काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेड साउनको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । कम्पनीले ‘बल्कमा’ सेयर कारोबार गर्ने छ ।
स्टक डिलर सञ्चालनमा ल्याउन अहिले तिब्र गतिमा काम भइरहेको संस्थापक लगानीकर्ता नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले बताए । छिटोमा साउनको पहिलो साता नभए दोस्रो सातासम्म स्टक डिलरले सेयर कारोबार सुरु गरिसक्ने नेपालले स्पष्टपारे ।
धितोपत्र बोर्डले अनुमति लिन आउन नागरिक स्टक डिलरलाई बोलायो
नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया अघि बढेको र कम्पनी सञ्चालनका लागि कर्मचारीलाई तालिमका साथै सफ्टवयेर जडानको काम सुरु हुन लागेको उनले जानकारी दिए ।
धितोपत्र बोर्डले स्टक डिलर सञ्चालनका लागि अनुमति लिन बोलाएको छ । बोर्डले मुख्य सञ्चालक नागरिक लगानी कोषलाई पत्राचार गरी स्टक डिलरको काम अघि बढाउन निर्देशन समेत दिएको छ ।
‘बल्क’मा सेयर कारोबार गर्न नागरिक स्टक डिलर कम्पनी दर्ता, छिट्टै सञ्चालनमा आउने
पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन र पूँजी बजारलाई थप गतिशिल बनाउन स्टक डिलर सञ्चालनमा आउनु पर्ने बोर्डको भनाई छ ।
स्टक डिलरमा नागरिक लगानी कोष, राष्ट्रिय पुर्नबीमा कम्पनी लिमिटेड र नेपाल टेलिकमको संयुक्त लगानी छ । कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ छ ।
टेलिकमले कम्पनीमा ४५ करोड रुपैयाँ लगानी गरेको छ । पुर्नबीमाले ५० करोड रुपैयाँ सेयर लगानी गर्ने छ । ५ अर्ब रुपैयाँ चुक्तापुँजी हुने कम्पनीमा २ अर्ब ५५ करोड रुपैयाँ कोषको लगानी हुने छ ।
संस्थापक सेयरधनीबाट ‘बास्केट फण्ड’ बनाएर स्टक डिलरले सेयर बजारमा लगानी गर्ने छ । स्टक डिलर कम्पनीले लगानी कोषको ‘पोर्टफोलियो’ समेत व्यवस्थापन गर्ने छ । सेयर बजारमा अस्वस्थ प्रतिस्पर्धा नहोस, माग र आपूर्तिको सन्तुलन स्टल डिलरले कायम गर्ने अपेक्षा छ ।
कोषका अनुसार स्टक डिलरको माध्यमबाट ‘बल्क’मा सेयर खरिद बिक्री गर्न सकिनेछ । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने सेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।
पहिले लगानी कोषले मात्र छुट्टै सहायक कम्पनी स्थापना गरेर सेक्युरिटिज डिलरसिप तथा बजार निर्माताको काम अघि बढाउने तयारी गरिरहेको थियो । तर, कोषमा सञ्चित रहेको रकमले बजारमा पर्याप्त लगानी थप गर्न नसक्ने भएपछि अन्य निकायहरूसँग पनि समन्वय गरेर डिलरसिपको काम गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
हाल सेयर बजारमा ५० ओटा ब्रोकर कम्पनीहरु सञ्चालनमा छन । १९ ओटा वाणिज्य बैंकहरुले पनि सेयर ब्रोकरको लाइसेन्स लिने तयारीमा रहेका छन । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने सेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।