काठमाडौं । लक्ष्य नपुगेर छटपटिएका अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व बढाउन कच्चा पदार्थलाई पनि तयारी वस्तुकै सरह भन्सार लगाउन थालेका छन् ।
पुस मसान्तमा लक्ष्य भन्दा झण्डै ८३ अर्ब रुपैयाँ कम राजस्व उठेपछि अर्थमन्त्री खतिवडाले भन्सार विभागलाई केही कच्चा पदार्थमा तयारी सरह भन्सार उठाउन निर्देशन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको हो ।
अहिले खासगरी, पेन्टस्मा प्रयोग हुने इमल्सन ल्याउँदा ३० प्रतिशत भन्सार तिर्नुपर्छ । जबकी, कानुन अनुसार इमल्सन ल्याउँदा १५ प्रतिशत मात्रै भन्सार लाग्नुपर्ने हो ।
‘अर्थमन्त्री खतिवडाले राजस्वमा आपूmले ध्यान नदिने बरु देशमा उद्योगको विकास गर्ने तर्फ लागेको बताए पनि व्यवहारमा उल्टो गरेका छन्,’ मन्त्रालयका एक अधिकारीले क्यापिटल नेपाललाई भने, ‘अहिले इमल्सन बाहेक धेरै कच्चा पदार्थ आयात गर्दा तयारी सरह भन्सार तिर्नुपर्ने बाध्यता छ ।’
व्यापारीले तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर फरक–फरक होइन भनेर विभागका अधिकारीलाई सोध्दा माथिबाट एउटै दर लगाउन निर्देशन भएको बताउँदै आएका छन् ।
चालू आर्थिक वर्षमा पुस मसान्तमा लक्ष्यभन्दा धेरै कम राजस्व उठेपछि दबाब आएका अर्थमन्त्री खतिवडाले भन्सारमा आँखा लगाएका हुन् । कच्चा पदार्थलाई तयारी वस्तु सरह भन्सार लगाएपछि राजस्वको लक्ष्य पूरा हुने देखेपछि भन्सारतिर खतिवडाको ध्यान मोडिएको अर्थका अधिकारीहरु बताउँछन् ।
‘उद्योगीले विभिन्न कच्चा पदार्थ ल्याउँछन्, त्यही कच्चा पदार्थलाई तयारी सरह भन्सार लगाएपछि राजस्व पनि दोब्बर पुग्छ’ ती अधिकारीले भने, ‘अर्थमन्त्री खतिवडाको निर्देशनपछि झण्डै एक दर्जन वस्तुमा तयारी सरह भन्सार लगाइएको छ ।’
कानूनविपरीत भन्सार कर लगाएपछि धेरै सामान भन्सारमा आएर थन्किएको छ । ‘उद्योगका लागि चाहिने कच्चा पदार्थ पनि भन्सारमै थन्किएर बसेका छन्, तयारी वस्तु सहर भन्सार दाखिला गर्न आग्रह गरेको छ’ एक व्यापारीले भने, ‘कानून विपरीत भन्सार दाखिला गर्न भनेपछि सम्पूर्ण सामान भन्सारबाट पास गराएका छैनौं ।’
देशभित्र औद्योगिक वातावरण बनाउन लाग्छु भन्ने अर्थमन्त्री खतिवडा आफैले कच्चा पदार्थको भन्सार पनि तयारी सरह लगाउन निर्देशन दिएका हुन् । नेपालमा चलेका अधिकांश उत्पादनमुलक उद्योगले भारत तथा तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर तयारी सामान बनाइरहेका छन् ।
नेपालमा एक तहको भ्यालू एड हुने तथा रोजगारी सिर्जना हुने भएपछि तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर फरक फरक राखिएको हो । तर, अहिले अर्थमन्त्री खतिवडाले राजस्व उठाउनलाई कच्चा पदार्थलाई पनि तयारी सरह भन्सार लगाउन निर्देशन दिएका हुन् ।
भन्सार विभाग स्रोतका अनुसार केही कच्चा पदार्थमा तयारी वस्तु सरह भन्सार लिन माथिबाट निर्देशन आएपछि लिन सुरु गरिएको छ । वस्तुको नाम उल्लेख नगरौ, तर कच्चा पदार्थलाई तयारी सरह भन्सार लगाइएको भन्सारका अधिकारीहरुले स्वीकार गरेका छन् ।
‘सरकारले बनाएको नियमलाई हेरेर लगानीकर्ताले गर्ने हो । तर, मनलाग्दी रुपमा वा मन्त्रीले भनेकै भरमा नियम परिवर्तन गर्न मिल्छ,?’ एक उद्योगीले भने, ‘कच्चा पदार्थलाई तयारी वस्तु सरह भन्सार लगाउने हो भने पहिला कानुन संशोधन गर्नुपर्यो ।
त्यसपछि मात्रै लगाउन पाइन्छ । तर, मन लाग्दैमा जे पनि गर्न पाइँदैन् ।’अहिले वीरगन्ज, भैरहवालगायतका भन्सार कार्यालयहरुले केही कच्चा पदार्थमा तयारी वस्तु सरह भन्सार लगाएका छन् ।