काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ प्रणाली निर्देशिका लागू गरेको छ । बोर्डले अब सार्वजनिक निष्कासन (आइपीओ) मा बुक विल्डिङ विधि लागू गरेको छ ।
बोर्डले जारी गरिएको निर्देशिकामा संस्थागत लगानीकर्ताका लागि सेयर बिक्री गर्दा कायम भएको कट अफ मूल्यको १० प्रतिशत छुट दिएर सर्वसाधारणमा आइपीओ निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, सर्वसाधारणले बुक विल्डिङ विधिबाट आइपीओ खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । न्यूनतम बाँडफाँट हुने कित्ता पनि ५० नै रहनेछ ।
विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस ।
बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्नका लागि सेयरको अनुमानित मूल्य तथा मूल्यांकनका आधार र औचित्य खुलाइएको प्रारम्भिक विवरणपत्र तयार पारेर योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम सेयर संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने बोर्डले जानकारी दिएको छ ।
एउटा संस्थागत लगानीकर्ताले कुल निष्कासित सेयरको २० प्रतिशत भन्दा बढीका लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाउने भएको छ ।
संस्थागत लगानीकर्ताका लागि बिक्री गर्दा कायम भएको कट अफ मूल्यका आधारमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिने उल्लेख छ । जसमा संस्थागतमा कायम कट अफको १० प्रतिशत छुटमा बिक्री गरिनेछ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडले स्वचालित विद्युतीय बोल कबोल प्रणाली संचालन गर्नुपर्ने र यो प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने बोर्डको अपेक्षा छ ।
यसबाट निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने, निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने समेत बोर्डको विश्लेषण छ ।