होमस्टेले सजिएको सिरुबारी र ‘अभिड ट्राभलर’ सारथि, अशोक शेरचनको यात्रा अनुभूति

account_box अशोक शेरचन ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,०८:५७:PM  
होमस्टेले सजिएको सिरुबारी र ‘अभिड ट्राभलर’ सारथि, अशोक शेरचनको यात्रा अनुभूति

अगस्टिन अफ हिप्पोको एउटा भनाइ छ, ‘संसार भनेको एउटा किताब हो । तर जो व्यक्ति यात्रा गर्दैन, उसले केवल पाना मात्रै पढिरहेको हुन्छ ।’

हिप्पोले भनेझैैं मलाई पाना मात्रै पढ्नु थिएन । किताबका पाना भन्दा बाहिर पुगेर भाषा, संस्कृति, भूगोल र त्यससँग जोडिएका थुप्रै कुराहरू पढ्नु थियो । जसले सिकाइको दायरा र बुझाइको आयतनलाई अझै फराकिलो बनाउन सक्थ्यो । तुलनात्मक रुपमा हेर्दा यो ज्ञान कुनै विश्वविद्यालयको पाठ्यक्रममा पनि समाविष्ट थिएन ।

थुप्रै साथीभाइको मुखारविन्दबाट घुम्नैपर्नेे एउटा गाउँबारे सुन्दै आइरहेको थिएँ । जुन गाउँ, जुन ठाउँ नघुमिकन मन मानिरहेकोे थिएन । बेचैनी जस्तो बढिराखेको थियो । 

तर पुषको दोस्रो साता भने बिहेको लगन जस्तो बनेर त्यो अवसर आइपुग्यो । 

प्रायः एउटै बथानमा भेटिने मित्र–मण्डलीको साथ जुरेको थियो उक्त यात्रा गर्न । यी साथीहरु देश विदेश गैरहन्छन् । घुमिरहन्छन् । तर, देशभित्रै सुन्दर गाउँमा हामी घुम्न एउटै यात्रा गर्दै थियौं ।  

यात्राकै क्रममा केही सहयात्रीहरू दोबाटोमा पनि मिसिए । जाऊँ कि नजाऊँ भन्दाभन्दै बिहेको लमीझैं बनेर बाटो देखाउँदै अघि लाग्ने पनि उनै बने । पोखराका उनी हाम्रो गन्तव्यको वातावरणसंँग परिचित नहुने कुरै भएन । कुनै न कुनै उद्देश्य या बहानाले भागिरहेका भेटिने उनी, यसपालि हाम्रो गन्तव्यको सम्मोहनले तानिन पुगे । 

उनी, अर्थात ज्ञानेश्वर आचार्य ।

आचार्य जस्तै यही यात्राका अर्का एक यात्री पनि हाम्रो गन्तव्यसँग अपरिचित भने पक्कै थिएनन् । तर, शैशवकालमा मावली जाँदा आउँदा मात्र । फरक यत्ति हो कि, त्यसबखत उनी पैदल हिँडेका थिए । अहिले हामीसँगै मोटरमा । उनी भन्थे, ‘खस्नै परे पनि सिमलको भुवाँ जसरी खस्ने हो । हल्लँदै, नाच्दै र बहेली हान्दै ।’ यति भनिरहँदा उनी आफ्नो गाउँ आँखाकै अघि देखेर भावुक बने । तर उनले टेकेका र देखेका त्यसबखतका डोबहरू भने मेटिइसकेका थिए । पुरिएका र भत्किएका थिए । बाँकी थिए त केवल पर देखिने हिमश्रृङ्खला जस्तै स्मृतिहरू । तिनै हिमाल जस्तै कञ्चन यात्राका सारथी बनेका थिए, नारायण अमृत । 

हामीसँग जोडिएका तेह्रथुम ओयाक्जुङका अर्का सहयात्री जो पूर्णतया नौला र जिज्ञासु थिए । भलै उनी पहाडसँग परिचित थिए । तर थिएनन् नूतन परिवेशसँग । काठमाडौं छोडेपछि यूरोपियन जिन्दगी भन्दै तनाव नलिने, बीचैमा ओर्र्र्र्लेर अर्कै गन्तव्य पनि ताक्ने यस्ता स्वभावका उनी पनि सामूहिक गन्तव्य पछ्याउने क्रममा हामीसँगै जोडिन आइपुगे । उनी अर्थात् पुष्प दुलाल ।

जन्मे–हुर्केका मोरङमा । पढे–लेखेका राजधानीतिर । अलिक कम बोल्ने । बरू मनमा गुनेर बस्ने यिनी हाम्रो एउटै यात्राका फरक यात्री थिए । जसका लागि हामीले तय गरेको बाटो नै बडेमानको पहाड जस्तो थियो । त्यही पनि छाती भक्क फुलाउँदै डर भगाइरहन खोजेका जस्ता देखिन्थे । पूर्वेलीहरूलाई सामान्यतया पश्चिमेली संस्कृतिले सम्मोहित गर्दैन । तर उनी उत्साहित देखिन्थे । फुरुङ्ग लाग्थे । उनी थिए, सुर्दशन सापकोटा । 

पूर्व बैङ्कर । कलात्मक ढङ्गले कलालाई प्रस्तुत गर्न माहिर, गन्तव्यका बाटाघाटा, डाँडाकाँडा, परिवेश र त्यसका प्रक्रियासँग पनि परिचित । देशलाई असाध्यै माया गर्ने । देशमै केही गर्नुपर्छ भन्ने सोचका साथ लागी परेका यस यात्राका अर्का एक सर्जक र साधक– प्रकटकुमार । 

गन्तव्य हाम्रोे सिरुबारी । नेपालको पहिलो घरबास (होमस्टे) सुरुवात गरिएको गाउँ । स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिकामा पर्ने यस गाउँमा गुरुङ समुदायकोे बाहुल्यता छ । २०५४ सालमा नेपालमै नौलो खालको प्रयोग अतिथि स्वागत र सत्कारका लागि प्रचलनमा आएको सिरुबारी गाउँले, अस्टे«लियन नागरिकको पहल र नेपालका रुद्रमान गुरुङको अगुवाइमा यो अभूतपूर्व कार्यक्रमले मूर्तता पाएको थियो । गाउँले परिवेशलाई आधुनिकीकरण गरेर, पुख्र्यौली संस्कृतिको जगेर्ना गर्दै, ग्रामिण परिकारका स्वाद पस्कँदै, रोधीघरको झल्को दिलाउने अठोटका साथ सञ्चालित सिरुबारी वर्तमानमा आफ्नो साखः जोगाउन संघर्षरत छ । 

सिरुबारी आजकल सुनसान जस्तै छ । नेपालका सबै गाँउ जस्तै यहाँ पनि बसाइँ–सराइ र वैदेशिक रोजगारको कारणले सन्नाटा छाएको छ । त्रिचालीस घरका होमस्टेको सुविधा तेह्र घरधुरीमा समेटिएको छ । टमक्क मिलेका घरहरू, नजिकैको घना जङ्गल, शिखरमा बनाइएको भ्यूटावर र बिहानीमा देखिने सूर्याेदयको अलौकिक क्षण यहाँका विशेषता हुन् । 

अतिथि सत्कारस्वरुप पञ्चेबाजाको स्वागत,  माला लगाइदिएर गरिने आदर–सम्मान र चाँदीको घेरोसहितको काठको ठेकीको घरपाला तथा स्थानीय खाजाले थकित तन–मनलाई तुरुन्तै ‘फ्रेस’ बनाइदिन्छ । गाउँको बीचमा रहेको बुद्धविहारमा सिरुबारी र यसको छोटो इतिहासका बारेमा प्रकाश पार्ने र आ–आफ्ना लागि तोकिएका घरमा पाहुनालाई साँझमा सांस्कृतिक कार्यक्रममा भेट्ने वाचासहित पठाउने गरिँदो रहेछ । अरू गाँउझैं सिरुबारी पनि मोटरबाटोले जोडिसकेको छ । पोखराबाट नौडाँडा, सेतीदोभान हँुदै वा पोखरा बागलुङ राजमार्गमा पर्ने दोबिल्लाबाट कार्कीनेटा हँुदै पनि यहांँ पुग्न सकिन्छ । । अलि सजिलै गरी पुग्नका लागि पहिलो बाटो उपयुक्त हुन्छ ।

 आ–आफ्नो घरमा पकाएको स्वादिलो खाना खाइसकेपछि साँस्कृतिक कार्यक्रम हेर्न सबैजना भेला हुँदै गर्दा परिचित अन्य केही अनुहार पनि त्यहाँ भेटिए । सप्ताहन्त भएर पनि होला पाहुनाको संख्या उल्लेख्य देखिन्थ्यो । धक फुकाएर हामी पनि लोकगीतका भाकाहरूमा मन अघाउन्जेल नाच्यौं । कुलमानजीको कृपाले हरेक गाउ–ँ ठाउँ उज्यालोबाट वञ्चित हुनु परेको छैन । सिरुबारी पनि यसको पर्याय बनेको छ । 

काठमाण्डौंमा रहेर आफ्नो गाँउको सेवामा तल्लीन दईहस्तीहरुको विशेष सत्कारमा हामी पुलकित थियौं । अवकाश प्राप्त ब्रिटिश सेना अधिकृत लीलाबहादुर गुरुङ र कृष्णप्रसाद अधिकारीज्यूको विशेष पाहुनाका रुपमा साँस्कृतिक कार्यक्रमपछि हाम्रा लागि रोधी बस्ने अर्को कार्यक्रम तय भयो । 

दुवै हस्तीहरू आँधीखोला गाउँपालिका अन्र्तगतका स्कुललाई आधुनिक र प्रविधिमैत्री बनाउनमा खटिरहनु भएको रहेछ । ब्रिटिश सेनामा रहँदा त्यहाँको राजसंस्थाद्वारा एमबीई ( मेम्बर अफ ब्रिटिश इम्पेरर ) सम्मानबाट समेत सम्मानित लीला दाइ र काठमाण्डौंमा स्कुल खोलेर स्थापित भएका कृष्ण सर, जसले करिब ६० जना आफ्नै गाउँका विद्याथीलाई काठमाण्डौंमा पढाइरहेका छन् भन्ने थाहा पाउँदा हामी नतमस्तक बन्यौं । 

रोधी त बस्ने तर हाम्रो समूहका कसैमा गाउने कलाचाहिँ थिएन । तर लीला दाइ र कृष्ण सरको आडभरमा हामी सिरुबारी प्रवद्र्धन समितिको निजी भवनमा रोधी बस्न तयार भयौँ । 

रात ढल्दै थियो । गाउँघरको ठाउँ चकमन्न बनिसक्यो ।  चार जना स्थानीय दोहोरी गायिकाहरू तम्तयार देखिए । सामान्य चिनापर्चीपछि गीतका भाका मादलका तालमा  घन्किन थाले । माया पिरतीका, दुःखसुखका, बिछोड मिलनका, सम्झना बिर्सनाका अनगिन्ती क्षणहरू दुवै तर्फबाट पोखिए । पुष्प र सुर्दशनले पनि ढङ्ंग पु¥याई– नपु¥याई गाए  । नारायणजीले रोधीका आफ्नै निश्चित नियम र अनुशासन हुने भन्दै सम्झाउँदै पनि थिए । त्यहि भएर होला ज्ञानेश्वरजी र प्रकटकुमार धेरै समय रोधीमा पनि हात बाँधेर बसे । 

लीला दाइ र कृष्ण सर पनि निरन्तर विभिन्न भाकामा भिड्दै गए । रात अब मिर्मिरे बिहानमा ढल्किँदै थियो । रोधी बस्दा रात र दिनको हेक्का हुँदैन भन्ने सुनिन्थ्यो, हामी त्यहाँं त्यसैको साक्षी बनिरहेका थियौं । 

रोधीबाट बिदा हुँदै गर्दा, कुखुराका भाले बास्दै गर्दा, अपरिचितासँग परिचयको साइनो गाँस्दै गर्दा यस्तै बिहानको तीन बजेको थियो होला । 

बिहानपख खाजा खाएपछि बिदा हुने समय नजिकै आइपुग्यो । बुद्धविहारको काखबाट सबैले हात हल्लाउँदै फेरि आउने बाचा गर्न मन लाग्यो, मनमनै । 

कार्कीनेटाको बाटो हुँदै सिरुबारी पुगेका हामी फर्किंदा भने सेती दोभान हुँदै फर्किने निधो ग¥यौं । फर्किने क्रममा देउरालीमा आइपुग्दा अन्नपूर्ण हिमश्रृङ्खलाले मुस्कराउँदै स्वागत गरिरहेको थियो ।

यी हिमालले हाम्रो करिब आधा घण्टा चोरेर लगे । गुराँसका बोटहरूले भरिएका घना जङ्गल चैत्र वैशाखमा कति सुन्दर देखिन्छ होला, यसै सोच्यौं । मनभरि सिरुबारीको सम्झना लिएर फर्किंदै गर्दा, आफ्नो साख जोगाउन संर्घषरत सुन्दर गाउँबारे सबैलाई निम्तो दिन मन लाग्यो । गीतै मार्फत् । जुन फर्किंदै गर्दा बाटोमै फुरेको थियो ।

नौडाँडा पारि, क्या राम्रो सिरुबारी ।
चुले निम्तो सबैमा, सगुनमा सुपारी ।।

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top