काठमाडौं । बार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने टफन ग्लास (प्रशोधन गरिएको सिसा) को आयातमा चरम विकृति भएको पाइएको छ । ३० प्रतिशत भन्सार तिर्नुपर्ने भएपछि आयातकर्ताले भन्सारका अधिकारीसँग सेटिङ मिलाएर वर्षौदेखि १५ प्रतिशत भन्सार तिरेर टफन ग्लास नेपाल भित्र्याइरहेको पाइएको हो ।
जवकि, सरकारले कच्चा र टफन सिसाको भन्सार मूल्य बराबरी राखेको छ । कच्चा सिसालाई प्रशोधन गरेपछि टफन सिसा बन्छ । तर, नेपालमा प्रशोधन गरिएको सिसा नै १५ प्रतिशतमा धमाधम नेपाल छिरिरहेको पाइएको हो ।
भन्सारका अधिकारीसँग सेटिङमा सस्तो भन्सार तिरेर टफन ग्लास नेपाल छिरिरहेका छन् । ‘एकातिर १५ प्रतिशत मात्रै भन्सार तिर्ने र बजारमा महँगो मूल्यमा बेच्ने प्रचलन वर्षौदेखि चलिरहेका छ,’ भन्सारका एक पूर्व कर्मचारीले भने, ‘भन्सारका कर्मचारीसँग आयातकर्ताको साँठगाँठ हुन्छ, १५ प्रतिशतमा सामान छिराउँदा उसले (कर्मचारी)ले पनि कमिसन पाउने भएकाले वर्षौदेखि यसैगरी व्यवसाय चलिरहेको छ ।’
भन्सार विभागको कानुन अनुसार गाडीको पृष्ठदृष्य देखिने ऐना, अन्य र फ्रेम नहालेको ऐना ल्याउँदा ३० प्रतिशत भन्सार तिर्नुपर्ने छ । यसको अर्थ कच्चा सिसा वा प्रशोधित (टफन) सिसा ल्याउँदा ३० प्रतिशत नै भन्सार लाग्छ । तर, यहाँ टफन ग्लास नै १५ प्रतिशतमा धमाधम छिरिरहँदा पनि भन्सार विभाग तथा अन्य कुनै निकायको ध्यान जान नसकेको पाइएको हो ।
एचएस कोड ७००९.१०.०० अन्तर्गत गाडीको पृष्ठदृष्य देखिने ऐना, ७००९.९१.०० अन्तर्गत फ्रेम नहालेको ऐना ल्याउनुपर्ने कानुनी प्रवधान छ । यो एचएस कोर्डमार्फत ऐना ल्याउँदा ३० प्रतिशत लाग्छ । तर, भन्सारका अधिकारी र आयातकर्ताको मिलेमतोमा एचएस कोर्ड ७६१०.१०.०० ७६१०.९ं०.०० मार्फत ढोका, झ्याल, तिनका फ्रेम, ढोकाका सधारहरु सार्क राष्ट्रबाट ल्याउँदा ७.५ प्रतिशत अन्य मुलुकबाट ल्याउँदा १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था छ । तर, आयाकर्ताले ऐनाअन्तर्गत भन्सार तिरेर ल्याउनुपर्ने सामान झ्याल ढोका र तिनका फ्रेमअन्तर्गत राखेर ल्याइरहेको पाइएको छ ।
नेपालमा जति पनि टफन ग्लास भित्रिन्छ, त्यो सबै झ्याल ढोकाको एचएस कोर्डमार्फत आउँछ । त्यसबाट ल्याउने वित्तिकै १५ प्रतिशत भन्सारमा छुटाउन सकिने भन्सारका ती अधिकारी बताउँछन् ।
‘टफन ग्लासमा भएको यो विकृति भन्सार विभागका उच्च कर्मचारीदेखि अर्थमन्त्रालयका हाकिमहरुलाईसम्म थाहा छ,’ ती कर्मचारीले भने, ‘तर, तै चुप मै चुप भएर बसेका छन्, चुप लाग्दा उनीहरुलाई धेरै आम्दानी भइरहेको छ ।’ फ्रेममा मिलाएर टफन ग्लास ल्याउने, आयातकर्ताले झ्याल ढोका ल्याएको भनेर भन्सारका कर्मचारीलाई भन्ने र भन्सारले सोहीको भन्सार लगाने गरेको छ ।
जवकि, टफन ग्लास बनाउन आवश्यक पर्ने कच्चा पदार्थ ल्याउँदा ३० प्रतिशत भन्सार तिर्नुपर्छ भने टफन ग्लास नै ल्याउँदा १५ प्रतिशतमा छिराउन पाइन्छ । नेपालमा टफन ग्लास आयात गर्ने केही सीमित व्यापारी छन् । उनीहरुले १५ प्रतिशत भन्सारमा वर्षौदेखि टफन ग्लास भित्र्याइरहेका छन् ।
अहिले नेपालमा पनि टफन ग्लास राखेर अफिसको डेकोरेसन वा घरको बाहिरपट्टी सिसा राख्ने प्रचलन बढिरहेको छ । जसले जुन प्रकारको टफन सिसाको अर्डर दिन्छन्, आयातकर्ताले सोही प्रकृतिको सिसा मगाउने गर्छन । यदि भन्सारका कर्मचारीको मितेमतो नहुने हो भने आएको सामान हेर्ने वित्तिकै यो टफल ग्लास हो भन्ने थाहा पाउँने भन्सारका अधिकारीहरु नै बताउँछन् ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले यस विषयमा सुक्ष्म रुपमा अध्ययन गर्ने बताए । ‘कुन सिसा कुन भन्सार दरमा छिरेका छन् भन्ने बारेमा हेरेको छैन्,’ उनले भने, ‘म त्यसको तथ्यांक निकालेर कुन सिसा कसरी छिरिरहेको छ, त्यसको बारेमा अध्ययन समेत गर्छु ।’