काठमाडौं । पाकिस्तानको हाविव बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक सेयर बेच्न नेपाली लगानीकर्ताहरुसंग छलफल थालेको छ । हिमालयनमा हविवको २० प्रतिशत स्वामित्व छ ।
वेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पाेरेशन (सीडीसी ग्रुप) ले नकिन्ने संकेत गरेपछि हविवले नेपाली लगानीकर्ताहरुसंग छलफल थालेको हो ।
उसले संस्थापक लगानीकर्ताहरु कर्मचारी सञ्चय कोष र मनोजबहादुर श्रेष्ठसंग छलफल गरेको छ । छलफल भएपनि किन्ने विषयमा सहमति हुन बाँकी छ । कोरोना महामारीले गर्दा छलफल मात्र भएको छ ।
हविवले नेपाली लगानीकर्तासंग सेयर बिक्रीको विषयमा छलफल गरेको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । हविवले सेयर किनिदिनका लागि सञ्चय कोषलाई अनुरोध गरेको उनले सुनाए ।
विश्वव्यापी कोरोना महामारीका कारण सीडीसीले निकिन्ने संकेत गरेपछि हविवले सञ्चय कोषसंग वार्ता थालेको हो । ‘छलफल सुरु भएको छ, निर्णयमा पुगेको छैन, कोरोना संक्रमण हटेर सामान्य अवस्था आएपछि छलफल अघि बढाउन हविवलाई सुझाएको छु’, उनले भने ।
हिमालयलाई ३ करोड डलर अर्थात ३ अर्ब रुपैयाँ भन्दा बढी ऋण लगानी गर्न तयारीमा रहेका बेला सीडीसीले स्वामित्व खरिदबाट हात झिक्न लागेको छ । यद्यपी, सीडीसीले औपचारिक रुपमा जानकारी गराएको छैन । सञ्चय कोषको हिमालयनमा १५ प्रतिशत स्वामित्व छ ।
हिमालयका अध्यक्ष कोषका प्रशासक गौतम छन । भोलीका दिनमा बैंक मर्जरमा गएपछि एक जना सञ्चालक पठाउन थप संस्थापक सेयर खरिद गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । यद्यपी सञ्चय कोषले एकल संस्थामा २५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ ।
त्यसैले सञ्चय कोषले हविवको १० देखि ११ प्रतिशतसम्म मात्र संस्थापक सेयर खरिद गर्न सक्ने उनको भनाई छ । बाँकी ९ देखि १० प्रतिशत अरुले किन्नुपर्ने छ ।
कोरोनाको संक्रमण कम भएर अवस्था सामान्य आएपछि मात्र छलफल अघि बढाउने कुरा भएको गौतमले जानकारी दिए ।
यसअघि हबिव सीडीसीबीच प्रतिकित्ता २.५२ अमेरिकी डलर सेयर किनबेच गर्ने सम्झौता भएको थियो । यसबीचमा हिमालयनको सम्पत्ति, दायित्व मूल्याँकन (डीडीए) समेत भइसकेको छ ।
हबिवको स्वामित्व सीडीसीमा हस्तान्तरणपछि हिमालय नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्जमा जाने कुरा भएको थियो । सेयर स्वामित्व हस्तान्तरण नहुन्जेलसम्मका लागि मर्जर प्रक्रिया रोक्न नेपाल राष्ट्र बैंकले हिमालयनलाई स्वीकृति दिएको छ ।
हिमालयनको चुक्तापुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ६०० रुपैयाँ छ । हिमालयनमा हबिबको १ करोड ८७ लाख ४४ हजार ५६३ कित्ता सेयर पुगेको छ । हिमालयनमा हिमालयन शम्शेर राणा र खेतान ग्रुपको १२ १२ प्रतिशत स्वामित्व छ ।
आन्तरिक समस्या आएपछि हविवले विश्वभरी भएको आफ्नो सबै लगानी फिर्ता ल्याइरहेको छ । सोही योजनाअनुसार हविव ३० वर्ष लामो सम्बन्धलाई छुटाउँदै हिमालयनबाट बाहिरिन लागेको हो ।
हिमालयनको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ५६८ रुपैयाँ छ । हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरमा जानका लागि छलफल भइरहेको छ । हविवको स्वामित्व बिक्रीको विषयलाई लिएर मर्जर प्रक्रियाले गति लिन सकेको छैन ।