माटो मिसाएर सिमेन्ट बेच्ने घोराहीको उत्पादन रोक्ने तयारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,१०:३४:AM  
माटो मिसाएर सिमेन्ट बेच्ने घोराहीको उत्पादन रोक्ने तयारी

काठमाडौं । घोराही सिमेन्टले माटैमाटो भएको सिमेन्ट बेचेको फेला परेपछि सरकारले त्यसको उत्पादन रोक्ने तयारी गरेको छ । घोराहीले उत्पादन गरेको एक बोरा सिमेन्टमा माटोको मात्रा १३ प्रतिशत भन्दा बढी देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसको उत्पादन रोक्ने तयारी थालेको हो । 

सिमेन्ट उत्पादनमा घोराहीको चरम बदमासी, पीपीसीलाई ओपीसी भन्दै बेचेको आशङ्का

घोराहीले ओपीसी सिमेन्टको नाममा माटो बेचेको परीक्षणबाट देखिएपछि विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो । घोराहीले स्पष्टीकरण समेत बुझाइसकेको छ । उत्पादित सामान र स्पष्टीकरणलाई हेरेर विभागले तीन महिनाका लागि उद्योग बन्द गराउने तयारीमा पुगेको हो । 

घोराहीले ओपीसी सिमेन्टमा आईआर अर्थात सिमेन्टमा हुने माटो वा अन्य पदार्थको मात्रा १३ प्रतिशत भन्दा बढी फेला पारेको थियो । जबकि, कानुन अनुसार ओपीसी सिमेन्टमा २ प्रतिशत भन्दा बढी आईआर हुनु हुँदैन

। सिमेन्टमा माटोको मात्रा बढी मिसाएपछि लागत कम पर्ने र बढी मूल्य लिने दाउले उद्योगले यस्तो गरेको हुनसक्ने विभागले आँकलन गरेको छ । 

त्यसरी माटो राखेर बनाइएको सिमेन्ट प्रयोग गर्दा घर तथा अन्य संरचनामा छिटै टुट्ने वा बिग्रिने सम्भावना हुने विभागले बताएको छ । सिमेन्टमा माटोको मात्रै हुनु नै हुँदैन ।

तर, पनि सरकारले २ प्रतिशतसम्मलाई छुट दिएको छ । तर, घोराहीको १३ प्रतिशतभन्दा बढी देखिएकाले उद्योग बन्द गर्नुको विकल्प नभएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक विश्वबावु पुडासैनीले घोराहीलाई स्पष्टीकरण सोधिएको र उसले पनि बुझाइसकेको छ । अब त्यसलाई हेरेर थप कारबाही अघि बढाइने उनले बताए । घोराहीको लापरबाही हेर्दा तीन महिना उद्योग बन्द गर्नुपर्ने देखिन्छ । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top