काठमाडौं । भरखरै सेयर कारोबार भएको नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड बजार पुँजीकरणका आधारमा ७ औं स्थानमा उक्लिएको छ । कम्पनीको सेयर मूल्य बढेपछि बजार पुँजीकरण ५९ अर्ब ९० करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९९ रुपैयाँ छ ।
नेपाल रि–इन्स्योरेन्सको सेयर कारोबार लकडाउन खुलेपछि सुरु भएको हो । लकडाउनअघि कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको थियो ।
नेपाल रि–इन्स्योरेन्सले हिमालयन बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र एनआईसी एसिया बैंकलाई पछि पारेको छ । यो साता सेयर कारोबारका हिसावले पनि नेपाल रि–इन्स्योरेन्सको सबैभन्दा बढी रहेको छ । कम्पनीको नेप्सेमा १० करोड कित्ता सेयर सूचिकृत भएको छ ।
नेप्सेमा सूचिकृत मध्ये सबैभन्दा बढी बजार पुँजीकरण नेपाल टेलिकमको छ । टेलिकमको बजार पुँजीकरण ९८ अर्ब १० करोड रुपैयाँ छ । यस्तै नविल बैंकको ८५ अर्ब ८२ करोड रुपैयाँ छ ।
सेयर मूल्य बढेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजार पुँजीकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकलाई पछि पारेको छ । नेपाल लाइफको पुँजीकरण ७४ अर्ब १९ करोड रुपैयाँ छ । इन्भेस्टमेन्ट बैंकको ६६ अर्ब २५ करोड रुपैयाँ छ । नेपाल लाइफको सेयर मूल्य प्रतिकित्ता १ हजार ३५० रुपैयाँ छ ।
एभरेष्ट बैंकको ६३ अर्ब ६६ करोड, एनएमबी बैंकको ५९ अर्ब ९८ करोड रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएको छ । यस्तै एनआईसी एसियाको ५५ अर्ब ३९ करोड, स्ट्यान्डर्ड चाटर्डको ५४ अर्ब ६३ करोड र हिमालयनको ५२ अर्ब ९५ करोड रुपैयाँ छ ।