काठमाडौं । चाइना कन्ट्रक्सन बैंक तल्लो अदालतको फैसलाको विरुद्धमा उच्च अदालतमा गएपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले पाउने रकम फेरी रोकिएको छ ।
हिमालयन र बीओके दुबैले चाइना कन्ट्रक्सन बैंकबाट काउन्टर ग्यारेन्टी वापतको डेढ अर्ब रुपैयाँ फिर्ता पाउन शुक्रबार अन्तिम दिन हो । आज शुक्रबारसम्म सो रकम फिर्ता पाउने भनिएको थियो ।
यसअघि चीन तल्लो अदालतबाट मुद्दा जितेको खबर पाएपछि हिमालयन र बीओकेले पैसा फिर्ताका लागि दाबी पठाएका थिए । तर, चाइना कन्ट्रक्सन बैंकले चीनको उच्च अदालतमा अपिल गरेपछि रकम फिर्ता रोकिएको हिमालयनका अध्यक्ष तुलसी गौतमले क्यापिटल नेपाललाई बताए ।
‘चाइना कन्ट्रक्सन बैंक तल्लो अदालतको फैसलाको विरुद्धमा उच्च अदालतमा अपिल गरेको खबर प्राप्त भएको छ’ उनले भने ‘चीनबाट रकम फिर्ता आउन अझै केही महिना कुर्नुपर्ने भएको छ ।’
बैंकले अपिल नगरेको भए आज शुक्रबार नै हिमालयन र बीओकेले रकम फिर्ता पाउने थिए । यो आर्थिक वर्षभित्र डेढ अर्ब रुपैयाँ फिर्ता आउने संभावना रहेको उनको भनाई छ ।उच्च अदालतको आदेशमा तल्लो अदालतले गरेको फैसला ‘रिभ्यु’ गर्दा हिमालयन र बीओकेले मुद्दा जितेका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर लामो सुरुङलगायत अन्य संरचना निर्माणको ठेक्का पाएको चाइना रेल्वेको तर्फबाट चाइना कन्ट्रक्सन बैंक ग्यारेन्टी बसको र नेपालतर्फको काउन्टर ग्यारेन्टी हिमालयन र बीओकेले दिएका थिए ।
ठेकेदार चाइना रेल्वे १५ ब्युरो कर्पोरेसनले सम्झौताअनुसार काम नगरेपछि मेलम्ची खानेपानी विकास समितिले उसको धरौटी रकम जफत गरेको थियो । त्यसबेला हिमालयन र बीओकेले धरौटी रकम समितिले बुझाएका थिए ।
समितिको निर्णयको विरुद्धमा ठेकेदार चाइना रेल्वे र चाइना कन्ट्रक्सन बैंकले चीनको स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए । मेलम्ची जमानतको रकम भुक्तानी भएमा बीओकेले ६६ लाख २५ हजार अमेरिकी डलर र हिमालयनले पनि ६६ लाख डलर करिब ६६ करोड रुपैयाँ फिर्ता पाउने छन् ।
लामो समयसम्म चीनको अदालतमा सुनुवाइ भइरहेको थियो । यो मुद्दा चलेको करिब ८ वर्षपछि दुवै बैंकले मुद्दा जितेका थिए । काउन्टर ग्यारेन्टी बसेका दुबै बैंकको लगानी डुबेपछि ‘प्रोभिजनिङ’ गरिसकेका छन् । सो रकम फिर्ता आएमा दुबै बैंकको नाफा बढ्ने छ ।