बागलुङ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुंगा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ।
आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमिमध्ये २३४ किमि सडक कालोपत्रे, ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने ६ वटा पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
गैंडाकोट–राम्दी–मालढुंगा सडक योजना पाल्पाको तथ्यांकअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मी–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्डकको स्याङ्जा र पर्वतमा फैलिएको उक्त खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ।
आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्रे गर्न र पुल निर्माणका लागि १४ अर्ब ७ करोड खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए।
आर्थिक वर्ष २०६६÷६७ मा सुरु गरिएको आयोजना र २०८३÷८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ। २० अर्ब लागत अनुमान गरिएको उक्त २९३ किमि खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ।
इन्जिनियर बस्यालले हालसम्म १४५ किमि सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको बताए।
उक्त खण्डमा पहिराको ठेक्का व्यवस्थापन, शून्य दशमलव ४२ किमि सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनको भनाइ छ।
करिडोर गैंडाकोट–राम्दी–मालढुंगा खण्ड चार जिल्ला र कालीगण्डकी लोकमार्ग मिर्मी–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्ड दुई जिल्लामा फैलिएको छ।
करिडोरको नवलपुरमा ७७ दशमलव ९७ किमि, पाल्पामा ८६ दशमलव २७ किमि, गुल्मीमा ४१ दशमलव ०६ किमि, बागलुङमा ३४ दशमलव ७० किमि, स्याङ्जामा १० किमि र पर्वतमा ४३ किमि पर्दछ।–रासस