पाेखरा । संघीय प्रहरी इकाइ गण्डकी प्रदेशका एसएसपि पुजा सिंहले महिला भएको गर्व गर्नु पर्ने बताएकी छन् । लायन्स क्लव डिस्ट्रिक ३२५ वि १ नेपालले गण्डकी प्रदेशमा गरेको वुमन सिम्पोजियम कार्यक्रम ‘वुमन द विगिनिङ’ मा बोल्दै उनले महिला शक्ति हुन पाएकोमा गर्व गरेर हरेक क्षेत्रमा आफ्नो शक्तिको प्रदर्शन गरेर अघि बढ्नु पर्ने बताइन् ।
उनले पछिल्लो समय हरेक क्षेत्रमा महिलाको गर्विलो उपस्थिती बढ्दै गइरहेको र यसले महिलाको आत्मविश्वास जगाइरहेको बताइन् । उनले संसार सुन्दर हुनुमा महिला कुशल व्यवस्थापक भएर भूमिका निभाएकाले सम्भव भएको धारणा राखिन् ।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेकी एड्भोकेसी फोरमका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार वविता बस्नेतले सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक विविध पक्षबाट महिला सशक्त हुन जरुरी रहेको बताइन् । पित्तृसत्तात्मक सामाजिक मूल्य मान्यताका कतिपय जडहरु सामाजिक रुपान्तरणको बाधक भएको बताउँदै अब आफ्नो भूमिकाको खोजी गरेर सामाजिक न्यायका लागि अघि बढ्नु पर्ने उनको भनाइ थियो । उनले शास्त्र ग्रन्थहरुमा उल्लेख महिला पात्रको उदाहरण दिदै हरेक कुरालाई नकरात्मक टिप्पणी गर्नु भन्दा विषयबस्तु अध्ययन पछि धारणा बनाउन उपयुक्त हुने विचार राखिन् ।
प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य भिमा ढुंगानाले महिला समाजमा अगाडि रहेकोे तर सोचले सधै पछाडि पारेको बताइन् । उनले गण्डकी प्रदेशले अवलम्बन गरेको पञ्चवर्षिय नीतिमा महिला समानता र सशक्तिकरणको पक्ष र लक्ष्यको बारेमा प्रकाश पारिन् ।
कार्यक्रममा डिष्टिक गभर्नर इन्दु लम्सालले लायन्सले महिला सशक्तिकरणलाई जोड दिएर विविध कार्यक्रम गरेको जानकारी दिइन् । उनले ‘वुमन सिम्पोजियम’ कार्यक्रमले महिला शक्तिको पहिचान गरेर अघि बढ्न प्रेरित गरेको बताइन्े । हाल सम्म लायन्सले २२ सय जनालाई सशक्तिकरण तालिम दिएको उनको भनाई थियो ।
कार्यक्रम संयोजक अर्चना प्रधानले महिलाको अस्तित्व नस्विकारेसम्म समाज सुसभ्य र सुसस्कृत हुन नसक्ने बताइन् । कार्यक्रमका सहसंयोजक मिलन थापाले पोखराका विभिन्न क्षेत्रमा रहेका महिला र विभिन्न आमा समुहमा आवद्ध महिलालाई आफ्नो क्षेत्रमा अझै क्रियाशिल बनाउन महिला गोष्ठिको आयोजना गरेको बताइन्।
कार्यक्रममा पब्लिक रिलेशन अफिसर रिता पालिखे, लायन्स क्लव अफ सर्मपणका अध्यक्ष निर्मला श्रेष्ठ, रिजन चेयर पर्सन आभा जाेशी, कल्पना श्रेष्ठले लगायतकाले लायन्सका बारेमा बाेलेका थिए । कार्यक्रममा २ सय ५० जना महिलाको उपस्थिती रहेको थियो ।
तस्विरहरूः राधिका कँडेल