काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो २५ औं बार्षिकोत्सबको अवसरमा पूर्व प्रमुख पिएल सिंहलाई सम्मान गर्ने भएको छ । २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
महानगर घोषणा भएको २५ बर्ष पुरा भएको छ । यस अवसरमा महानगर घोषणा गर्ने तत्कालीन प्रमुख सिंहलाई सम्मान गर्ने महानगरको योजना छ । महानगर दिवस मुल समारोह समितिको बैठकमा समितिका अध्यक्ष एवं महानगर प्रमुख बिद्यासुन्दर शाक्यले दुई दिनका कार्यक्रमका साथै वडा स्तरमा आयोजना गर्ने तयारी छ ।
बैठकमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सो अवसरमा सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, बाद्यबादन तथा प्रदर्शनीमा सिङ्गो महानगर क्षेत्रको सहभागिता हुने अपेक्षा गरेकी छन । दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं शुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमा डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
बैठकमा आफ्नो उपसमितिले गरेको तयारीका बारेमा जानकारी दिँदै व्यवस्थापन उपसमितिका संयोजक महर्जनले — ज्यापू समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६५ गुथि, गुँला बाजाका २३ वटा समूह, टोलमा राखिएका २ जना जीवित कुमारी र पुलुकिसी, दि प्याँख, लाखे, आकाश भैरव (सवः द्य) गरी ४ नाचसँग सम्बन्धित बाजा गुरुलाई सम्मान गरिने तयारी भएको जानकारी दिए ।