काठमाडौं । घोराही सिमेन्टले पीपीसीलाई ओपीसी सिमेन्ट भन्दै बिक्री गरेको आशङ्कमा नेपाल गुणस्तर तथा नापतौल विभागले छानविन सुरु गरेको छ ।
विभागले घोराहीको ओपीसी सिमेन्टको नमूना सङ्कलन गरी परीक्षण गर्दा आइआर (इन्स्लोबल रेसिड्यू) को मात्रा १३ दशमलव २ प्रतिशत देखिएपछि पीपीसी सिमेन्टलाई नै ओपीसी भनेर बेचेको र उपभोक्ता ठगी गरेको हुनसक्ने आशङ्का गरेको हो ।
ओपीसी सिमेन्टमा आइआरको मात्रा २ प्रतिशत मात्रै हुनुपर्छ । सो परिमाण भन्दा बढी भएमा नेपाल गुणस्तर नियमावली २०४० अनुसार कारबाही हुन्छ । विभाग स्रोतका अनुसार घोराहीले ओपीसी सिमेन्टमा फ्लायर्सको मात्रा अत्याधिक हालेको वा पीपीसीमा कम फ्लायर्स हालेर ओपीसीको मूल्य लिएर उपभोक्तालाइ ठगी गरेको भेटिएको छ ।
‘मानवीय त्रुटीका कारण २ प्रतिशतबाट केही बढी आइआर जान सक्छ । तर, १३ प्रतिशत भन्दा बढी आइआर देखिनु मानवीय त्रुटी होइन्,’ विभाग स्रोतले भन्यो, ‘ओपीसीको मूल्य लिने र पीपीसी बेच्ने घोराहीको खेल हुन सक्छ ।’
अहिले बजारमा पीपीसी भन्दा ओपीसीको मूल्य एक सय रुपैयाँ बढी पर्छ । त्यही एक सय रुपैयाँ बढी कमाउन घोराहीले यस्तो खेल गरेको हुनसक्ने विभागले अनुमान लगाएको छ ।
यो विषयमा विभागले उद्योगसँग स्पष्टीकरण सोधिसकेको छ । घोराहीले चित्त बुझ्दो जवाफ नदिए, नेपाल गुणस्तर नियमावली अनुसार तीन महिनासम्मका लागि उद्योग बन्द गर्ने विभागको तयारी छ ।
घोराहीले लामो समयदेखि यसैगरी उपभोक्तालाई ठग्दै आएको हुनसक्ने विभागले अनुमान गरेको छ । विभागले ¥यान्डम रुपमा बजारबाट सिमेन्टको नमूना सङ्कलन गर्ने र परीक्षण गर्ने गर्छ । यो पटक घोराहीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा ओपीसी सिमेन्टका आइआरको मात्रा अस्वाभाविक देखिएपछि कम्पनीको ठगी धन्दा बाहिर आएको हो ।
तीन महिना उद्योग बन्द हुन सक्छ
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले घोराही सिमेन्टको ओपीसी ब्रान्डको सिमेन्ट परीक्षण गर्दा आइआरको मात्रा मापदण्ड भन्दा धेरै बढी देखिएको बताएका छन् ।
‘आइआरको मात्रा अस्वभाविक देखिएको छ, त्यही भएर हामीले उद्योगलाई स्पष्टीकरण पनि सोधेका छौं,’ पुडासैनीले भने, ‘उसले स्पष्टीकरण बुझाए पछि उद्योगको कारबाहीलाई अघि बढाउँछौं ।’
उनका अनुसार यसरी नियम उल्ङ्घन गरेर सिमेन्ट उत्पादन गरेको अवस्थमा उद्योगको लाइसेन्स तीन महिनाका लागि खारेज गर्न सक्ने प्रावधान छ । उद्योग खारेज हुन सक्छ ।