बागलुङ । मुलुकबाट औपचारिक रुपमा लोडसेडिङ हटेको तीन वर्ष भैसक्यो तर गण्डकी प्रदेशको बागलुङमा २ वर्षदेखि सहज विद्युत आपूर्ति छैन ।
बागलुङमा २ वर्षदेखि दैनिक विद्युत जाने समस्याले स्थानियवासीहरुले हैरानी खेपेका छन् । दैनिक १० पटकभन्दा बढि विद्युत जाने समस्याले बागलुङबासीको दैनिकी नै समस्यामा परेको छ ।
बागलुङका स्थानियहरुले नेपाल विद्युत प्राधिकरण बागलुङमा विद्युत जानेवित्तिकै गुनासो गर्ने गर्छन् तर विद्युत कार्यालयका कर्मचारीहरुले माथीको समस्या भन्दै फोन राखिदिने गर्छन् । यो शिलशिला पनि २ वर्षदेखि नै चलिरहेको छ ।
‘घाम लाग्दालाग्दै बादल देखिन थाल्यो भने पनि बागलुङमा विद्युत जाने गर्छ । बुधबार मध्यान्ह १२ बजे घाम लाग्दासमेत विद्युत गयो । मंगलबार मात्र विहानदेखि बेलुकासम्म दर्जन पटक विद्युत जाने आउने गरिनै रह्यो,’ स्थानिय व्यवसायी सुवास श्रेष्ठले भने ।
मंगलबार र बुधबारमात्र होइन विगत २ वर्षदेखि नै विद्युतको यो समस्यामा बानी पारिरहेका छन् बागलुबासीहरुले ।
होटल पिस प्यालेस बागलुङका सञ्चालक निलेश राजभण्डारीले अहिले दैनिक १० पटक विद्युत जानु पनि कम भएको बताउँछन् । ‘दुई वर्षअगाडि यो समस्या झन बढि थियो, अहिले १० पटकसम्म जान्छ भनेर चित्त बुझाउनुपरेको छ,’ उनले भने । विद्युत जाने आउने समस्याले होटलको पानी तान्ने मोटर, कम्प्युटर, एसीहरुसमेत बिग्रिएरहेका छन् । यो एउटा होटलको मात्र होइन धेरै होटलको समस्या भएको उनी बताउँछन् ।
बागलुङका अधिवक्ता तथा सामाजिक अभियन्ता राम शर्माले विद्युत आपूर्तिको समस्याले साना उद्योगदेखि कामकाजी सबैलाई समस्या परेको बताउँछन् । ‘सहज विद्युत आपूर्तिका लागि पटक पटक कुरा गरेको भएपनि माथीको लाइन र पर्वतको मोदीस्थित स्टेशनका कारण विद्युत जाने आउने समस्या भएको विद्युत प्राधिकरणले जवाफ दिने गरेको छ,’ उनले भने ।
नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख शिवनारायण गोशलीले हावाहुरि, चट्याङ पर्ने समस्याले बागलुङमा विद्युत जाने आउने समस्या भैरहेको बताए । ‘अहिले मौसमका कारण पनि विद्युत अवरोध भैरहेको छ, निरन्तर पानी परेको छ, हावाहुरि चलेको छ त्यसैले विद्युत जाने आउने भैरहेको हो,’ उनले भने ।
३३ केभीएको लाइनबाट धवलागिरिको चार जिल्लामा विद्युत वितरण भैरहेको छ, कुनै ठाउँमा केहि भए सबै ठाउँमा समस्या हुने उनले बताए । म्याग्दीको दाना सवस्टेशनमा २२० केभीए क्षमताको लाइन निर्माण भैरहेकाले त्यो बनेपछि समस्या समाधान हुने गोशलीले बताए ।