काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३७.९३ अंकको सुधार देखिएको छ । मंगलबारको कारोबारको बीचबीचमा सामान्य उतारचढाव देखिएपनि अन्तिममा भने २.९२ प्रतिसतले बजार उकालो चढेको छ ।
बजारमा क्रियासिल सबै उपसूचकहरुमा वृद्धि देखिएको छ । कोरोना कहरमा मुलुक रुमल्लिएका बेला नेपालको सेयर बजारमा भने सुधारका संकेत देखिएका छन् । यद्यपी सुधारले निरन्तरता दिन्छ÷दिँदैन त्यो परको कुरा हो । तर, तत्कालका लागि भने बजारले लगानीकर्तालाई उत्साहित बनाएको छ ।
चैत ११ गतेदेखी बन्द भएको बजार असार १५ बाट नियमित कारोबार भईरहेको छ । त्यसो त बन्दाबन्दी (लकडाउन)कै बीचमा पनि २ दिन वैशाख ३० र ३१ गते कारोबार हुँदा करीव नेप्से सूचकमा करीव ५० अंकको गिरावट आएर १२०१ विन्दुमा कारोबार बन्द भएको थियो ।
व्यवसायहरु सबै विग्रिएका छन् । हरेक क्षेत्रका कारोबारमा दरार पैदा भएको छ । तर, सेयर बजारमा भने नाटकीय परिवर्तन देखिएको छ । लामो समयदेखी कुनै पनि काराबोर नभएको र अझै लामो समय कारोबार हुने छाँटकाँट नदेखिएको होटल क्षेत्रमा समेत बजारले सकारात्मक सन्देश दिएको छ । मंगलबार मात्रै ओरियन्टल होटलको सेयर मूल्यमा १० प्रतिसतले बृद्धि भएको छ ।
सुरुका २÷३ दिन निकै नै उतारचढाव देखिएको बजार त्यसपछि भने सम्हालिँदै अगाडी बढिरहेको छ । कारोबार सुरु भएको पहिलो दिन असार १५ मा करीव १२ अंकको गिरावट देखिएको नेप्से सूचकमा त्यसपछि ६ दिनको कारोबारमध्ये एक दिनको कारोबारमा मात्रै गिरावट आएको छ । यद्यपी बजार सूचक ५ दिनअघिको अवस्थामा पुगेको छ र नेप्सेले ‘यु’ बनाएको छ ।
लकडाउनपछि कारोबार सुरु भएको अवस्थामा बजारमा कारोबार रकम उल्लेख्य नदेखिएपनि विस्तारै बढ्दै भने गएको छ । यसले बजारमा लगानीकर्ताको चाप छ भन्ने पनि देखाउँछ । मंगलबार मात्रै १ अर्व २१ करोड २४ लाख २६ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आर्थिक वर्ष २०७६÷७७ को समाप्ति नजिकिईरहेका बेला सेयर बजारले आफ्नो उच्च बनाई राख्न हरदम कोशिष गर्ने देखिन्छ । असार मसान्तमा हुने ‘सेयर मूल्य’ले सेयर धितोमा ऋण लिने ऋणीहरुलाई राहत÷आहत दिने गर्छ ।
त्यति मात्र होइन अन्यत्रको ऋणको सावाँव्याज चुक्ता गर्ने प्रयोजन र साउन सुरु हुनासाथ कम्पनीहरुबाट लाभांस आउन थाल्ने भएकाले पनि केही लगानीकर्ता यही बेलामा बजार प्रवेश गरेर नयाँ सेयर किन्ने गरेको पाईन्छ । त्यसले गर्दा सेयरको माग र आपूर्तिमा सकारात्मक प्रभाव पार्ने गर्छ । अर्कोतिर मौद्रिक नीतिको संघारमा रहेको र राष्ट्र बैंकको उच्च व्यवस्थापनले लगानीकर्तालाई निरास हुने गरी मौद्रिक नीति नआउने बताईरहेकाले बजारमा सरकारात्मक प्रभाव पारेको मान्न सकिन्छ ।
मंगलबार मात्रै संघीय संसदको अर्थ समितिमा गठित उपसमितिले बैंकहरुलाई पनि धितोपत्र दलाल व्यवसायीको रुपमा काम गर्न अनुमति (ब्रोकर लाईसेन्स) दिन सिफारिस गरेको छ । यसअघि ब्रोकरका रुपमा काम गर्न भनेर सहायक कम्पनी खोलेर बसेका बैंकहरु समितिले निर्णय नगर्दा नियामक धितोपत्र बोर्डले कार्यान्वयन गर्न सकेको थिएन । यसबाट धितोपत्र दलालहरुको आधिपतय समाप्त हुने भएकाले पनि लगानीकर्ता बढी आसावादी देखिन्छन् ।
त्यति मात्र होइन समितिले धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीहरुले साधारण सेयर (आईपीओ) पनि भर्न नपाउने र यसअघिको सेयर भए स्वघोषणा गरि देखाउनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरि संसदीय उपसमितिले पुँजीबजारबाट छिटो कमाउने प्रबृत्ति रोक्न छुट्टाछुट्टै दरको पुँजीगत लाभकर व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
त्यस्तै धितोपत्र दलाल व्यवसायीहरु एकीकृत हुन चाहेमा मर्जरको बाटो पनि खुला गरेको छ । यसले बजारलाई थप व्यवस्थित बनाउन सहज हुनेछ । त्यसैगरि मार्केट मेकरको काम गर्न नागरिक लगानी कोषको अग्रसरतामा नागरिक स्टक डिलर नामक कम्पनी खडा भएको छ । यसले सेयर बजारलाई अझ व्यवस्थित र पारदर्सी बनाउन सहयोग पु¥याउने अपेक्षा छ ।
बैंकहरुले व्याजदरलाई क्रमसः घटाउँदै लगिरेहका छन् । त्यसको प्रभाव पनि बजारमा परेको छ । त्यति मात्र होइन लकडाउनका कारण अन्य क्षेत्रहरुको कारोबारमा संकुचन आएकाले पनि धेरैको ध्यान सेयर बजारतिर तानिएको छ ।
विश्वमा नै कोरोनाले आक्रान्त भएका बेला सेयर बजार गति लिएको पाईन्छ । त्यसको प्रभाव नेपालमा पनि पर्नु अन्यथा होइन । तर, लगानीकर्ताले कम्पनी छनोट गर्दा विशेष सावधानी अपनाउने र लगानीलाई विविधिकरण गर्न भने भुल्नु हुँदैन ।