेको, वित्तीय पहुँच हुन नसकेको र बजारीकरणमा समस्या खेपिरहेका छन्। नेपालमा उत्पादन हुने रुद्राक्षलाई मूल्य अभिवृद्धि गर्न सके राम्रो सम्भावना देखिन्छ। तर रुद्राक्षलाई सरकारले अन्य कृषि बालीजस्तो मान्यता नदिँदा किसानलाई ढुवानी र बजारीकरण गर्न सकस भइरहेको रुद्राक्ष किसानको गुनासो छ।
दुर्गम क्षेत्रमा रुद्राक्ष खेती हुने भएकाले उत्पादनलाई बजार पु¥याउन ढुवानी खर्च अधिक लाग्छ, जसले किसानलाई मार पर्छ। अलैंची उत्पादकले बैंकबाट कृषि कर्जा पाउँदा लाखौंको उत्पादन गर्ने रुद्राक्ष किसानले भने ऋण नपाएको किसान वसन्ती श्रेष्ठको गुनासो छ। यसका साथै निकासी पुर्जी र भन्सारमा समेत दुःख दिइने गरेको उनी सुनाउँँछिन्। ‘रुद्राक्ष ढुवानी गर्दा वन विभागबाट निकासी पुर्जी लिनुपर्छ,’ उनले भनिन्, ‘ठूला मुखी दाना उत्पादन हुँदा भन्सारमा असहज हुन्छ। ढुवानी समय कहाँबाट आएको, कसरी, किन, कहाँजस्ता विषयमा वनक्षेत्रबाट धेरै केरकार हुने गर्दछ।’
ग्रामीण क्षेत्रमा युवापुस्ता बस्ने कमै छन्। यसले उत्पादन भइरहेको रुद्राक्ष दाना टिप्ने जनशक्ति अभाव छ। रुद्राक्षका रुख अग्ला र चिप्ला हुने भएकाले दाना टिप्न दक्ष जनशक्ति आवश्यक पर्छ। ५०÷५२ वर्षमाथिका मानिस रुख चढ्न नसक्ने हुँदा टिप्ने जनशक्ति पाउन मुस्किल हुने वसन्तीको भोगाइ छ। ‘रुख चढ्नेले दैनिक १ हजारदेखि २ हजार रुपैयाँसम्म ज्याला लिन्छन्,’ उनले भनिन्, ‘तर गाउँमा मान्छे नै भेटिँदैनन्।’
रुद्राक्ष खेतीमा सम्भावना प्रशस्त भए पनि केही चुनौती छन्। रुद्राक्ष खेतीमा दक्ष जनशक्ति अभाव हो। रुद्राक्षबाट विभिन्न उत्पादन हुन्छन्। जस्तै, पूजा सामग्री, गहना, सजावटका सामान, किरिङ, गाडीका सिट कभर आदि बनाउन सकिन्छ। तर, आवश्यक सीप र तालिम अभावले यसको व्यावसायिक उत्पादन हुन सकेको छैन।
किसानले उत्पादन गरेको सामान्य किसिमका रुद्राक्षले उचित मूल्य नपाउँदा उनीहरू मर्कामा परेको अध्यक्ष चापागार्ईं बताउँछन्। ‘बैंक ऋण, अनुदान र अन्य कृषि सुविधाबाट वञ्चित हुँदै आएका छौं,’ उनले भने, ‘रुद्राक्षलाई कृषि उपजको रूपमा पूर्ण कानुनी मान्यता नदिइएकाले ओसारपसार र बजारीकरणमा पनि समस्या छ।’
किसान तथा व्यवसायीले रुद्राक्षलाई कृषि उपजको रूपमा समायोजन गर्नुपर्ने माग राख्दै आएका छन्। यदि कृषिका अन्य बालीसरह मान्यता दिइए किसानलाई थप प्रोत्साहन मिल्नेछ। सरकारबाट आवश्यक सीपमूलक तालिम र वित्तीय सहयोग प्राप्त भए रुद्राक्ष खेतीले देश तथा किसानलाई ठूलो आर्थिक योगदान पुर्याउन सक्ने सम्भावना छ। यसले निर्यात वृद्धि गरी विदेशी मुद्रा आर्जन र हजारौंलाई प्रत्यक्ष रोजगारी दिन भूमिका खेल्नेछ।