काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत पाउरोटी, मसला र साबुनको पनि भन्सार दर घटाएको छ । मुलुकमै आत्मनिर्भर बन्दै गएका यी क्षेत्रका वस्तुहरुमा सरकारले भन्सार दर घटाएर आन्तरिक उत्पादनलाई निरुत्साहित गर्न खोजेको देखिएको छ ।
सरकारले पाउरोटीको धुलोबाट बनेको रोटी, टोष्ट गरेको रोटी र त्यस्तै उत्पादनमा यसअघि भएको ४० प्रतिशतको भन्सार दरलाई घटाएर ३० प्रतिशतमा झारेको छ । यसैगरी, मिश्रित मसला र मरमसलाको भन्सार दर २० प्रतिशतबाट १५ प्रतिशतमा झारिएको छ ।
त्यस्तै, सावुनमा पनि यसअघि २० प्रतिशत रहेको भन्सार दरलाई १५ प्रतिशतमा झारिएको छ । यसले व्यवसायीहरुलाई उत्पाहित र उद्योगीहरुलाई निरुत्साहित बनाएको छ ।
भन्सार दर घटेसँगै आयातित यी वस्तुको मूल्य कम र आन्तरिक उत्पादनको मूल्य बढी हुने भएपछि स्वदेशी उद्योगहरु स्वत संकटमा पर्ने देखिन्छ । पाउरोटी, मसला र साबुनका ठूलो उद्योग मात्रै होइन्, गाउँघरमा ससाना घरेलु रुपमा उद्योगको विकास भएको पाइन्छ । यसरी कम भन्सार लगाएर बस्तु आयात गर्दा ठूलो उद्योगी मात्रै होइनन् घरेलु उद्योग समेत संकटमा पर्ने देखिन्छ ।
यी वस्तुका कच्चा पदार्थसमेत स्वदेशमै उत्पादन हुने भए पनि सरकारले भन्सार दर घटाएर यो क्षेत्रलाई धरासायी बनाउने प्रयास गरेको छ । यसअघि चक्लेट र बिस्कुट लगाएतका वस्तुमा भन्सार दर घटाएको भनेर अर्थमन्त्री डा. युवराज खतिवडाको व्यापक आलोचना भएको मात्रै होइन्, उनको नैतिकता माथि पनि गम्भीर प्रश्न उठेको छ ।
संघीय संसदमा नै विस्कुट र चक्लेटमा भन्सार घटाएर सीमित व्यक्तिहरुलाई फाइदा दिएको भनेर बहस चलिरहेका पाउरोटी, मसला र साबुनजस्ता अत्यावश्यक वस्तुको पनि भन्सार दर घटाइएको पाइएपछि अर्थमन्त्री खतिवडामाथि थप नैतिक संकट निम्तिएको छ । किनभने अर्थमन्त्री खतिवडाले सधै आन्तरिक उत्पादनलाई जोड दिने बताउँदै आएका छन् ।
सरकारले साबुनलाई आत्मनिर्भरको सूचीमा राखेर थप छलफल गरिरहेको छ । यस्तो बेला भन्सार दर घटाएर के को संकेत गरेको हो ? भन्ने प्रश्न उब्जिएको छ । सावुनको भन्सारदर घटेपछि साबुन उद्योगीहरु चिन्तित बन्न थालेका छन् ।
पाउरोटीको मुख्य कच्चा पदार्थ मैदा हो । मैदाको भन्सार भने घटाएको छैन । तर, तयारी पाउरोटीजन्य वस्तुको भन्सार घट्नाले आन्तरिक उत्पादनमा गम्भीर असर पर्ने उद्योगीहरु बताउँछन् ।