काठमाडौं । देशभित्र आत्मनिर्भर भएका उत्पादनको पहिचान गर्न उद्योग मन्त्रालयले गृहकार्य थालेको छ । कति उत्पादनमा देश पूर्ण रुपमा आत्मनिर्भर भएको भन्ने एकिंन तथ्यांक निकाल्न उद्योग मन्त्रालय जुटेको उद्योग सचिव चन्द्र घिमिरेले बताए ।
‘उद्योगी/व्यवसायी तथा सरकारले धेरै उत्पादनमा देश आत्मनिर्भर भएको भनिरहेको अवस्था छ । तर, अहिलेसम्म तथ्यांक छैन्,’ उद्योग सचिव घिमिरेले भने, ‘त्यही भएर आत्मनिर्भर भएका वस्तुको पहिचान गर्न मन्त्रालयले आवश्यक तयारी थालेको हो ।’
मन्त्रालयले सतप्रतिशत आत्मनिर्भर र ५० प्रतिशत आत्मनिर्भर भएका वस्तुको सूची बनाउन लागेको सचिव घिमिरेले जानकारी दिए । कुन वस्तुमा देश पूर्ण रुपमा आत्मनिर्भर छ, कुन वस्तुमा ५० प्रतिशत भन्दा बढी आत्मनिर्भर छ भन्ने कुराको ययार्थ जानकारी लिन खोलिएको उनले बताए ।
अहिले मन्त्रालयले २०/२१ ओटा वस्तुहरु पहिचान गरेको छ । त्यसमध्ये कुन कुनमा पूर्ण रुपमा आत्मनिर्भर हुन सकिन्छ, कति वस्तुमा आत्मनिर्भर भइसक्यौं, कुन कुन वस्तुमा के के गर्यो भने आत्मनिर्भर हुन सकिन्छ र आत्मनिर्भर हुन के गर्नुपर्छ भन्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको उनले जानकारी दिए ।
५० प्रतिशत भन्दा आत्मनिर्भर भइसकेका छौं । बाँकी उत्पादन बढाउनका लागि सरकारले के गर्नुपर्छ भन्ने पहिचान गर्नका लागि छलफल भइरहेको उनको भनाइ छ । मन्त्रालयले अहिले वस्तुगत संघका साथै यो क्षेत्रका विज्ञलाई बोलाएर यस विषयमा छलफल गरिरहेको छ ।
नेपाल उद्याेग परिसंघले आत्मनिर्भर भइसकेका दर्जन बढी उत्पादनले नेपालको अर्थतन्त्रमा कति योगदान गरेको छ ? ती वस्तुको बार्षिक उत्पादन कति छ ? कति सङ्ख्यामा रोजगारी पाएका छन् ? त्यो क्षेत्रको समस्या के के हुन भन्ने विषयमा समेत सीएनआईले अध्ययन गरिरहेको छ । उक्त अध्ययन सकेपछि अर्थमन्त्रालयलाई बुझाउने तयारी छ ।
आत्मनिर्भर भएका वस्तुको उत्पादन कति छ र माग कति छ, त्यसलाई हेरिएको घिमिरेले जानकारी दिए । माग अनुसारको आपूर्ति स्वदेशी उत्पादनबाटै भइरहेको रहेछ भने त्यसलाई पूर्ण आत्मनिर्भरको सूचीमा राखिने उनको भनाइ छ ।
मन्त्रालयका अनुसार सिमेन्ट, रड, अण्डा, कुखुरा, कुखुराको मासु, दाना, दूधमा देश पूर्ण रुपमा आत्मनिर्भर भएको तथ्यांक उद्योगीले दिएका छन् ।
त्यसैगरी नेपाल उद्योग परिसंघले पनि आत्मनिर्भर भएका वस्तुको पहिचान गरिरहेको छ । परिसंघले कुन कुन क्षेत्रमा आत्मनिर्भर भएका छौं । कुन कुनमा हुने चरणमा छौ भनेर अध्ययन गरिरहेको छ । यद्यपि, लकडाउनका कारण त्यो अध्ययन पूरा हुन सकेको छैन् ।