रेल आएर थन्किएको महिना दिन बित्यो तर, कहिले चल्ने छैन टुंगो !

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७७ कात्तिक २, आइतबार ,०७:१६:AM  
रेल आएर थन्किएको महिना दिन बित्यो तर, कहिले चल्ने छैन टुंगो !

काठमाडौं । निकै ढिलो गरी भए पनि असोज २ गते निकै उत्साहका साथ नेपालले आफ्नै स्वामित्वको रेल भित्र्यायो । भारतको हाजिपुर हुँदै जनकपुर रेल स्टेसनसम्म रेल ल्याइयो । 

पहिलो पटक रेल चल्ने भए पनि रेल आएको हेर्न आएका जनकपुरबासी र सम्पूर्ण नेपालीमा उत्साह छाएको थियो । धेरैलाई लागेको थियो, अब रेल चलिहाल्छ । रेल ल्याइकन चल्छ भनेपछि सरकारले सर्वत्र प्रशंसा पनि बटुल्यो । 

रेल त आयो । तर, त्यही रेल चलाउने कर्मचारी व्यवस्थापन गर्न नसकेको भन्दै धेरैले सरकारको आलोचना पनि गरे । निकै उत्साहका साथ ‘हर्न’ बजाएर आएको ‘नेपाल रेल्वे’लाई कसरी चलाउने भन्दा कहाँ थन्क्याउने भन्ने सरकारको ध्याउन्न भयो । फलस्वरूप, जनकपुर स्टेसनमा ४ घण्टामै नरोकी थन्क्याउन उक्त रेललाई इनरुवा रेल स्टेसनमा फक्र्याइयो । 

एक महिनादेखि इनरुवा रेल स्टेसनमै पहेंलो ‘टेन्ट’ ओढाएर राखिएको छ, रेललाई । रेललाई ओढाइएको घुम्टो खोलेर रेल चलाउने ‘साइत’ जुराउन सरकारले सकेको छैन । रेल कहिलेबाट चलाउने भन्नेबारे रेल्वे कम्पनीका अधिकारी नै अनविज्ञ छन् ।

रेल ल्याउने बखत मोटामोटी एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरी रेल चलाइसक्ने रेल विभाग र कम्पनीका अधिकारीहरूले नबताएका होइन् । तर, कर्मचारी भर्ना प्रक्रिया थप पेचिलो बन्दै जाँदा अहिले पनि रेल सञ्चालनको मिति अनिश्चित जस्तै बनेको छ । 

यसअघि अस्थायी करारमा कर्मचारी भर्ना गर्ने भनेर मन्त्रिपरिषद्बाट स्वीकृति लिए पनि लोकसेवा आयोगले त्यसलाई हस्तक्षेप गरिदियो । ठूलो संख्यामा करारमा कर्मचारी भर्ना लिँदापछि गएर समस्या हुन सक्ने भन्दै भर्ना नलिने बतायो । आयोगले स्थायी प्रक्रियाबाट नै कर्मचारी नियुक्ति किन नगर्ने भनेर चासो देखाएपछि करारमा कर्मचारी भर्ना प्रक्रिया ‘क्यान्सिल’ गरेर स्थायी नियुक्ति प्रक्रिया अघि बढाउन रेल विभाग अघि सरेको छ । 

कोरोना महामारीको जोखिम बढेको र चाडपर्व नजिकिँदा स्थायी रूपमा कर्मचारी भर्ना प्रक्रियामा पनि झनै ढिला हुने देखिएको छ । रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराई रेल छिट्टै चलाउन सरकारसँग निजामती सेवामा कार्यरत १ सय ७२ जना कर्मचारी मागिएको बताउँछन् ।

कर्मचारीको स्थायी पदपूर्ति नहुन्जेलसम्मका लागि ‘काज’ मा ल्याएर रेल चलाइहाल्ने पक्षमा आफू रहेको भट्टराई बताउँछन् । तर, उनले भनेजस्तो तत्कालै निजामती सेवाका कर्मचारी ‘काज’ मा दिन सक्ने अवस्थामा सरकार छैन । केही समयपछि पुनः फिर्ता हुनुभन्दा पहिले नै ‘काज’ मा जान सेवारत कर्मचारी स्वंयम पनि मान्दैनन् । 

रेल्वे कम्पनीले करारमा १ सय २९ पदका लागि कर्मचारी मागेकोमा ३२ हजार बढीले आवेदन दिएका थिए । तर, स्थायी प्रक्रियाबाट कर्मचारी नियुक्ति गर्नुपर्दा दसैं र तिहारजस्ता चाडपर्व सुरु भइसकेकाले कर्मचारी भर्ना प्रक्रिया अझै लम्बिने सरकारी अधिकारीहरू नै बताउँछन् । एक त सरकारी कार्यालयका धेरैजसो कर्मचारीमा कोरोना देखिँदा सेवा दिन अप्ठ्यारो परिरहेको छ ।

अर्कोतिर, चाडपर्वले छोपिसक्दा कर्मचारी बिदामा छन्, भने कार्यालय बन्द हुन थालिसके । यसले पनि कर्मचारी भर्ना गर्ने प्रक्रिया थप २ देखि ३ महिना लम्बिने देखिन्छ ।

त्यसपछि, पनि कोरोना महामारीको अवस्था के हुने हो भन्न सक्ने अवस्था छैन् । करारमै कर्मचारी भर्ना प्रक्रिया अघि बढेको भए केही छिटो रेल चल्ने अवस्था रहेको रेल विभागका पूर्वमहानिर्देशक बलराम मिश्र बताउँछन् । तर, स्थायी कर्मचारी भर्ना लिँदा अहिलेकै अवस्थामा ६ महिना लाग्ने उनी बताउँछन् । ‘करारमा कर्मचारी भर्नामा लोकसेवाले हस्तक्षेप गर्दा थप अन्योल हुन गयो । अब स्थायी नियुक्ति प्रक्रिया पूरा गर्दा ६ महिना लाग्छ । त्यसअघि रेल चल्ने सम्भावना मैले देख्दिन् ।’ 

यता स्थायी रूपमा कर्मचारी भर्ना गरिने भएपछि भारतबाट करारमा ल्याइने कर्मचारीमा भने अन्योलता देखिएको छ । रेल चलाउने ड्राइभर, पावर इन्जिनियर, म्यान्टिनेन्स म्यानेजर, स्टेसन मास्टर्स लगायतका ‘कोर’ प्राविधिक कर्मचारी भारतबाट नै आउनुपर्छ ।

यसअघि सरकारले २६ जना कर्मचारी भारतबाट करारमा ‘हायर’ गर्न स्वीकृति समेत दिइसकेको छ । तर, भारतबाट ल्याइने कर्मचारीको स्थायी नियुक्ति गर्न मिल्दैन । करारमै ल्याउने कि के गर्ने भन्ने विषयमा अन्योल देखिएको छ । 

महाप्रवन्धक भट्टराईले भने भारतबाट ल्याइने कर्मचारीमा कुनै समस्या नहुने बताउँछन् । ‘भारतबाट आउने कर्मचारी त आइहाल्छन् । समस्या हुँदैन’ उनले भने, ‘नेपालमै नियुक्ति गर्ने कर्मचारीलाई स्थायी नै गरौं भन्ने हो ।’  

भारतको सरकारी रेल्वे कम्पनी कोंकन रेल्वे कर्पोरेलसँग नेपालको आफ्नै स्वामित्वको रेल खरिद गरिएको थियो । ६९ किलोमिटर लामो जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमीमा उक्त रेल चल्नेछ ।

झन्डै १ अर्ब रुपैयाँमा खरिद गरिएको ५ डिब्बासहितको डेमो रेल सञ्चालन गर्न आवश्यक पूर्व तयारी र कर्मचारी भर्नामा सरकारले ध्यान नदिँदा रेल नेपाल आएर पनि चल्न सकेको छैन । रेलले एकैपटमा १ हजार ३ सय जनाले मात्र यात्रा गर्न सक्ने क्षमता छ ।
 

हरिप्रसाद शर्मा

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top