काठमाडौं । विभिन्न ९ वटा जीवन बिमा कम्पनीहरुको प्राथमिक सेयर (आईपीओ) ल्याउने तयारी गरेका छन् । ती बिमा कम्पनीहरुले ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको ५ करोड ६५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेका छन् ।
यी मध्ये ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बाँकी ८ वटा जीवन बिमा कम्पनीहरु बोर्डमा जाने तयारीमा छन् । सबैभन्दा बढी रकमको आईपीओ सिटिजन्स लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्दै छ ।
उसले आईपीओ निष्कासन गर्न मर्चेन्ट बैंकरसमेत नियुक्त गरेको छ । सिटिजन्सले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता निष्कासन गर्न लागेको हो ।
यसैगरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ करोड रुपैयाँ बराबरको ६४ लाख कित्ता निष्कासन गर्न लागेको छ ।
ज्योति र युनियन दुबैले आईपीओ निष्कासन गर्न साधारणसभाबाट पारित गरिसकेका छन् । सन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ताका दरले आईपीओ निष्कासन गर्ने छन् ।
यी सबै कम्पनीले सञ्चालनमा आएको २ वर्ष पुरा भएको छ । नियामक बिमा समितिले जीवन बिमा व्यवसाय गर्ने कम्पनीको न्यूनतम् पुँजी २ अर्ब रुपैयाँ पुर्याएको छ । पछिल्लो समयमा महालक्ष्मी लाइफले जीवन बिमा कारोबार सुरु गरेको हो ।
