काठमाडौं । प्रत्येक ब्रोकर कम्पनीले औसतमा ३८ हजार लगानीकर्तालाई दैनिक सेवा दिनुपर्ने बाध्यता छ । नेपाल धितोपत्र बोर्डका अनुसार हाल १९ लाख लगानीकर्ता छन् ।
५० वटा ब्रोकर कम्पनीले औसतमा ३८ हजार जना लगानीकर्तालाई सेवा दिनुपर्ने अवस्ता छ । यसले गर्दा पनि ब्रोकरहरुको सेवाको गुणस्तर खच्किएको हो । बोर्डका अनुसार ब्रोकरको क्षमताभन्दा बढी लगानीकर्तालाई सेवा दिनुपर्ने अवस्थाको सिर्जना भएकाले पनि उनीहरूको गुणस्तर खच्किएको हो ।
‘लगानीकर्ता अनिवार्य रूपमा कुनै न कुनै ब्रोकर कम्पनीसँग जानुपर्ने हुन्छ । जुन ब्रोकर कम्पनीमा गए पनि उनीहरूले गुणस्तरीय सेवा दिन सकेका छैनन्,’ बोर्डका एक अधिकारीले क्यापिटल नेपालसंग भने, ‘हिजोका दिनमा बजारमा नयाँ लगानीकर्ता आएका थिएनन् । जब अनलाइन कारोबार सुरु भयो । त्यसपछि नयाँ लगानीकर्ताको जमात ह्वात्तै बढेको छ । त्यही भएर ब्रोकर कम्पनीले थेग्नै सकेका छैनन् ।’
पछिल्लो समयमा सेयर बजारमा हरियाली देखिएपछि नयाँ लगानीकर्ताको प्रवेश भएको छ । अहिले ठूलो परिमाणका कारोबार गर्नेदेखि सानो–सानो रूपमा कारोबार गर्ने पनि बजारमा छन् । तर, ब्रोकर कम्पनीले साना लगानीकर्तालाई वास्तै गर्दैनन् ।
ठूला लगानीकर्ताले बढी कारोबार गर्ने र कमिसन पनि बढी आउने भएकाले ब्रोकर कम्पनीले ठूला लगानीकर्तालाई दिने सेवालाई चुस्त बनाउने गरेका छन् ।’
‘स–साना लगानीकर्ताले थोरै कारोबार गर्छन्, उनीहरूबाट कमिसन पनि थोरै आउँछ’ बोर्डका अधिकारीले भने, ‘सानो कारोबारमा बढी कमिसन दर भए पनि ‘भोल्युम’ ठूलासँग हुँदा कमिसन कम आएपछि कमिसन रकम भने बढी आउँछ । त्यही भएर उनीहरू ठूला लगानीकर्तालाई गुणस्तरीय सेवा दिने र उनीहरूलाई बढी ख्याल गर्ने गरेका छन् ।’
‘कतिपय ब्रोकर कम्पनीसँग १० जना पनि कर्मचारी छैनन् । त्यति थोरै कर्मचारीबाट कसरी ३८ हजार जनालाई सेवा दिन्छन् ? ती अधिकारीले भने, ‘ब्रोकरको क्षमताभन्दा बढी लगानीकर्ता बजारमा आएकाले समस्या भएको हो ।’
ब्रोकर कम्पनीले गुणस्तरहीन सेवा दिँदा पनि बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिएर ब्रोकर कम्पनीलाई प्रतिस्पर्धी बनाउन चाहेको छैनन् । सीमित ब्रोकर कम्पनीलाई पोस्न बोर्डले मदत गरेको लगानीकर्ता बताउँछन् ।
लगानीकर्ताले बेहोर्नुपरेको झमेलाहरू चिर्नका लागि मोबाइलबाट पनि कारोबार गर्न मिल्ने, सबै लगानीकर्तालाई कम्पनी, बजार र देशको समग्र अर्थतन्त्र सम्बन्धित सूचनाहरू तथ्यांक राख्ने गरी ट्रेड म्यानेजमेन्ट सिस्टम ल्याउन लागेको नेपाल स्टक ब्रोक एसोसियसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।
विश्लेषण गर्न सहज होस भनेर विभिन्न सूचक र ‘टुल्स’हरू राखिदिने खालको टीएमएसलाई चाँडोभन्दा चाँडो ल्याउने पहिलो प्राथमिकता भएको उनले सुनाए ।