सरकारी तलबभत्ता रोकौं, सानसँग लकडाउन ठोकौं छ हिम्मत !

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २७, मङ्गलबार,०६:५८:PM  
सरकारी तलबभत्ता रोकौं, सानसँग लकडाउन ठोकौं छ हिम्मत !

केही समययता काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख सहरी क्षेत्रलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणले आक्रान्त बनाएको छ । कोभिड–१९ संक्रमण बढेको मात्र होइन विस्तारै मृत्युसमेत उकालो ग्राफ चढ्न थालेको छ ।

दैनिक तथ्याङ्कहरू हेर्दा अत्यासलाग्दो देखिन्छ । जति बढी कोरोना परीक्षण भएको छ त्यति धेरै संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै गएपछि स्वाभाविक हिसाबले मृत्यु दर पनि बढ्ने भईनै हाल्यो । अहिले कोरोनाका सिकिस्त बिरामीहरूले उपचारका लागि ठाउँ पाइरहेका छैनन् ।   

शनिबार १९ हजार ३ सय २० नमुना परीक्षण गर्दा ५ हजार ८ जनामा संक्रमण देखिएकोमा आइतबार १२ हजार ४ सय २७ जनाको मात्रै नमुना परीक्षण गरिएकाले संक्रमितको संख्या पनि घटेर २ हजार ७१ मा सीमित भएको हो । औसतमा दैनिक पीसीआर परीक्षणको संख्या १२–१३ हजार हुँदा संक्रमितको संख्या २ हजारभन्दा कम देखिएको छ । त्यसभन्दा बढी परीक्षण गर्दा संक्रमितको संख्या पनि बढेको देखिन्छ ।

असोज १६ गते १४ हजार ७ सय ३९ पीसीआर परीक्षण हुँदा २ हजार ७ सय २२ पोजेटिभ केश भेटिएको छ । त्यस्तै असोज २१ गते १४ हजार २ सय ९ पीसीआर परीक्षण हुँदा संक्रमितको संख्या ३ हजार ४ सय ३९ देखिएको छ । उता, असोज २२ मा १८ हजार ४ सय ७३ नमुना परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको छ ।

सरसर्ती हेर्दा पीसीआर परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा संक्रमितको संख्या घटेको छ । अर्थात् सीधा भाषामा भन्दा ‘नो पीसीआर टेस्ट नो कोरोना भाइरस पोजिटिभ’ को अवस्था छ । परीक्षण गर्यो कि कोरोना पोजिटिभ बढ्ने भइनै हाल्यो । 

महामारीमा पनि भीड बनाएर पार्टी प्रवेश गर्ने÷गराउने काम भइरहेकै छ । ‘अस्पतालमा आईसीयू र भेन्टिलेटर व्यवस्था गर’ भन्दै दैनिक नारा लागिरहेका छन् । गोविन्द केसी बचाउ अभियान (यद्यपि यो मुद्दा अहिलेलाई सकिएको छ) र भ्रष्टाचारविरुद्ध भन्दै दिनहुँ जुलुस निस्किएकै छ । आफ्नो रोजीरोटी खोसिएको र सेवासुविधा नपाएको भन्दै लाल्टिन जुलुस र अनशन भन्दै पत्रकारहरू सडकमा पोखिएकै छन् । 

अर्कोतिर एक पटक हामीले उपचार पद्धतिलाई पनि हेर्नुपर्ने हुन्छ । कुनै गम्भीर बिरामी (बेहोस, दुर्घटना वा अन्य)लाई अस्पताल पु¥याइसकेपछि छिटोभन्दा छिटो उपयुक्त विधिद्वारा उपचार गरिनुपर्नेमा हामीकहाँ पीसीआर टेस्टको रिपोर्ट नआएसम्म बिरामी हेर्दै नहेर्ने, छुँदै नछुने अवस्था छ । यस्तो अवस्थामा बिरामी आत्मबल स्वतः कमजोर बन्छ र उसले मृत्युवरण गर्छ ।

बिरामीको उपचार विधिमा तत्काल सुधार नगरे धेरै रोग नलागेका मानिसहरू मर्नेछन् र अन्तिममा कोरोनाबाट मरेको भनेर रिपोर्ट लेखिनेछ । अहिलेसम्मका धेरै मृत्युको अवस्था हेर्दा यस्तै देखिन्छ पनि । कोरोना भाइरस संक्रमणको विस्तारमा राजनीतिक दलहरूले नै अग्रमोर्चामा रहेको स्थितिमा पटक–पटक सर्वसाधारणलाई दुःख दिइरहनु जायज हुँदैन ।

परिस्थिति जस्तोसुकै भए पनि कोरोना भाइरस अब हाम्रो दैनिकी हो । आफ्नो दैनिकी सहजता साथ चलाउने अधिकांश आफूसँग मात्रै केन्द्रित हुन्छ । त्यसमा पटक–पटक राज्यले हस्तक्षेप गरेर जनतालाई भोकले मार्ने वातावरण बनाउनु हुँदैन । त्यसै पनि परिस्थिति बिग्रिएर रोगले भन्दा भोकले मानिसहरू भकाभकी मर्ने बेला भइरहेको छ । लाखौंको रोजगारी गुमेको छ । जागिर हुनेको तलब सुविधा कटौती भएको छ । मूल्यवृद्धि उच्च दरमा छ । दैनिक उपभोग्य सामानमा समेत अभाव भन्दै कालो बजारी उस्तै छ । मानिसहरूको आम्दानीबाहेक सबै कुरा वृद्धि भइरहेको छ । 

कोभिड परीक्षणको अवस्थालाई नियाल्ने हो भने परीक्षण प्रक्रियाले नै धेरै संक्रमित बढाइरहेको छ । पीसीआरको वास्तविक समयको रिपोर्ट आउने नभई स्वाब दिँदासम्मको अवस्था मात्र संकेत गर्ने हो । तर, हामीकहाँ ‘नेगेटिभ’ रिपोर्ट आएपछि जे पनि गर्न योग्य र बहादुर अनि एकदम ‘इम्युनिटी पावर हाई’ भएको र समाजमा ठूलै स्थान हासिल गरेको मनोविज्ञानमा हिँड्दा समस्या निम्तिएको हो । कोरोना स्वाब परीक्षण गर्न लाइन बस्दा नै कति संक्रमितबाट रोग नभएकालाई पनि सर्यो होला ? किनभने मानिस कोरोना परीक्षणका लागि रातभर जाग्राम बसेका दृश्य देखिएकै हो । 

कोरोनाको सन्दर्भमा भन्नै पर्ने हुन्छ, ‘पालो सबैको आउँछ, खाली अघि र पछि वा कति छिटो कति कति ढिलो’ भन्ने मात्रै हो । सिधा भाषामा भन्दा कोरोना संक्रमणबाट सायद अब कोही पनि बच्न सक्दैन । जतिसुकै कडा लकडाउन वा निषेधाज्ञा गरे पनि अब केही हुनेवाला छैन । किनभने हरेकको शरीरमा कोरोना भाइरसले स्थान बनाउन थालिसकेको छ । मौका पाउनासाथ बाहिर निस्किहाल्छ ।

मुलुकभर भएको ४ महिना लामो लकडाउन र स्थान हेरी करिब २ महिना निषेधाज्ञा (काठमाडौं उपत्यकामा ३ साता) हुँदा पनि स्वास्थ्य संरचनामा कुनै परिवर्तन गरिएन । स्वास्थ्य उपकरणको व्यवस्था र रोगबाट जुध्ने शक्ति आर्जनका लागि कुनै प्रकारको पूर्वतयारी गरिएन भने अब फेरि यति समय लकडाउन, निषेधाज्ञा वा सिल भनेर जनमानसमा त्रास किन फैलाउनु ! राज्यले अब लकडाउन वा निषेधाज्ञा गरेर के पाउँछ ? राज्यका तर्फबाट जनतालाई दिने केही पनि छैन र थिएन । 

पछिल्ला केही दिनयता सरकारी अधिकारी, जनप्रतिनिधिहरूले यो क्षेत्रमा लकडाउन गर्नुपर्छ र त्यो क्षेत्रमा निषेधाज्ञा गर्नुपर्छ भन्दै हिँडिरहेका छन् । सरकारलाई त्यही किसिमले सिफारिस सुझाइरहेका छन् । यसले गर्दा नागरिकहरूमा सन्त्रास फैलिएको छ । कतिखेर लकडाउन हुने हो वा निषेधाज्ञा भनिने हो । दिनभरि काम गरेर बेलुका गुजारा गर्ने ठूलो वर्ग अहिले भोकभोकै मर्नुपर्ने अवस्था छ ।

काठमाडौंको रत्नपार्कमा भात खानका लागि देखिएको छिनाझप्टीले पनि मुलुकको अवस्था कस्तो छ भन्ने देखाउँछ । आफू तलबभत्ता खाइरहने र जनतालाई भोकभोकै सडकमा सुताएर मार्ने प्रपञ्च रच्न खप्पिस राजनीतिक नेतृत्वले ती सुझाव कार्यान्वयन गरेको भन्दै जनतालाई पीडा दिन बेर छैन । लकडाउन गरौं गर्नै हुँदैन भन्ने होइन । अबको लकडाउन सरकारी पैसाबाट जाने सबै प्रकारका खर्च (तलब, भत्ता) रोकौं र सानसँग लकडाउन गरौं, छ हिम्मत !

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सम्पादकीय बाट थप

Top