काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उद्योगी/व्यवसायीले बैङ्क तथा वित्तीय संस्थालाई चैत मसान्तमा बुझाउनुपर्ने किस्ताको समयसीमा बढाएर असार मसान्तसम्म पुर्याएको छ ।
कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र डामाडोल हुने अवस्था आएपछि राष्ट्र बैङ्कले उद्योगी तथा व्यवसायीले कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने समयसीमा असार मसान्तसम्म पुर्याएको हो ।
कोरोना भाइरको महामारीले सिर्जना गरेको असहज परिस्थितीबाट देशको उद्योग व्यवसाय, पर्यटन र वित्तीय क्षेत्र असर गरेकाले सहुलियत उपलब्ध गराएको केन्द्रीय बैंकले जनाएको छ ।
सर्कुलर हेर्न यहाँ क्लिक गर्नुहोस ।
राष्ट्र बैङ्ककोले बैङ्क तथा वित्तीय संस्थालाई आइतबार १९ बुँदे निर्देशन जारी गर्दै तीन महिनासम्म साँवा ब्याज बुझाउने समय तोकेको छ । यदि यो निर्देशन नआएको भए उद्योगी/व्यवसायीले चैत मसान्तमा किस्ता, साँवा र ब्याज बुझाउनुपर्ने थियो । अब २०७७ असार मसान्तसम्म तिरे हुन्छ ।
सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाइने राष्ट्र बैङ्क बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । उद्योगी व्यवसायीले पटक पटक चैत मसान्तको सीमालाई बढाउन आग्रह गरेका थिए ।
देशको अर्थतन्त्र कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भए पनि उनीहरुले सरकारसँग यस्तो माग गरेको थिए । केही दिन अघि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बसेको बैंक तथा वित्तीय संस्था समन्वय समितको बैठकले कर्जाको साँवा र ब्याज बुझाउने समय बढाउन राष्ट्र बैङ्कलाई भनेको थियो ।
त्यसैगरी, ऋणीले चैत मसान्तमा साँवा ब्याज भुक्तानी गर्न आएमा उनीहरुलाई १० प्रतिशत छुट दिन बैंकलाई राष्ट्रबैंकले निर्देशन दिएको छ । ब्याज छुट दिंदा आधारदर भन्दा कम गर्न पाइने छैन ।
समयमा कर्जा नबुझाउने ऋणीमाथि थप शुल्क र हर्जना लगाउन नपाइने ढकालले जानकारी दिए । किस्ता असुल नभएका कारणले कर्जालाई तल्लो तहमा वर्गिकरण गर्न नपर्ने उनले स्पष्टपारे । चैतभित्र कर्जा नविकरण नभएका आधारमा त्यस्ता ऋणको सुक्ष्म निगरानी गर्न नपर्ने भएको छ ।
चैतभित्र कर्जा र सोको साँवा र ब्याज नबुझाए पर्यटन र यातायात व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट पुस मसान्तमा भुत्तानी गरेका आधारमा पुनः कर्जा पाउने भएका छन ।
यदी यी व्यवसायीले कर्जा माग गरेमा ५ कार्य दिनभित्र कर्जा दिनुपर्ने छ । कर्जाको सेवा शुल्क ०.२५ प्रतिशत भन्दा बढी लिन नपाइने व्यवस्था निर्देशनमा उल्लेख छ ।