टेलिकमलाई सांसदहरुको प्रश्न, ‘घाम लाग्दा चल्ने, पानी पर्दा नचल्ने सेवा कहिलेसम्म ?’

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०४:५५:PM  
टेलिकमलाई सांसदहरुको प्रश्न, ‘घाम लाग्दा चल्ने, पानी पर्दा नचल्ने सेवा कहिलेसम्म ?’

काठमाडौं । नेपाल टेलिकमको सेवा प्रभावकारिता र गुणस्तरमा प्रश्न गर्दै सांसदहरुले घाम लाग्दा चल्ने र पानी पर्दा नचल्ने सेवामा सुधार गनुपर्ने बताएका छन् । टेलिकमको सेवा तथा गुणस्तरमाथि प्रश्न उठाउँदै उनीहरुले नेटवर्क नआउने समस्याको समाधान गर्नुपर्ने बताएका हुन् । 

निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको जस्तोसुकै समयमा पनि गुणस्तरीय सेवा दिने तर, टेलिकमको भने गुणस्तर कायम गर्न नसक्ने भन्दै सांसदहरुले आक्रोस व्यक्त गरे । 

शुक्रबार विकास तथा प्रविधि समितिमा भएको छलफलमा बोल्दै सांसद कमला रोकाले रुकुम पूर्वको चुनवाँङमा नेटवर्क  नै नआउँने समस्या रहेको बताइन । बषौंदेखि समस्या जस्ताको तस्तै रहेको बताउँदै उनले टेलिकममको सेवा घामसंगै मोवाइलमा टावर आउँछ, घामसंगै जाने गरेको बताइन । 

सांसद राजेन्द्र लिङ्देनले एनसेलले साढे २ अर्ब रुपैयाँ लगानीमा विस्तार गरेको फोरजी सेवाका लागि टेलिकमले २० अर्ब रुपैयाँ खर्चेको विषयमा प्रश्न उठाएका छन् । उनले एक बर्षभित्र टेलिकमले फोरजी विस्तार गर्ने भन्दै हल्ला मात्र चलाएको तर काम गर्न नसकेको भन्दै टेलिकमको काम गराइप्रति असन्तुष्टि व्यक्त गरे ।  

‘हामीले जुन सेवा प्रदान गरिरहेका छौं, त्यो संसारकै महंगो मध्येमा पर्छ,’ उनले भने, ‘एनसेलले साढे २ अर्ब रुपैयाँमा सकेको फोरजी सेवाका लागि टेलिकमलाई किन १८ अर्ब लाग्यो ? सेवा पनि एनसेलकै राम्रो हुने, तर टेलिकमले भने १८ अर्ब रुपैयाँ मात्र सक्ने ?’

त्यस्तै अर्कौ सांसद दामोदर भण्डारीले नेपाल टेलिकमबाट जनताले अपेक्षा गरे अनुरुपको सेवा प्राप्त हुन नसकेको बताए । उनले भने, कुरा नसकिँदै फोन काटिने नियति अझैं हामीले भोगिरहेका छौं ।’ 

उनले निजी सेवाप्रदायक कम्पनी एनसेलसँग टेलिकमले प्रतिस्पर्धा गर्न नसकेको भन्दै प्रश्न उठाए । ‘एउटा निजी कम्पनीसँग राज्यले प्रतिस्पर्धा गर्न नसक्नु लजास्पद बिषय रहेको छ’ उनले भने । 

त्यसैगरी बैंकमा इन्टरनेट नभएर सेवा प्रवाह हुन नसकिरहेको उल्लेख गर्दै दुर्गम तथा सीमावर्ती गाउँहरुमा भारतीय दूरसञ्चार कम्पनीको सेवा लिनुपर्ने बाध्यता रहेको साँसदहरुले बताएका छन् । 

त्यस्तै अर्का सांसद यज्ञराज सुनुवारले टेलिकमको सेवालाई व्यंग्य गर्दै भने, ‘टेलिकमले एकदमै राम्रो सूचना दिने गरेको छ, माफ गर्नुहोला, तपाईंले डायल गर्नुभएको फोनमा सम्पर्क हुन सकेन । यस्तो सूचना त दिएकै छ ।’

निजी एरलाइन्स मोटाउने, निगम दुब्लाउने, निजी स्कूल मोटाउने सरकारी स्कूल दुब्लाउने, निजी दूरसञ्चार कम्पनी मोटाउने, टेलिकम दुब्लाउने, यस्तै भइरहेको छ ’ उनले भने, ‘असार साउन पानीले सम्पर्क विच्छेद, चैत वैशाख हुरीबतासले , मंसिर पुसमा हिँउ अथवा चिसोले सेवा विच्छेद, टेलिकमको सेवा कहिले भरपर्दो हुन्छ ? ’

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top