पाल्पामा पाँच महिनामा १०७ दुर्घटना, १० जनाको मृत्यु

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस १४, साेमबार,०१:५९:PM  
पाल्पामा पाँच महिनामा १०७ दुर्घटना, १० जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सवारी दुर्घटनामा मृत्यु भयो । पाल्पा तिनाउ गाउँपालिका–३ डयाम साइटमा लु१९प २८०३ नंको स्कुटीले लु२ख १७६३ नंको टिप्परलाई ‘ओभरटेक’ गर्दा ठोक्किन पुग्यो । दुवै यातायातका साधन पाल्पाबाट बुटबलतर्फ जाँदा भएको दुर्घटनामा थापा गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल बुटबल उपचारार्थ लगियो । थापाको मृत्यु भइसकेको अस्पतालले घोषणा गर्यो ।

पाल्पामा सवारी दुर्घटनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । सवारी दुर्घटनामा अकालमा ज्यान गुमाउनेमा थापामात्र एक्ला होइनन् । चालु आवको पाँच महिनामा १० जनाको मृत्युको कारण सवारी दुर्घटना हो जिल्लाका मुख्य तथा सहायक सडकमा साना ठूला १०७ दुर्घटना भइसकेको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख पृथ्वीकुमार काफ्ले बताए । दुर्घटनामा ७१ गम्भीर र १७४ सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले सडकमै सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपेन्द जिसीले चालकका कारण ७० प्रतिशत दुर्घटना हुने बताए । मोबाइल प्रयोग गरी सवारीसाधन चलाउने र मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेका हुन् ।

सडक, पैदल यात्रु, पशुपन्छी लगायतका कारण ३० प्रतिशत सवारी दुर्घटनामा परी मानवीय क्षति हुँदै आएको छ । सडक मापदण्डअनुसार निर्माण हुन सकेको छैन । अधिकांश साँघुरा, खाल्डा सडकमा सवारी जोगाउन चालकले कोसिस गर्दा अर्को सवारीको ठक्करबाट दुर्घटना बढेको प्रहरीको दाबी छ । ट्राफिक नियमपालन नगर्दा दुर्घटना बढेको छ । सांसद सोमप्रसाद पाण्डेयले ट्राफिक जनचेतनाले मात्र सवारी दुर्घटनामा कमी नहुने र यसमा कमी ल्याउन सबै जिम्मेवार हुनुपर्ने बताए ।

सडक यात्रुदेखि, सवारीचालक, प्रहरीलगायत सबैको चासो र जिम्मेवारी बहन गर्न तयार भएमात्र सवारीसाधन दुर्घटना कमी ल्याउन सकिने तर्क पाण्डेयको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सवारी दुर्घटना न्यूनीकरणमा सबैको चासो हुनुपर्ने बताए । कालोपत्रे सडकमा सवारीसाधन रोकिँदा समस्या बढेको शाहीको टिप्पणी छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सवारी दुर्घटनामा कमी ल्याउन सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेको बताए । श्रीनगर यातायात कम्पनीका अध्यक्ष डिलबहादुर ढुङ्गानाले सडक व्यवस्थापन उचित रुपमा गर्नुपर्ने बताए । सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम आइतबारदेखि पाल्पामा शुरु भएको छ ।

कार्यक्रम पुस १९ गतेसम्म चल्नेछ । सांसद पाण्डेयले सवारी न्यूनीकरणसम्बन्धी स्ट्रिकर सवारीसाधन टाँसेर अभियानको शुरुआत गरे । जनचेतनामूलक कार्यक्रम अवधिभर सडक पेटीबाट हिँडौँ, पेटी नभएको ठाउँमा सडकको दाहिने किनाराबाट हिँडौँ, सार्वजनिक यातायातमा यात्रा गर्दा आरक्षित सिटमा तोकिएको व्यक्तिलाई प्राथमिकता दिआँै भन्ने जनचेतना फैलाउने जनाइएको छ ।

रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top