धनगढी । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिमका सबै स्वास्थ्य कार्यालयलाई पाँच दिनसम्म कोरोना परीक्षणका लागि स्वाब लिने काम स्थगित गर्न निर्देशन दिएपछि कैलालीका स्थानीय तहमा क्वारेन्टाइन व्यवस्थापनमा थप समस्या भएको छ ।
स्थानीय तहमा दैनिक सयौँ नागरिक क्वारेन्टाइनमा थपिँदै जाँदा कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या भएको छ । “स्वास्थ्य निर्देशनालयले स्वाब नपठाउन निर्देशन दिन्छ, भएका क्वारेन्टाइन भरिँदै गएका छन्, दैनिक सयौँ नागरिक थपिन थालेका छन्”, टीकापुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावल भन्छन्, “पाँच दिनसम्म परीक्षण रोकिए १४ दिन पुगिसकेकालाई पनि क्वारेन्टाइनमै राख्नुपर्ने हुन्छ, धान्न सकिन्न ।”
टीकापुर नगरपालिकाबाट मात्रै सुदूरपश्चिम प्रयोशालामा ५०४ स्वाबका नमूना परीक्षणका क्रममा रहेका छन् । “१४ दिन क्वारेन्टाइनमा बसिसकेका २०० जनाको स्वाब पठाउनुपर्ने छ”, संयोजक रावलले भने, “निर्देशनालयको निर्देशनले अब क्वारेन्टाइनमा बस्नेहरुको चाप बढ्ने देखिएको छ ।”
स्वास्थ्य निर्देशनालयको निर्देशनअनुसार नै जाँदा अबको पाँच दिनपछि टीकापुरबाट १४ दिन क्वारेन्टाइनमा बसिसकेका स्वाब परीक्षण गर्नुपर्नेको सङ्ख्या ७०० पुग्ने अनुमान छ । हाल टीकापुरका क्वारेन्टाइनमा एक हजार ५०० बसिरहेका छन् । टीकापुरमा क्वारेन्टिन बसाइपछि स्वास्थ्य परीक्षण गरेर २९६ जना घर फर्किएका छन् । अहिले भारत र नेपालकै विभिन्न जिल्लाबाट घर फर्किने दैनिक करिब २०० छन् । भारतले एकतर्फी रेलको टिकट काट्न शुरु गरेकाले अबको दुई सातामा यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
कैलालीकै अर्को लम्कीचुहा नगरपालिकाबाट पनि अहिले सङ्कलन गरी प्रयोगशालामा ८९ स्वाबका नमूना परीक्षणको लाइनमा छन् । हाल दुई हजार २१७ जनालाई क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको लम्कीचुहा नगरपालिकाले स्वास्थ्य निर्देशनालयले स्वाब पठाउन पाँच दिन बन्द गरेपछि आरडिटी गरेर नेगेटिभ देखिनेलाई होम क्वारेन्टिनमा पठाउने गरी काम गर्न लागेको स्वास्थ्य शाखा प्रमुख जयन्ती विष्टले बताइन् । लम्कीचुहामा पनि दैनिक २०० का दरले नागरिक भित्रिरहेका छन् । कैलालीकै जानकी गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ६७५ जना छन् । जानकीले प्रत्येक वडामा क्वारेन्टाइन राखेको छ । रासस