काठमाडौं । केही दिनयता नारायणी डेभलपमेन्ट बैंकको सेयर लगातार बढेको छ । बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट पनि लागेको छ । आइतबार जस्तै सोमबार पनि बैंकको सेयर मूल्य ९.९० प्रतिशत अर्थात प्रतिकित्ता ४१ रुपैयाँ बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सर्किट लगाएको छ ।
बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ४५५ रुपैयाँ पुगेको छ । यसअघि पुस १ गते बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ६३९ रुपैयाँ पुगेको थियो । त्यसपछि निरन्तर घटेर पुनः उकालो लागेको हो । नेप्सेले कारोबार फुकुवा गर्दा नै बैंकको सेयर प्रतिकित्ता २९५ रुपैयाँमा कारोबार भएको थियो ।
विकास बैंकहरुमा राम्रो मुक्तिनाथको सेयर मूल्य प्रतिकित्ता ३७९ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकबाट भरखरै संकटग्रस्त सूचीबाट फुकुवा भएको नारायणीको सेयर मूल्य बढी छ । नारायणी डेभलपमेन्टसFग मुक्तिनाथको तुलना हुन सक्दैन । तर, पनि सेयर मूल्य नारायणीको बढी छ यस्तो किन ?
केही लगानीकर्ताहरुले बजारमा बैंकको सेयर मूल्य बढाउन लागेका छन् । सेयर मूल्य बढाउनका लागि फुकाउने र फाल्ने नीति (पम्प एन्ड डम्प) गरेका कारण सेयर मूल्य बढेको तर्क लगानीकर्ताको छ । ‘सेयर कारोबार संख्या बढेको छैन ।
तर, कारोबार रकम मात्र बढाइको छ । यसबाट बजारमा सेयर मूल्य बढाउन खेल भइरहेको स्पष्ट हुन्छ’ एक लगानीकर्ताले क्यापिटल नेपालसँग भने । साना लगानीकर्ताको ध्यानकर्षण गर्न पनि केही लगानीकर्ताहरुले यस्तो खेल खेलेको हुनसक्छ । यता बैंकले १ः१ अनुपातमा हकप्रद सेयर जारीको तयारी गरेको छ ।
बैंकको चुक्तापुँजी अहिले ६ करोड ५६ लाख १६ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १३ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकबाट समस्याग्रस्त सूचीबाट हटेपछि पुँजी बढाउन बैंकले नेपाल धितोपत्र बोर्डमा १०० प्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । हकप्रद सेयर बिक्री गराउन केही लगानीकर्ताहरुले सेयर मूल्य बढाउन लागिपरेको अनुमान गरिएको छ ।
राष्ट्र बैंकले साउन ८ गते बैंकलाई समस्याग्रस्त मुक्त गरेको हो । बैंकले सशर्त बैंकिङ कारोबार गर्न पाएको हो । बैंकका तत्कालीन अध्यक्ष उत्तमप्रसाद दा तथा महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले २३ करोड ७२ लाख रुपैयाँ हिनामिना गरेपछि केन्द्रीय बैंकले २०७० चैत २७ गते नारायणी डेभलपमेन्टलाई समस्याग्रस्त घोषणा गर्दै वित्तीय कारोबार रोक्का गरेको थियो ।
बैंकको तत्कालीन अध्यक्षको प्रमुख योजना तथा मिलेमतोमा विभिन्न नाममा नक्कली ऋणी तथा आफन्तलाई कमसल धितो राखी ऋण प्रवाह गरिएको ठहर केन्द्रीय बैंकको थियो ।
