हिम पहिरोमा ज्यान गुमाएका सरोजका परिवारलाई १० लाख बीमा रकम प्रदान 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन २६, साेमबार,०९:२५:PM  
हिम पहिरोमा ज्यान गुमाएका सरोजका परिवारलाई १० लाख बीमा रकम प्रदान 

पोखरा । गतवर्ष माघ ३ गतेको हिम पहिरोमा परेर ज्यान गुमाएका पथप्रर्दशक सरोज परियारको परिवारलाई ट्रेकिङ्ग एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले बीमा रकम १० लाख हस्तान्तरण गरेको छ । 

मृतकका बुबा ससे परियारलाई टान अध्यक्ष हरी भूजेल र बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय डाइरेक्टर कविराज पौडेलले बिमा रकम रु १० लाखको चेक हस्तान्तरण गरेका थिए । 

अध्यक्ष भुजेलले पदयात्रा मजदुरहरुले पदप्रदर्शकको रुपमा सधै देशको रहन सहन संस्कृति र भूगोललाई विश्वभरी चिनाउन अतुलनीय भूमिका खेलेको उल्लेख गर्दै राज्यले पदयात्रा मजदुरको सुरक्षाको बारेमा ध्यान दिन नसकेको गुनासो गरे । 

‘मजदुरकै कारण विदेशी रकम नेपाल आउने यथार्थतिर राज्यले कहिल्यै ध्यान दिएन सधै सामान्य मजदुर म¥यो भनेर बुझियो, उनीहरुले देशलाई दिएको योगदानमा ध्यान दिइएन ।’ भुजेलले भने ।   उनले राज्यको सहयोग हुन नसक्दा  हिम पहिरोमा परेका मजदुरको खोजीका लागि पनि थुप्रै कठिनाइ भोग्नु परेको अनुभव सुनाए । 

टानका निर्वतमान अध्यक्ष एवम् खोज तथा उद्धार टोलीका संयोजक दिपक अधिकारीले टानले संस्थागत दायित्व पुरा गर्दै मजदुरको बीमा गराएको उल्लेख गरे । मृत्यु कसैले कल्पना गर्दैन तर दुर्घटना कहिले र कति बेला आउँछ भन्ने थाहा नभएकाले सबै पदयात्रा मजदुरहरुले आधिकारीक कम्पनीबाट मात्र जानु पर्ने धारणा राखे ।
 
किनोको टेक्स एण्ड एक्सीपिसन प्रालि कम्पनीबाट चाइनिज पर्यटक लिएर पदयात्रा गएका परियार अन्नपूर्ण आधार शिविर हिङ्कु केभ देउरालीमा हिउँ पहिरोमा परेका थिए । माघ १६ गते टानका प्रतिनिधि र मृतकका दाजु सन्दिप परियार सहितको उद्धार टोलीले परियारले प्रयोग गरेको निलो रङ्गको टोपी र स्लीपिङ ब्याग घटनास्थलमा फेला पारेको थियो । सो घटनामा ४ जना कोरियन र तीन नेपालीको मृत्यु भएको थियो । दुई जना नेपाली काठमाडौको कम्पनीबाट गएका थिए भने परियार पोखराको कम्पनीबाट गएका थिए ।  परियारसँग गएका चाइनिज पर्यटकलाई भने सकुशल उद्धार गरिएको थियो । मृतक २१ वर्षीय सरोज चितवन भरतपुर १३ का बासिन्दा हुन् । 

संस्थाका सचिव जीवनराज सापकोटाले परिस्थिती सधै सहज नहुने भन्दै कमाएर खाने मान्छेकै मृत्यु पछि परिवारमा भोग्नु पर्ने समस्यालाई ध्यान दिएर थोरै भएपनि संस्थाले बिमा गराउँदै आएको जानकारी दिए । सापकोटाका अनुसार टानले हरेक वर्ष सामुहिक रुपमा २५ जना पथप्रर्दशक र ५० जना सहयोगीको १० लाख बराबरको बिमा गराउँदै आएको  छ । (रासस)
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top