काठमाडौं । नेपाल टेलिकमले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट फोरजी÷एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा सफ्ट लन्च गर्दैछ । टेलिकमले अपराह्न्न चार बजे उक्त सेवाको लन्च गर्ने कम्पनीको सूचना शाखाले जानकारी दिएको छ ।
हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियोलगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने कम्पनीले बताएको छ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्यान्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछ ।
विस्तारित फोरजी÷एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने बताइएको छ । हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी÷एलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पु¥याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्त्वपूर्ण पूर्वाधार साबित हुनेछ ।
नेपाल टेलिकमले देशमै पहिलो पटक विसं. २०७३ पुस १७ गते काठमाडौं र पोखराबाट फोरजी/एलटीई सेवा शुरु गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन ओटा सम्झौता सम्पन्न भएको थियो । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए ।
कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको छ । सम्झौता अन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ ।
यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइने छ । यो प्याकेज लिइएको २४ घण्टासम्म प्रयोग गर्न सकिनेछ ।
यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीईका सेवाग्राहीलाई थप ५०० एमबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ ।
२८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जीबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जीबी डाटासहित प्राप्त हुनेछ । यी तीन ओटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीई अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहनेछ ।