काठमाडौं । पछिल्लो पटक पश्चिम, पूर्व र तराईका जिल्लाहरूमा हल्का पेयपदार्थ कोकाकोला जस्तै क्लबकोला पेय पदार्थको बिक्री बढ्दै गएको छ । हुबहू कोकाकोला जस्तै देखिने क्लबकोलाको उत्पादन र बिक्री रोक्न कोकाकोला लागे पनि सफल भएको छैन ।
क्लबकोलाले कोकाकोलाको बजार हिस्सालाई ओगट्दै गएपछि कोकाकोलाको आन्तरिक व्यवस्थापनले समेत यो विषयलाई गम्भीर रूपमा लिएको छ ।
बहुराष्ट्रिय कम्पनी कोकाकोलाको लोगो, बोतल, कलर र डिजाइन दुरुस्तै ‘कपी’ गरेर बजारमा आएको क्लबकोलाले काठमाडौं बाहेक नेपालका सबै जिल्लामा आफ्नो उत्पादनलाई पुर्याइसकेको छ ।
कोकाकोला जस्तै देखिने क्लबकोलाको उत्पादन भएर बजारमा आएपछि कोकाकोलाले आफ्नो ब्रान्ड चोरी भएको भनेर मुद्दासमेत दायर गरिसकेको छ । क्लबकोलाविरुद्ध कोकाकोलाले हालेको ट्रेडमार्कको मुद्दा अहिले उद्योग विभागमा विचाराधीन छ ।
तर, कोकाकोलाले क्लबकोलाको उत्पादन रोक्न उच्च अदालत विराटनगरको इलाम इजलासमा हालेको मुद्दामा कोकाकोला हारेको छ ।
उच्च अदालतको इलाम इजलासमा कोकाकोलाले क्लबकोलाको उत्पादन रोक्नुपर्याे भनेर मुद्दा हालेको थियो । इजलास इलामले उत्पादन वस्तुहरू रोक्न नमिल्ने भन्दै फैसला गरेको छ । ट्रेडमार्क दर्ता गरिसकेका कारण रोक्न नमिल्ने फैसला गरेको क्लबकोलाले जनाएको छ ।
क्लबकोला उत्पादन गर्ने सिंगापुर वेभरेजका कानुनी परामर्शदाता चिरन तिमिल्सिनाले कोकाकोलाले उत्पादन र बिक्री वितरण रोक्न हालेको मुद्दा क्लबकोलाले जितेको जानकारी दिए । भइसकेको काम कारबाहीमा सामान्यतः निषेधाज्ञा जारी हुँदैन ।
यस्तो मान्यता स्थापित छ । यही मान्यताका आधारमा क्लबकोलाले मुद्दा जितेको उनले बताए ।
कोकाकोलाजस्तै क्लबकोला, स्प्राइटजस्तै राइट र फेन्टा जस्तै फेन्सी नामक पेयपदार्थ सिंगापुर वेभरेजले उत्पादन गरेको छ । सिंगापुर वेभरेजका अरू उत्पादनमाथि पनि ट्रेडमार्क चोरी भएको मुद्दा परेको छ । माउन्टेन डिउजस्तै मनसुन डिउ पनि सिंगापुर वेभरेजले उत्पादन गरेको छ । सिंगापुर वेभरेजले ४ वर्ष अघिदेखि आफ्नो उत्पादन बजारमा ल्याएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक आशिष शर्माले सिंगापुर वेभरेजका उत्पादनहरू नेपालले मान्यता दिएको र अनुमति लिएर मात्र उत्पादन गरेको बताए ।
‘हामीसँग गुणस्तर छ, ट्रेडमार्क छ तर कोकाकोलाले एउटै डिजाइन भयो भन्दै २ वर्षदेखि उत्पादन नगर भनेर झमेला गरेको छ,’ उनले भने ।
सिंगापुर वेभरेजमा २५ करोड रुपैयाँ बढी लगानी छ । यसले पूर्वमा बजार हिस्सा राम्रो बनाउँदै लगेको छ भने पश्चिममा बढ्दै गएको शर्माले जानकारी दिए । ‘हामीले कोकाकोला र क्लबकोलाको सर्वसाधारणमाझ ‘ब्लाइन्ड टेस्ट’ पनि गरायौं धेरैले क्लबकोलाको प्रशंसा गरेका छन् त्यही भएर हामीले क्षमता पनि बढाएर अघि बढेका छौं,’ उनले भने ।
हामीले कोला उत्पादन गरेका हौं । क्लब र कोकबीच कोला मात्र रहेको शर्माको तर्क छ । ‘कोला फेलबर हो, चट कोला भन्ने पाचक चकलेट पनि छ, मेरो प्रडक्ट नाम क्लब हो,’ उनले भने ।
‘पर्पल कलर एनसेलको मात्र नभएजस्तै रातो कोकाकोलाको मात्र अधिकार होइन,’ उनी भन्छन्, ‘जब हामी सानो थियौं कुनै समस्या थिएन । जब ठूलो हुँदै गयौं र पूरै नेपालमा पुग्यौं अनि हामीलाई समस्या पार्न थालिएको छ ।’
उद्योग विभागकी निर्देशक विन्दा आचार्यले कोकाकोला र क्लबकोलाको ट्रेडमार्क मुद्दा अहिले विचाराधीन रहेको जानकारी दिइन् । विभागले यस विषयमा थप अनुसन्धान पनि गरिरहेको छ । विचाराधीन मुद्दा भएकाले धेरै प्रतिक्रिया दिन नमिल्ने उनले बताइन् ।
कोकाकोलाका प्रतिनिधि बोल्दैनन्
आफ्नो उत्पादनको ट्रेडमार्क चोरी गरेर क्लबकोलाले उत्पादन गरेको भन्दै मुद्दा हालेको कोकाकोलाले भने यस विषयमा मौनजस्तै छ । आफ्ना नेसनल डिस्ट्रिब्युटरदेखि रिजनल सेल्स र मार्केटिङ टिमलाई क्लबकोला कोकाकोलाका लागि चुनौती भएको सर्कुलर गरे पनि बाहिर भने मौन देखिन्छ ।
कोकाकोलाका प्रतिक्रियाका लागि कोकाकोला नेपालकी कन्ट्री कम्युनिकेसन म्यानेजर इरिनी गुरुङ कार्कीसँग सम्पर्क गर्दा उनले यो विषयमा आफूले बताउन नमिल्ने र यस विषयमा कोकाकोलाको पब्लिक रिलेसन हेर्ने एजेन्सी प्रिज्माले जानकारी दिने बताउँदै उनले प्रिज्मासँग सम्पर्क गराइन् ।
प्रिज्जा एड्भरटाइजिङबाट स्नेहा र नितिनले के प्रतिक्रिया लिन खोजेको हो त्यसको लिखित प्रश्न इमेलमा पठाउनुपर्ने बताएपछि क्यापिटल नेपालले प्रश्न पठाएको महिना दिनसम्म पनि कुनै जवाफ भने आएन ।