काठमाडौं । काठमाडौं उपत्यकामा दोस्रो चक्रपथ अन्र्तगत कलङ्कीदेखि महाराजगन्जको सडक विस्तारमा ढिलाइ हुने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर), ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनीमार्फत हुने भनेपनि चीनमा फैलिएको नोबेल कारोरना भाइरस(कोभिड–१९) को प्रभावले ढिलाइ हुने भएको हो ।
आउँदो बैशाखदेखि सडकको बाँकी क्लियरेन्स सकेर चिनियाँ कम्पनीलाइ हस्तान्तरण गर्ने सडक विभागको कार्यतालिका थियो । तर, कोरोनाकै कारणले चिनिँया पक्षले सडक विस्तारको काम सुरु गर्न ढिलाइ गर्न सक्ने विभागले जनाएको छ ।
कोरोनाका प्रभावले सडक विस्तारमा असर पुगेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । ‘दोस्रो चक्रपथको कामलाइ पनि कोरोनाले ठूलो प्रभाव परेको छ’ उनले भने, ‘बैशाखमै चिनिँया पक्षलाइ हस्तान्तरण गर्ने लक्ष्य हो । चिनिँया पक्ष आयो भने ‘ह्यान्डओभर’ गर्छौ ।’
यता, सो सडक विस्तारका क्रममा नारायणगोपाल चोकको २ सय ४४ मिटर क्षेत्रमा ३५ ओटा ठूला भवन भत्काउनुपर्ने छ । ८ लेनमा विस्तार गर्न ३१÷३१ मिटर दायाँबाँया जग्गा अधिग्रहण गर्नुपर्छ । तर, त्यो काम अझै बाँकी छ ।
अधिकांश ठाउँमा बिजुलीका पोल तथा लाइन सार्न बाँकी छ । मेलम्ची खानेपानीका पाइप हटेका छैनन् । कलंकी–महाराजगन्ज चक्रपथ खण्ड विस्तार गर्न ६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सो खण्डका मुख्य—मुख्य क्षेत्रमा आकाशे पुल बन्नेछन् ।
चिनियाँ अनुदानमा दुई बर्षभित्र सम्पन्न हुनेगरी चिनियाँ पक्षलाइ सडक निर्माण गर्न जिम्मा दिइनेछ ।