जेनजी आन्दोलनका कारण गत भदौ २५ रोकिएको सेयर बजार आजदेखि खुले पनि लगातार तेस्राेपटक नकारात्मक सर्किट लागेपछि काराेबार बन्द भएको छ।
पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्राेपटक नकारात्मक सर्किट लागेर सेयर कारोबार दिनभरका लागि बन्द स्थगन भएको हो।
प्रि–ओपन सेसनमै उच्च अंकले घटेको नेप्से कारोबार खुलेको २ मिनेटमै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको थियाे। सरकार परिवर्तनपछि कारोबारको पहिलो दिन नियमित खुलेकाे सेयर बजारमा २ मिनेटमै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो।
पहिलो नकारात्मक सर्किट लागेपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा फेरि नेप्से ११ बजेर २३ मिनेटमा ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेको छ। सेयर बजार कारोबार ४० मिनेटका लागि बन्द भएको थियाे।
१२ बजेर ३ मिनेटमा खुलेको नेप्से ६ प्रतिशतले घटेर दिनभरिका लागि बन्द भएको हो।
नेप्से १६० अंकले घटेर २५११ बिन्दुमा समेटिएको छ। सात मिनेट मात्रै कारोबार भएको बजारमा ७ अर्ब २८ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ।
सुशीला कार्की नेतृत्वकाे सरकारमा अथर्तन्त्रका विज्ञ मानिने अर्थमन्त्री रामेश्वर खनाल नियुक्त भए पनि जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका प्रतिष्ठान, सरकारी कार्यालय, देशकाे प्रमुख प्रशासनिक अड्डालगायतमा गरिएकाे आगजनीका कारण अझै पनि लगानीकर्ता ढुक्क हुन नसक्दा सेयर बजारमा खुलेकै छिनभरमै नकारात्मक सर्किट लागेकाे हुन सक्छ।
राजनीतिक अस्थिरता र लगानी असुरक्षा हुँदा यसकाे प्रत्यक्ष असर सेयर बजारमा परेकाे हुन सक्छ। सत्ता परिवर्तनपछि सेयर बजार घट्ने र नघट्ने प्रक्षेपण भइरहेका बेला आजको काराबारमा भने ठूलो गिरावट आएको छ।
राजनीतिक परिवर्तनपछि खुलेको पहिलो सेयर बजार काराबार सुरुआतमा प्रभावित भए पनि विस्तारै सम्हालिने लगानीकर्ताको अपेक्षा छ। सुरुमा उतारचढाव भए पनि विस्तारै सेयर बजारले गति लिने आसमा लगानीकर्ता छन्।