जापानको कमाइ, नेपालमा लगानी 

account_box सुवास याेञ्जन ,
प्रकाशित: २०७७ असार ९, मङ्गलबार,०५:५७:PM  
जापानको कमाइ, नेपालमा लगानी 

काठमाडौं । सफलता छोटो समय मिहिनेत गरेर पाइने ‘जादूको छडी’ होइन । त्यसका लागि लगनशील, सिर्जनशील र धैर्यजस्ता मानवीय गुण चाहिन्छन् । यिनै गुणका साथ जीवनमा आउने उतार चढावलाई सामना गर्दै अघि बढ्नेहरु   सफलताको शिखरमा पुगेका धेरै उदाहरण छन् । त्यस्तै कडा मिहिनेत, नयाँ सोच र आफूसँग भएको व्यावसायिक आँटका कारण सफलता प्राप्त गरिरहेका बाग्लुङका एक व्यवसायी हुन्– प्रवेशराज भण्डारी । 

पाँच दशकको उमेर कटेका भण्डारीले विदेशी भूमिमा रेस्टुरेन्टको भाँडा माझ्ने कामदारदेखि मालिकससम्मको अनुभव बटुलिसकेका छन् । जवानी उमेरमै ‘भिजिट भिसा’मा जापान हानिएका उनी  झन्डै २७ वर्ष बिताएर धेरै अनुभव प्राप्त गरेको बताउँछन् । 

झन्डै तीन दशक जापानमा बिताएपछि मातृभूमिमै बाँकी जीवन बिताउने उद्देश्यले अहिले नेपाल फर्किएका भण्डारी स्वेदशमै केही जापानको अनुभवलाई तिखार्ने तयारी गरिरहेका छन् । उनी भन्छन्, ‘जापान छाडिहालेको पनि हैन । तर, धेरै समय नेपालमै बस्छु ।’ जापानको व्यवसाय पनि चलिरहेका कारण कहिलेकाही“ उता जानुपर्ने उनको बाध्यता छ । नेपालमै सबै नेपालीको पहुँच हुने  सुविधासम्पन्न रिसोर्ट सञ्चालन गर्ने सोचका साथ नयाँ योजना बनाउन व्यस्त छन् भण्डारी । नेपालका विभिन्न स्थानमा स्तरीय रिसोर्ट सञ्चालन गरेर आफ्नो बाँकी जीवन यही“ बिताउने योजना उनको छ । 

भिजिट भिसामा जापानको यात्रा 

अहिले पनि नेपालीका लागि जापान सजिलो गन्तव्य होइन । अझ २७ वर्षअघि त जापानको भिसा पाउन झनै कठिन थियो । तर, उनलाई भाग्यले साथ दियो र जापान घुम्न जाने १५ दिनको भिसा प्राप्त गरे । हङकङ हु“दै जापान पुगेका थिए उनी । तर, आफूभन्दा अघिल्लो समूहका धेरै नेपालीलाई जापान छिर्नै नदिएर फर्काएको देखेपछि उनलाई पनि फर्किनुपर्छ कि भन्ने डर थियो । उनलाई भाग्यले यहाँ पनि साथ दियो र कुनै कठिनाइबिना सहजै जापानी भूमि टेक्न पाए । 

जापानमा १५ दिनको भिसा सकिएपछि उनी नेपाल फर्किएनन् । बल्लबल्ल जापान छिर्न पाएपछि त्यतै केही कमाइ गर्ने सोच पलाउनु स्वभाविक थियो । धेरै नेपालीको सपनाको देशमा पुगेर कमाइ नगरी फर्कनु मूर्खता हुन्छ जस्तो लाग्यो, उनलाई । सोही कारण केही समय लुकेर बसी काम गर्ने र पैसा कमाउने ध्याउन्नमा लागे । तर, आफूसँग खासै सीप नभएको र  जापानी भाषाको पनि समस्या भएका कारण उनले सुरुवाती काम रेस्टुरेन्टको भाँडा माझ्ने पाए । भिसा सकिएका कारण लुकेर बस्नुपर्ने तथा भाषा पनि नबुझ्ने भएकाले सुरुवाती समय धेरै दुःख भोग्नु परेको उनी सुनाउँछन् । 

जापानी अझै पनि अंग्रेजी भाषा सकेसम्म प्रयोग गर्दैनन् । त्यतिबेला त अंग्रेजी बोल्ने जापानी पाउन पनि मुस्किल हुन्थ्यो, आफूले बोल्ने नेपाली भाषा त झन् बुझ्ने कुरै भएन । जापान पुगेको करिब डेढ महिनापछि रेस्टुरेन्टमा काम पाएको सम्झना अझै पनि उनको मस्तिष्कमा ताजै छ । लुकेरै बसेको अवस्थामा काम खोज्दै जाँदा टोकियोको रोपङ्गी रेस्टुरेन्टमा अंग्रेजी अक्षरमा इन्डियन रेस्टुरेन्ट लेखिएको भेटाए उनले ।

भाषा नबुझ्ने बिरानो देशमा छिमेकी देशको रेस्टुरेन्ट देख्दा उनलाई नेपाली नै भेटेजस्तो खुसी लाग्यो । त्यसपछि केही सोच्दै नसोची उनी इन्डियन रेस्टुरेन्टमा पुगे । १८ तला माथि रहेको रेस्टुरेन्टमा पुग्दा उनलाई पहिला त ग्राहक सम्झेर टाबेल र बुगी दिएर स्वागत गरे । तर, उनी त त्यहाँँ काम खोज्न गएका थिए । मेनु ल्याएर देखाउने वेटरलाई उनले भने ‘म त यहाँ काम पो खोज्न आएको हुँ, खान होइन ।’ यो कुरा सुन्दा रेस्टुरेन्टका कामदार केही अकमक्क परे । त्यतिबेला आफूलाई पनि निकै असहज लागेको उनी बताउँछन् ।

त्यहाँ पनि भण्डारीलाई पुनः भाग्यले साथ दियो । उनलाई मेनु ल्याइदिने र आफू काम खोज्न आएको बताएको व्यक्ति रेस्टुरेन्टका म्यानेजर नै रहेछन् । ‘भाग्यकै कुरा भन्नुपर्छ, मलाई सोध्ने व्यक्ति त्यहाँको म्यानेजर पर्नुभएछ,’ उनले भने । 

म्यानेजरले आफ्नो आग्रह सुनेपछि तत्काल नभए पनि शनिबार ३ घन्टाका लागि भा“डा माझ्ने काम छ, गर्छौ भने आऊ भनेर उनलाई ‘ग्रिन सिग्नल’ दिएछन् । काम नपाएर चिन्तित भएका उनलाई सो प्रस्ताव गर्ने म्यानेजर भगवान् सरह नै लागेको थियो । किनकि, उनले नेपालबाट लगेको पैसा सकिइसकेको थियो । र, अब के गर्ने भन्ने चिन्तामा थिए उनी। त्यसपछि शनिबार ३ घण्टा काम गरेर निस्कने बेला त्यहाँको सेफले काम मन पराएर त्यही राख्ने प्रस्ताव म्यानेजरलाई राखे ।

‘३ घन्टाको कामले प्रभावित भएपछि मलाई रेस्टुरेन्टले नियमित भाँडा माझ्ने काममा राख्यो,’ उनले भने । रेस्टुरेन्टमा नियमित भाँडा मात्रै माझेर बस्दा सिसा फुटेर हात काट्नेदेखि विभिन्न किसिमका खटिरा आउँथे । तर, त्यसलाई पनि सहज रुपमा लिएर उनले थप मिहिनेत गर्दै गए । लगनशील र मिहिनेती भएकै कारण भाँडा माझ्ने कामबाट स्तरोन्नति हँुदै हलको जिम्मेवार पाए । त्यसपछि क्याप्टेन हँुदै बाहिर जाने कामसमेत गरे । एकै ठाउँ गरेर नहुने देखेपछि उनले अन्यत्र पनि काम सुरु गरे । 

भाँडा माझ्न छिरेको व्यक्ति विभिन्न रेस्टुरेन्टको म्यानेजर हुने मौका पनि पाए । उनले इटालियन, फ्रेन्च रेस्टुरेन्टदेखि फ्याक्ट्रीमा समेत काम गर्न भ्याए । 

पाँच वर्षमा रेस्टुरेन्टको मालिक 

विभिन्न रेस्टुरेन्टमा काम गरिरहँदा अब आफै“ले केही गर्नुपर्छ भन्ने सोच उनमा आउन लाग्यो । टोकियो फर्केर आफ्नै रेस्टुरेन्ट सुरु गर्न थाले । कडा मिहिनेत तथा लगनशीलताले भा“डा माझ्ने व्यक्तिलाई जापान पुगेको पाँच वर्षमै रेस्टुरेन्टको मालिक बनायो । सुरुआतमा भारतीय ग्राहकलाई लक्षित गरेर  रेस्टुरेन्टमा इन्डियन करी र नान राख्ने विचार गरे । आफ्नो रेस्टुरेन्टमा काम गर्ने   कर्मचारी पनि सबै नेपाली राखेका थिए । तर, यसपटक भने उनलाई भाग्यले साथ दिएन । सोचेअनुसार रेस्टुरेन्ट चलेन । कर्मचारीलाई तलब खुवाउनदेखि भाडा तिर्नसमेत धौधौ भयो । लगानी डुब्न थालेपछि काठमाडौ“को नयाँ बानेश्वरमा बनाएको १ तलाको घर बिक्री गर्नुप¥यो ।  घर बेचेको पैसाले ऋण तिरेर अझै केही पैसा बचेको थियो ।

बाँकी पैसाले फेरि नयाँ ठाउँमा रेस्टुरेन्ट सञ्चालन गर्ने सोच पलायो । त्यतिबेला पहिलाको रेस्टुरेन्ट पनि उनले बचेका थिएनन् । तर, कुन कारणले नचलेको जान्न भने उनलाई मन लाग्यो ।   

अर्को रेस्टुरेन्ट रातको समय चल्छ कि भन्ने सोचाइ बनाए । सोहीअनुसार बिहान नखोलेर सा“झ ६ देखि बिहान ६ बजेसम्म रेस्टुरेन्ट चलाए । यो आइडिया पनि फेल खायो । दुइटा रेस्टुरेन्ट नचलेपछि भने उनी धेरै तनावमा परे तर हार खाएनन् । त्यही रेस्टुरेन्टमा केही नया“ काम गर्ने सोचका साथ फरक मेन्यु तयार पारेर नाम दिए, महाराजा सेट । त्यसमा ३ वटा करी, दही, नान आधा, एल्लो राइस आधा राख्ने र यो सेट अर्डर गर्नेलाई नेपाली मादल बजाएर लोकगीत सुनाउने आइडिया ल्याए । जसले त्यो सेट अर्डर गर्छ, सो ग्राहकको नजिक गएर मादल बजाउने र गीत गाउने काम सुरु भयो । 

उनको यो आइडियाले भने राम्रो मार्केट लियो । जापानमा मादलको साथमा गीत सुन्न पाउँदा सबैलाई नयाँ अनुभव हुने भयो । यसले महाराजा सेट खान आउने ग्राहकको भीड बढ्न थाल्यो । मादल र महाराजा सेटले पहिला घाटामा गएर सबै रकम असुल मात्रै गरेन, सफलताको नयाँ ढोका नै उघारिदियो ।  एउटा आइडियाको सफलताबाट उक्लि“दै गर्दा एकपछि अर्को गरेर जापानमा मात्रै १४ वटा रेस्टुरेन्ट खोल्न भ्याए ।

पछिल्लो समय जापानको अर्थतन्त्रमा केही धक्का लागेकाले त्यहा“को लगानी नेपालमै स्थान्तरण गर्न थाले । जापानको सफलताले उनलाई नेपालमा पनि रेस्टुरेन्ट खोल्ने इच्छा जगायो । सोही सोचअनुसार आजभन्दा करिब १३ वर्षअगाडि काठमाडा“ैमा पानस रेस्टुरेन्ट खोले । यो रेस्टुरेन्ट अहिले पनि सफलताका साथ चलिरहेको छ । आवश्यक कुक, कामदारलाई पनि नेपालमा तालिम गराएर उनले जापान लगेका छन् । जापानमा अहिले उनको रेस्टुरेन्ट दुइटा मात्रै छन् । 

रेस्टुरेन्ट चलाउनुअघि भण्डारीको मनमा नेपाली फिल्म बनाउने सोच पनि पलाएको थियो । त्यसबेला फिल्मको राम्रो बजार थियो । न्युरोडको एक रेस्टुरेन्टमा केही कलाकार जम्मा गएर फिल्म निर्माणका लागि छलफलसमेत गरे । आधा नेपाल र आधा जापानमा सुटिङ गर्ने योजना थियो । तर, त्यही“ समय  सन्तोष पन्तको टेलिशृंखला हिजोआजका कुरामा फिल्म निर्देशकले सुटिङ गर्दै बीचमा छाड्दै गरेको व्यंग्यात्मक प्रस्तुति देखेपछि उनको मनमा पहिरो गयो । फिल्म क्षेत्रको जानकारी नभएको आफूलाई पनि यस्तै हुन्छ कि भन्ने डर भयो । अनि, त्यो सोचलाई बीचैमा छाडेर जापान फर्किए । 

जापानमा नेपाली परिकार उपलब्ध गराएर रेस्टुरेन्ट खोल्ने उनी तेस्रो व्यक्ति थिए । उनीभन्दा पहिला नै एक नेपाली र नेपाली श्रीमान्÷जापानी श्रीमतीको जोडीले रेस्टुरेन्ट सञ्चालन गरेका थिए । जापानमा भगवान् बुद्धको देश भनेर चिनाउन पनि उनले आफ्नो रेस्टुरेन्टको नाम लुम्बिनी राखे । 

अबको योजना

अहिले भण्डारीले काठमाडौ“मा पानस, पोखराको कालिकामा हेभन रिसोर्ट सञ्चालन गरिरहेका छन् । त्यस्तै, पोखराकै लेकसाइडमा पानस रेस्टुरेन्ट चलाइरहेका छन् । गोजी टुर्स एन्ड ट्राभलमार्फत देशका प्रमुख धार्मिक स्थलमा रिसोर्ट सञ्चालन गर्ने योजना छ, उनको ।

सन् २०२२ भित्र लुम्बिनी, कुस्मा, मुस्ताङ, इलाम, कालिञ्चोक र दामनलगायत स्थानमा रिसोर्ट सञ्चालन गर्ने उनले बताए । विशेषगरी आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो र गुणस्तर सेवा दिन रेस्टुरेन्ट सञ्चालन गर्ने उनको भनाइ छ । उनका अनुसार त्यस्ता रिसोर्टमा २ हजार रुपैयाँमा १ रातको प्याकेज उपलब्ध हुनेछ । 
 

सुवास याेञ्जन

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top