काठमाडौं। नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ। कठिन आर्थिक परिस्थितिसहितका चुनौतीपूर्ण अवस्था पनि कम्पनीले सेयरधनीका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस सेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
विगत १० वर्षदेखि कोभिड र आर्थिक सुस्तताको समयबाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको छ। निरन्तर उत्कृष्ट प्रदर्शनले नेपाल ल्यूब आयल आज एक सफल र विश्वसनीय संस्थाको रूपमा स्थापित भएको छ। कम्पनीको निरन्तर विकास, सेयरधनीप्रतिको दायित्व र पारदर्शी व्यवस्थापनको सेयरधनीले सभामा प्रशंसा गरेका छन्।
सभामा अध्यक्ष अरुण कुमार चौधरी, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण चौधरी, सञ्चालक समिति, कम्पनी सचिव, लेखापरीक्षक, व्यवस्थापन समूहका सदस्य तथा सेयरधनीको उपस्थिति रहेको थियो। कार्यक्रममा ८४ प्रतिशत सहभागी उपस्थित रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘विभिन्न चुनौतीपूर्ण परिस्थितिबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको छ। गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले सेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ। यस सफलताको श्रेय कम्पनीका समर्पित कर्मचारी, व्यवस्थापन टोली, सञ्चालक समिति तथा सेयरधनीको विश्वास र सहकार्यलाई जान्छ। भविष्यमा पनि कम्पनी यही समर्पण र विश्वासका साथ अघि बढ्ने छ।’
गत वर्षजस्तै, यस वर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट सेयरधनीहरू उत्साहित देखिएका छन्।