काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । भीडभाड र कागजी नोटबाट कोरोना संक्रमणको संभावनालाई मध्यनजर गर्दे केन्द्रीय बैंकले विद्युतीय कारोबारको सीमा बढाएको हो ।
राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ क्यूआर कोडमार्फत प्रतिदिन गरिने भुक्तानीलाई दोब्बर बनाइएको जानकारी दिएका छे ।
यस अघिसम्म क्यूआर कोडबाट प्रतिदिन ५० हजार रुपैयाँसम्म मात्रै भुक्तानीको व्यवस्था थियो । तर, राष्ट्र बैंकले नयाँ परिपत्र जारी गर्दै त्यो सीमालाई बढाएर १ लाख रुपैयाँ पुर्याइएको छ । यसको अर्थ अब क्यूआर कोडको प्रयोग गरेर १ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने छ ।
त्यसैगरी, क्यूआर कोडको प्रयोगबाट प्रतिमहिना १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ । यस अघि २ लाख रुपैयाँ मात्रै भुक्तानी गर्न सकिन्थ्यो । इन्टरनेट बैंकको सीमालाई यथावत राखिएको छ ।
त्यसैगरी, मोबाइल वालेटबाट हुने कारोबारको सीमामा पनि हेरफेर गरिएको छ । वालेटबाट अन्य बैंकको खातामा प्रतिकारोबार २५ हजार रुपैयाँसम्म गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि दिनको कारोबार २५ हजार रुपैयाँ थियो ।
अब १ लाख रुपैयाँसम्म कारोबारसम्म खुला गरिएको छ । अहिलेको नयाँ व्यवस्था अनुसार १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ । यस अघि प्रतिदिन २५ हजार रुपैयाँ कारोबार गर्न पाइन्थ्यो । प्रतिदिनको कारोबार ४ गुणाले बढाइएको छ ।
त्यसैगरी एक वालेटबाट अर्को वालेटका सीमा पनि १ लाख रुपैयाँसम्म पुर्याइएको छ । अब वालेट टु वालेट प्रतिदिन १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ ।