काठमाडौं । सेयर ब्रोकरको क्षमताभन्दा बढी लगानीकर्ता बजारमा प्रवेश गरेपछि उनीहरुले प्रदान गर्ने सेवाको स्तर दिन प्रतिदिन खच्किँदै गएको छ ।
धितोपत्र बोर्डले अनलाइन कारोबार सुरु गरेपछि नयाँ–नयाँ लगानीकर्ता थपिएको र ब्रोकरको हालको संरचना, कर्मचारी र सिष्टमले काम नगरेकाले उनीहरु ब्रोकरको सेवाबाट आजित भएका हुन् ।
‘जुन हिसावमा नयाँ–नयाँ लगानीकर्ता थपिए, सोअनुसार ब्रोकर कम्पनीले आफ्नो क्षमता विस्तार गरेनन्,’ एक लगानीकर्ताले भने, ‘ग्राहकको संख्या थपिने तर, ब्रोकरको क्षमता विस्तार नहुने बित्तिकै विभिन्न खाले समस्या उत्पन्न हुन्छ । अहिले त्यही भएको हो ।’
सेयर किनेको १० दिनसम्म पनि खरिदकर्ताको खातामा सेयर नदेखिने, सेयर बेचेको पैसा पनि समयमा भुक्तानी नगर्ने, कम्प्लेन गर्न खोज्दा कहिल्यै फोन नउठ्ने समस्याबाट लगानीकर्ता हैरान परेको उनीहरुको भनाइ छ ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले ब्रोकरको सेवाको बारेमा पटक प्रश्न उठेकाले बोर्डले सबै ब्रोकर कम्पनीलाई सूक्ष्म रुपमा हेरिहेको बताए । ‘तर, ब्रोकर कम्पनीको नामै किटान गरेर अहिलेसम्म कुनै पनि लगानीकर्ताले उजुरी गरेका छैनन्, यदि उनीहरुले ब्रोकरको नामसहित उजुरी गरेको खण्डमा तत्काल त्यो ब्रोकरमाथि कारबाही हुन्छ,’ उनले भने ।
नियमअनुसार बेचेको सेयरको पैसा ४ देखि ५ दिनमा आइसक्नुपर्छ । किनेको सेयर पनि ३ दिनमा आइसक्नुपर्छ । तर, अहिले ब्रोकर कम्पनीले १० दिनसम्म पनि पैसा खातामा पढाउँदैनन् भने किनेको सेयर पनि एक हप्तासम्म पनि नपठाउने गरेका छन् ।
डिम्याट खाता लिनेको संख्या १९ लाखभन्दा बढी छन् । दोस्रो बजारमा कारोबार गर्नेको संख्या २ लाखभन्दा बढी छन् । तर, आईपीओ भर्नेले पनि टीएमएस लिएका छन् । हालसम्म नेपालमा ५० वटा ब्रोकर कम्पनी छन् ।
अहिले एउटा ब्रोकर कम्पनीसँग औसत ३८ हजारभन्दा बढी लगानीकर्ता छन् । तर, ब्रोकर कम्पनीमा औसत १० जनाभन्दा कम कर्मचारी छन् भने उनीहरुको सिष्टमले थेग्नसमेत नसकेको लगानीकर्ताहरु बताउँछन् ।